
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी समिति बैठक शनिबार बस्ने भएको छ। पार्टी एकीकरण भएपछि पहिलोपटक स्थायी समिति बस्न लागेको हो। सचिवालय बैठकबाट गठित कार्यदलका प्रतिवेदन पेस तथा समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो।
शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ। सोभन्दा अघि दिउँसो २ बजे केन्द्रीय सचिवालय बैठक बस्नेछ।
स्थायी समितिमा यसअघि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित संगठनात्मक संरचना सम्बन्धी सुझाव दिन गठित समितिको प्रतिवेदन पेस हुनेछ। यस्तै, प्रधानमन्त्रीका आसन्न चीन भ्रमण लगायतका विषयमा पनि छलफल हुनेछ।
पौडेल नेतृत्वको समिति चारवटा आयोग प्रस्ताव गरेको छ। यसअघि तत्कालीन एमालेको संरचनामा कायम रहेका आयोगले निरन्तरता पाएका छन्। जसमा अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, निर्वाचन आयोग लगायत छन्।