
काठमाडौँः सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका तीन जनालाई सोमबार काठमाडौँ झिकाइएको छ।
सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे', छिरिङ वाङदेल र अर्का अभियुक्त भुजुङ गुरुङलाई थप अनुसन्धानका लागि काठमाडौँ झिकाएको हो।
विशेष अनुसन्धान टोलीका एक सदस्यले भने 'पुर्पक्षमा रहेका उनीहरूलाई थप अनुसन्धानको लागि ल्याउन लागिएको हो। अनुसन्धानले थप पाटाहरू खुल्नेछन्।'
तीनै जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो। गोरे बाहेक अन्य दुई जना क्षेत्रीय कारागार झुम्कामा थिए। गोरे भने मोरङ कारागारमा छन्। गोरेलाई बिहानको फ्लाइट मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।
शुक्रबार विशेष अनुसन्धान टोलीले सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार 'एमके' अग्रवालको घरमा छापा मारेको थियो। छापाको क्रममा समितिले केही महत्त्वपूर्ण कागजपत्र समेत बरामद गरेको थियो।
अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणको आरोपमा पनि छानबिन अघि बढाइने भएको छ। थुनामा रहेका प्रहरीलाई भने भ्रष्टाचारमा अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको छ।