PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

फुटबल बाजीमा माहिर श्वेता : श्रीकृष्ण श्रेष्ठलाई नै हराएकी थिइन्

फुटबल बाजीमा माहिर श्वेता : श्रीकृष्ण श्रेष्ठलाई नै हराएकी थिइन्

रीना मोक्तान/पहिलोपोस्ट


१४ इन्चको रंगिन टिभी, सिआरटी। हुरी बतासले एन्टिना हल्लिँदा च्यानल चैट। एन्टिना चलाउन भाइहरु छतमा। टिभीमा रोनाल्डोको खेल सुरु हुन्थ्यो। त्यसपछि चिच्याउँथिन् १२ वर्षीया श्वेता- च्यानल आयो...आयो…आयो।

अभिनेत्री श्वेता खड्काले यसरी नै पहिलोपटक विश्वकप हेरेकी थिइन्।  

त्यसयता यस्ता चार विश्वकप हेरिसकेकी छिन् श्वेताले। यसपाली घरमा प्रोजेक्टरबाट विश्वकप हेर्दैछिन्। ठूलो पर्दामा विश्वकप हेर्नका लागि उनले सम्पूर्ण म्यूजिक सिस्टम पनि मिलाइ सकिन्। भनिन्, ‘ठूलो स्क्रिनमा सबैजना मिलेर विश्वकप हेर्दा रमाइलो हुन्छ।’

उनको घरमा सबै विश्वकप हेर्न उत्साही छन्। अझ धेरै भाइमा उत्साह देखिन्छ। 

पछिल्लो विश्वकपबाट उनी अर्जेन्टिनाको सपोर्टर बनिन्। भन्छिन्, ‘घरमा त सबैजना अर्जेन्टिना सपोर्टर नै हो।' मेस्सीले गर्दा नै हो उनलाई अर्जेन्टिना मन परेको। पहिले उनी रोनाल्डोले ब्राजिलका लागि खेल्दा ब्राजिलको सपोर्ट गर्थिन्। 

समर्थन गरेको देशको झण्डाको गालामा पेन्टिङ गर्न उनलाई मनपर्छ। पछिल्लो विश्वकपमा उनले ६० हजार बाजी जितेकी पनि थिइन्। सम्झिन् - 'मलाई याद छ कहाँ भेटिएलाको समयमा ‘बेट’बाट ६० हजार जितेको थिएँ। हामीले इन्द्रेणी (इन्द्रेणी फुडल्याण्ड) समूहसँग राखेको बाजी।‘

त्यतिखेर सबै फरक टिममा हुँदा उनी भने अर्कोको समर्थनमा जुट्थिन्। खेलअनुसार फरक-फरक देशको समर्थन गर्छिन् उनी। ‘कतिपल्ट स्पेनले जित्दा चिच्याउँथे। एक्लै पर्थेँ म,’ हाँस्दै थपिन्। 

उनी कलेज पढ्दा भलिबल खेल्थिन्। बलसँग छुट्टै मोह छ उनको। कलेजमा श्वेताको टिमले भलिबल जितेको पनि थियो। 

उनी फुटबल टिभीमा भन्दा लाइभ हेर्न रुचाउँछिन्। पप कर्न, तितौरा, चिसोको चुस्कीसँगै विश्वकप हेर्दै मजा लिन्छिन् उनी। 

'यस्तो चिच्याउँछु, स्वर बसेर गाह्रो हुन्छ। यस्तो रमाइलो त म खेल हेर्दा खेरीमात्र गर्छु,’ उनले भनिन्। 

अबेर रातसम्म खेल हेर्नु सामान्य हो उनका लागि। यसपालीको विश्वकपको समय उनको दैनिक रुटिनमा  मिल्न आएको छ।

'८ बजे, भनेको मेरो फुर्सद हुने समय हो,' उनले भनिन्।
   
विश्वकप उनलाई दसैं झै लाग्छ। भनिन्, ‘चार वर्षमा आउने दसैं।‘ 

कतिपय म्याच हेर्न साथीहरुले पनि बोलाएका छन्। फाइनल भने उनीहरुसँग बसेर हेर्ने बताइन्।

‘खेल हारेपछि खेलाडीहरुलाई क्लोज अप देखाउँदा रुन मन लाग्छ। हार्यो भने एकदमै नरमाइलो लाग्छ, मन दुख्छ,’ सुनाइन्। 

यतिखेर सबैले अड्कलबाजी सुरु गरिसकेका छन्, कसले जित्छ भन्ने। हरेकको दावी- आफूले समर्थन गरेको टिमले जित्छ। तर, उनले जुन टिमले जिते पनि आफू अर्जेन्टिना कै फ्यान रहने बताइन्। ट्रोलका कुरा सापटी लिएर भनिन् ‘ट्रोलहरु, सबभन्दा अर्जेन्टिना कै छ। हारे पनि जिते पनि फ्यान त अर्जेन्टिना कै हो।’  

समय मिल्यो भने उनी विश्वकप लाइभ हेर्न मस्को नै जाने तयारीमा छिन्। सुनाइन्, 'समय मिल्यो भने मस्को नै जाने तयारीमा छु।' 

बलियो टिमबीचको म्याचमा उनी निकै रमाउँछिन्। सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिनाको प्रतिस्पर्धा भएदेखि मजा आउने उनी बताउँछिन्।    
'मेरो टिम जहिले पनि फाइनलसम्म गएको छ,’ उनले भनिन्।

आफूले सपोर्ट गरेको टिम हारेपछि जुन टिमले जितोस् उनलाई फरक पर्दैन। 

अर्काको टिम हार्दा अरुलाई जिस्काउँदै चिच्याउँदै रमाइलो गर्छिन्। हार्ने टिमका समर्थकलाई चिढ्याउन मजा लाग्छ उनलाई।

यसपालीको विश्वकपमा उनको दैनिक रुटिन बिग्रने निश्चित छ।

'यसपालि कति दिनसम्म निन्द्रा हराउँछ होला, धेरै खाएर मोटाउछु होला, जिम जान्न होला,’ उनले भनिन्।

उनी अहिले फुटसलतिर जान्छिन्, खेल्न। टाइम पास गर्न कहिलेकाहीँ घर छेउको फुटसल पनि पुग्छिन्। 

'म नपत्याउने खेलाडी हुँ। मलाई कसैले पत्याउँदा पनि पत्याउँदैनन्,’ भनिन्। 

श्रीकृष्ण श्रेष्ठसँग उनले पछिल्लो समय यूरो कप हेरिकी थिइन्। श्रीकृष्णसँग हेरेको पहिलो अनि अन्तिम प्रतियोगिता थियो त्यो।   

'कोहिनुरको फिल्म ताका यूरो कप सुरु भएको थियो,’ भनिन्, ‘त्यतिखेर स्पेनको सपोर्टमा थिएँ। मैले जितेको दादा (श्रीकृष्ण) ले हार्नु भएको थियो। त्यतिखेर बाजी राखेको थियौं, ३० हजारको।‘ 


ट्रेन्डिङ पोस्ट

Ncell