PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सर्वोच्च र सरकारबिचको मिलेमतोले शक्ति सन्तुलन खलबलिएको शेखर कोइरालाको आरोप



अनन्तराज न्यौपाने

सर्वोच्च र सरकारबिचको मिलेमतोले शक्ति सन्तुलन खलबलिएको शेखर कोइरालाको आरोप

विराटनगर : नेपाली काङ्ग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकार र सर्वोच्च अदालतकाबिच मिलेमतो रहेको आरोप लगाउँदै यसले शक्ति सन्तुलनको सिद्धान्तलाई नै असर पारिरहेको टिप्पणी गरेका छन्।

कोइराला निवास विराटनगरमा स्थानीय सञ्चारकर्मीसित नेता कोइरालाले सर्वोच्चले सर्वस्व हरणसहित जन्मकैद तोकेका व्यक्तिलाई सर्वोच्चले नै कसरी रिहा गर्न सक्छ भन्ने प्रश्न गरे।

यसबाट कार्यपालिका र न्यायपालिकाको मिलेमतो देखिएको र शक्तिसन्तुलनको सिद्धान्तलाई उल्लङ्घन गरिएको उनको धारणा थियो।

‘हो, नियम अनुसार बालकृष्ण ढुङ्गेल छुटेको भए हामीलाई आपत्ति हुने थिएन’, कोइरालाले भने, ‘कैद भुक्तान ६० प्रतिशत गरेको र आचरण राम्रो भएको भए नियमले छुट्न मिल्थ्यो। तर यहाँ कुनै आधार बिना नै छाडिएको छ। यसबाट दण्डहीनता मौलाएको छ।’

शेखरले यस विषयमा नेपाली काङ्ग्रेस संसदमा चुकेको र न्यायपालिका पनि कार्यपालिकाका अगाडि निरीह देखिएको टिप्पणी गरे। 

डाक्टर कोइरालाले पार्टीभित्र प्रादेशिक संरचनाको नेतृत्वको निर्वाचन तत्काल गर्न आग्रह गरे।

कोइरालाले देश प्रादेशिक संरचनामा गइसकेकाले पार्टीभित्र पनि प्रादेशिक नेतृत्व हुनुपर्ने उल्लेख गर्दै यसको निर्वाचन तत्काल गरिनुपर्ने बताए।

अन्य प्रतिस्पर्धी मुख्य पार्टीले प्रादेशिक नेतृत्व गठन गरिसक्ता नेपाली काङ्ग्रेसको मात्र ग्याप देखिएको भन्दै उनले रोष जाहेर गरे।

‘प्रादेशिक स्तरको नेतृत्व बनाउने कुरामा विवाद छैन, पार्टीभित्र प्रादेशिक संरचना बनाउन विधानले रोकेको छैन’, डाक्टर कोइरालाले भने, ‘मतभेद कहाँनेर छ भने उहाँहरू तदर्थ समिति बनाउने भन्नुहुन्छ, हाम्रो विचार निर्वाचित नेतृत्वमै जाऊँ भन्ने छ।’

उनको प्रश्न थियो, ‘सधैँ तदर्थ। यो तदर्थबादले कहाँ पुग्ने ?’

पार्टी सभापति शेरबहादुर देउवाको अन्तर्घातीलाई कारबाही गर्छु भन्ने अभिव्यक्तिलाई चुनौती दिँदै कोइरालाले साँच्चैको कारबाही गर्ने भए तेरो र मेरो मान्छे नभनी कारबाही गर्न चेतावनी दिए।

‘जहाँ, जसबाट आफूलाई चोट पुगेको छ उसलाई मात्र कारबाही गर्ने हो भने त्यो राम्रो हुँदैन’, शेखरको आारोप थियो, ‘अन्तर्घातीलाई त टिकट दिनुभएको छ उहाँले। तिनलाई हटाउन सक्नुहुन्छ ?’

कोइरालाले अर्कालाई चोट पर्दा थाहा नपाएजस्तो गर्ने अनि त्यही चोटमा आफू पर्दा अन्तर्घातीलाई कारबाही गर्छु भन्ने यो कस्तो शैली हो भन्दै व्यङ्ग्य गरे।
उनले नेपाली काङ्ग्रेस अहिले साङ्गठनिक रूपमा कमजोर भएको स्वीकार गर्दै अहिले सरकारविरूद्ध आन्दोलन गर्ने होइन आफ्नो पार्टी बलियो बनाउने बेला हो भन्ने राय प्रकट गरे।

उनले देउवाले विधान र सहमति दुबै उल्लङ्घन गरेको दाबी गर्दै दुबैलाई एक साथ लिएर जानुपर्ने विचार व्यक्त गरे।
चौधौँ महाधिवेशनपछि पार्टीभित्र एकता हुने विश्वास उनले व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell