PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

भिएलएनका अध्यक्ष श्रेष्ठविरुद्ध करिब तीन अर्बको ठगी मुद्दा दायर



सविन ढकाल

भिएलएनका अध्यक्ष श्रेष्ठविरुद्ध करिब तीन अर्बको ठगी मुद्दा दायर

काठमाडौँः भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध करिब ३ अर्ब बिगो दाबीसहित काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको छ।

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा तीन अर्ब ठगी गरेको अभियोगमा सरकारी वकिल कार्यालयले सोमबार श्रेष्ठविरुद्ध दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो।

मंगलबार श्रेष्ठको थुन्छेक बयान हुनेछ। बयान लगत्तै बहस सुरु हुनेछ।

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। सो क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।

नियन्त्रणमा लिइएकामध्ये ठगी अभियोगमा ३४ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान गरिएको थियो।

 

अध्यक्ष श्रेष्ठ नर्भिकमा

प्रहरी नियन्त्रणमा रहेका अध्यक्ष श्रेष्ठ भने नर्भिक अस्पतालमा छन्।  उनी स्वास्थ्यमा समस्या देखाउँदै केही समयदेखि अस्पतालमा नै बस्दै आएका हुन्।

वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका मेडिकल व्यावसायी भने यसअघि नै धरौटीमा छुटिसकेका छन्। काठमाडौँ जिल्ला अदालतको आदेशमा धरौटी बुझाएर रिहा हुनेमा निमीकुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्था र ईश्वर भण्डारी रहेका छन्।

तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र शर्मा र अवस्थाले जनही २५ हजार रुपैयाँ धरौटी बुझाएका हुन्।

व्यावसायी चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना पनि धरौटी बुझाएर रिहा भएका थिए। श्रेष्ठले ३० लाख रुपैयाँ, राईले ५ लाख, आचार्यले ६ लाख, थापाले ५० हजार, तिमिल्सिनाले २० हजार र बुधवार  रोजिना शाक्यसहित अन्य ३ जनाले १५/१५ लाख धरौटी रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell