PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रसिया विश्वकपमा चर्चामा रहेका ५ कप्तान



पहिलोपोस्ट

रसिया विश्वकपमा चर्चामा रहेका ५ कप्तान

रसिया विश्वकपमा सहभागिता जनाउने ३२ राष्ट्रका ३२ कप्तान मध्ये कोही युवा छन् भने कोही अनुभवी छन्। कोही प्रतियोगितामा डेब्यु गर्दैछन् भने कोही विश्व फुटबलमा चर्चित नाम छन्। रसिया विश्वकप २०१८ का लागि आफ्नो देशको कप्तानी गर्न सबै तयार छन् तर ति मध्ये एकले मात्र विश्वकपको ट्रफी उचाल्ने मौका पाउनेछन्।

तैपनि विश्वकप सुरु हुनुअघि फिफाले ३२ मध्ये यी ५ कप्तानको बारेमा विशेष सामाग्री तयार पारेको छ।

 

एसान हल हदारी, इजिप्ट

सबैभन्दा पाको उमेरमा विश्वकप खेल्ने कीर्तिमान कोलम्बियाका गोलकिपर फर्याद मोन्ड्रागोनको नाममा छ। उनले सन् २०१४ को ब्राजिल विश्वकपमा ४३ वर्ष ३ दिनका दिन विश्वकप खेलेका थिए।

अहिले चार वर्षपछि नै उनको उक्त कीर्तिमान खतरामा परेको छ। इजिप्टका कप्तान तथा गोलकिपर एसान अल हदारीले ४५ वर्ष १५० दिन हुँदा रसिया विश्वकपमा पहिलो खेल खेल्नेछन् र विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान लेखाउनेछन्।

 

ह्यारी केन, इंग्ल्याण्ड

ह्यारी केन उमेरमा अहिले २४ वर्षका भए। यद्यपी गोलको लागि उनको नजर र नेतृत्वदायी क्षमताका कारण इंग्ल्याण्डका म्यानेजर ग्यारेथ साउथगेटलाई उनलाई विश्वकपमा कप्तानको आर्मब्याण्ड दिन प्रेरित गर्‍यो। यसअघि वायन रुनी, जोन टेरी, डेभिड बेकहम, ग्यारी लिनेकर जस्ता खेलाडीले जुन लगाएका थिए।

टोटनहम हट्सपरका स्ट्राइकर केनले क्लब लेभलमा पछिल्ला चार सिजनमा १०० बढी गोल गरिसकेका छन्। उनी रसिया विश्वकपकै युवा कप्तान हुनेछन्।

 

नेमार, ब्राजिल

बिना प्रश्न, नेमार विश्वकै ठूला फुटबल स्टारमध्ये एक हुन्। २६ वर्षे नेमारलाई विश्वकपका लागि केही समयअघि ब्राजिलको कप्तानी दिइएको हो। र उक्त आर्मब्यान्डसँगै उनीसामु ब्राजिललाई छैटौं विश्वकप उपाधि उचाल्ने दायित्व छ र चारवर्ष अघि घरेलु मैदानमै भएको टुर्नामेन्टको पिडालाई बिर्साउने चुनौती छ। फेब्रुअरीमा घाइते भएपछि पहिलोपटक मैदान उत्रेको नेमारले क्रोएसिया विरुद्धको विश्वकप वार्मअप म्याचमा मैदान फर्किँदै गोल गरेका थिए।

 

आरोन गुनरसन, आइसल्याण्ड

पछिल्ला वर्षहरुमा अन्तर्राष्ट्रिय फुटबलमा आइसल्याण्डले पाएको सफलताको कथा प्रेरणादायी छ। आइसल्याण्ड सन् २०१५ मा पहिलो पटक युरोकपमा छनोट भएको थियो। २०१६ मा भएको युरोमा आइसल्याण्ड आयोजक फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो।

रसिया विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्डका लागि कप्तान गुनरसनले पुन: एकपटक चार वर्षअघि फ्रान्समा देखाएको जस्तै प्रदर्शन देखाउन आफ्नो देशलाई नेतृत्व गर्दैछन्।

 

राडेमेल फाल्काओ, कोलम्बिया

सन् २०१४ को ब्रजिल विश्वकपमा फाल्काओ कप्तानमा छनोट भएका थिए। तर घुँडा लिगामेन्टको चोटका कारण उनले विश्वकप गुमाए।

त्यसबेला कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो तर कोलम्बियाका सर्बाधिक गोलकर्ताले यी सबै दृश्य टेलिभिजनमा मात्र हेर्न पाए। जिन्दगीले कहिलेकाँही दोस्रो मौका पनि दिन्छ र यी स्ट्राइकर 'लस क्याफेटरोस'को कप्तानी सम्हाल्न तयार छन् र आफ्नो देशको इतिहासको इतिहासमा नयाँ अध्याय थप्न तयार छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell