PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

इजाजतप्राप्त हतियारको आडमा आपराधिक गतिविधिः म्यानपावर व्यवसायीदेखि ठेकेदारसम्म



सविन ढकाल

इजाजतप्राप्त हतियारको आडमा आपराधिक गतिविधिः म्यानपावर व्यवसायीदेखि ठेकेदारसम्म

काठमाडौँ : सरकारबाट लाइसेन्स प्राप्त हातहतियार लिएर विभिन्न व्यक्तिहरूलाई धम्काएको र तर्साएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले आइतबार उपत्यकाभित्रका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको महाशाखा एसपी नरेन्द्र उप्रेतीले बताए। प्रहरीले नियन्त्रणमा लिएकाहरुमा वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, आङकाजी शेर्पा र रघुनाथ पुरी रहेका छन्। उनीहरूको साथबाट चार थान हतियारसहित २ सयभन्दा बढी गोलीहरू बरामद गरिएको एसपी उप्रेतीले बताए।

नियन्त्रणमा लिइएकामध्ये वीरेन्द्रलाल श्रेष्ठ मिटर व्याजी भएको प्रहरी बताउँछ। त्यस्तै आङकाजी शेर्पा भने ठेकेदार हुन् । बले उपनामले चिनिएका बलराम सापकोटाको क्यासिनोमा लगानीसमेत भएको खुलेको छ। त्यस्तै रघुनाथ पुरी भने म्यानपावर व्यवासायी हुन्। उनीहरूले फिरौती तथा त्रास फैलाउन हतियारको प्रयोग गर्ने गरेको एसपी उप्रेतीले बताए।

इताजतप्राप्त हतियारको आडमा अपराध तथा त्रास फैलाउने काम भइरहेको सूचना आएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरीलाई यस्ता गतिविधि गर्ने व्यक्ति र हतियार नियन्त्रण लिन निर्देशन दिएका थिए।

देशभर कति लाइसेन्स प्राप्त हतियार छन्?

गृह मन्त्रालयको तथ्याङ्क अनुसार देशभर करिब ३५ हजार हतियारको लागि प्रशासनबाट स्वीकृति लिएको देखिन्छ। 

तथ्याङ्क अनुसार  पेस्तोल ३१२ वटा, रिभल्वर ११७ वटा, १२ बोरको बन्दुक १३ हजार ८९२ वटा, २२ बोरको बन्दुक ४ हजार ६६१ वटा, भरुवा बन्दुक १२ हजार ९१ वटा, हावादारी बन्दुक १ हजार १० वटा र अन्य २ हजार २३१ वटा हतियार दर्ता भएका छन्।
 
सबैभन्दा बढी काठमाडौं जिल्लाबाट हतियार राख्न अनुमति लिइएको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell