PahiloPost

May 15, 2026 | १ जेठ २०८३

स्थायी राजधानी र नामकरण हतारमा निर्णय हुन्नः मुख्यमन्त्री पोखरेल 



पहिलोपोस्ट

स्थायी राजधानी र नामकरण हतारमा निर्णय हुन्नः मुख्यमन्त्री पोखरेल 

रुपन्देहीः प्रदेश नम्बर  ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय हतारमा निर्णय नगर्ने बताएका छन्।
प्रदेशसभामा पेस भएको सरकारको नीति कार्यक्रममाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पोखरेलले प्रदेश सरकार र प्रदेशसभाको सहमतिमा स्थायी राजधानी टुङ्गो लगाइने बताए।

मुख्यमन्त्री पोखरेलले अस्थायी राजधानीप्रतिको असन्तुष्टि दाहोर्‍याउँदै भने ‘प्रदेशको अस्थायी मुकाम तोक्दाको अवस्थाबारे हामी सबै जानकार छौँ। जनताको मनोविज्ञान के थियो कोही बेखबर छैन त्यसैले यसलाई सहमतिका आधारमा टुग्याउँनु पर्छ।’

उनले सहमतिका नाममा विषयलाई अनिश्चित र अनन्तकालसम्म नराख्ने पनि बताए। 

छलफलमा अधिकांश सदस्यहरूले सांसद विकास कोषको माग गरेका सम्बन्धमा उनले केही बताएनन्। उनले प्रदेशको सामर्थ्य र भविष्य बनाउने गरी आयोजनाहरू प्रदेशले सञ्चालन गर्ने बताए।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभाका सदस्यहरूले आफूहरू भूस्मिकाविहीन भएको विषयमा उठाएका जिज्ञासामा प्रदेशसभामा विभिन्न समितिहरू मार्फत र स्थानीय तहमा हुने विकास निर्माणमा अनुगमन तथा निरीक्षण गर्ने  संयन्त्रबाट प्रदेशसभा सदस्यहरूको भूमिका बढाउनु पर्ने बताए। 

संघीय सरकारले साना आयोजनामा समेत ठाउँ नै तोकेर बजेट पठाएकोप्रति असन्तुष्टि व्यक्त गरे। मुख्यमन्त्री पोखरेलले सदस्यहरूले उठाएका धेरै विषय प्रदेश सरकारले बजेट तर्जुमा गर्दा समेट्ने समेत आश्वासन दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell