PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कर्णालीका सांसदको मागः एक करोड र स्वकीय सचिव !



पी बी खड्का

कर्णालीका सांसदको मागः एक करोड र स्वकीय सचिव !

सुर्खेत : कर्णाली प्रदेशका सांसदहरूले एक करोड माग गर्दै आएका छन्। प्रायः बस्ने प्रदेशसभा बैठकमा अधिकांश सांसदले एक्लैले आफै खर्च गर्न पाउने गरी निर्वाचन क्षेत्र विकासका लागि एक करोड रकम माग गर्दै आएका हुन।

संघिय सांसदले जस्तै प्रदेश सांसदलाई निर्वाचन क्षेत्रमा खर्च गर्ने रकमको व्यवस्था गर्न माग गर्दै सांसद हिमबहादुर शाहीले यसो नगरिए जनताले सांसदलाई विश्वास नगर्ने बताए।

‘संघीय सांसदले बजेट लिएर निर्वाचन क्षेत्रमा धेर थोर विकासे काममा लगाउँछन्,’ उनले भने, ‘हामी खाली हात जाँदा जनताले कसरी पत्याउँछन्।’

आर्थिक वर्ष २०७४/०७५ को बजेट ल्याउने तयारी प्रदेश सरकारले गरिरहँदा कतिपय सांसदहरू एक करोड पार्ने दाउमा लागिरहेका छन्।

त्यसैले पनि अहिले केही सांसदले प्रदेश सरकारसँग सो रकम सांसदलाई निर्वाचन क्षेत्र खर्च गर्ने गरी बजेट विनियोजन गर्न लविङ गरिरहेका छन्।

पटक पटक प्रदेशसभा बैठकमा उठाउँदै आएको विषयलाई प्रदेश सरकारले बेवास्ता गरे परिणाम नराम्रो हुने चेतावनीसमेत सांसदले दिँदै आएका छन्।

सांसद शाहीले यस अघिकै आर्थिक वर्षको विनियोजित बजेटमा मुख्य मन्त्रीले व्यवस्था गर्ने आश्वासन दिए पनि नभएको भन्दै आक्रोश पोखेँ। ‘यस अघि संसद्मा मुख्यमन्त्रीले चालु आर्थिक वर्षको बजेटमा सबै सांसदलाई एक–एक करोड व्यवस्था गर्ने आवश्वासन थियो, खोइ कहाँ गयो?’ उनले प्रश्न गरे।

प्रदेशसभा सांसदहरू एक करोड पाउनुपर्ने भन्दै मुख्यमन्त्री शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई बजेट विनियोजन गराउन दबाब दिँदै आएका छन् ।

स्कीय सचिव चाहियो

प्रदेशसभा सदस्यले आफ्नो निजी स्वकीय सचिव राख्ने व्यवस्था हुनुपर्ने मागसमेत राखेका छन्। 

आफू एक्लै भएकाले कामकाज भ्याईनभ्याई भएको भन्दै अधिकृत सरहको स्वकीय सचिवको माग गरेका हुन। ‘काम धेरै हुन्छ। कता जाने के गर्ने, एक्लै भ्याउन सकिन्न,’ सांसद ठम्मर विष्टले भने, ‘त्यसो भएर पनि एक जना स्वकीय सचिव भयो भने सबै ठाउँमा आफै दौडधुप गर्न पर्ने थिएन्।’

यता, प्रदेश सरकारले प्रदेशको आम्दानीको स्रोत नभएकाले कम खर्चमा काम गर्नुपर्ने बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell