काठमाडौं : भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा पनि ठगीको उजुरी परेको छ।
श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दियो भने पनि उनी प्रहरीले नियन्त्रणबाट बाहिरिन सक्ने छैनन्। प्रहरी परिसर ललितपुरले काठमाडौंको मुद्दा सकिनासाथ ललितपुर प्रहरीलाई बुझाउन पत्र काटेको छ।
वैदेशिक रोजागरीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ३ अर्ब ठगी गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले सोमवार श्रेष्ठ विरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दर्ता गराएको हो। मंगलवार अदालतमा थुनछेक बहस भइरहेको छ। अदालतले श्रेष्ठलाई धरौटीमा छोड्ने आदेश दिएमा पनि १० करोड बढी धरौटी बुझाउनुपर्ने देखिन्छ।
जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। त्यसै क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिइ ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये जिल्ला अदालतबाट ठगी अभियोगमा ३४ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान गरेको थियो।