PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चीन भ्रमणमा प्रधानमन्त्री ओलीका यस्ता यस्ता छन् एजेन्डा



विधुर ढकाल

चीन भ्रमणमा प्रधानमन्त्री ओलीका यस्ता यस्ता छन् एजेन्डा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनसँग सीमा नाका सञ्चालनका लागि माग गर्ने भएका छन्। असार ५ गते उत्तरी छिमेकी चीन भ्रमणको तयारीमा छन् प्रधानमन्त्री ओली। 

मन्त्रालयहरुले आफ्नो मन्त्रालयको तर्फबाट चीनसँग गर्नुपर्ने सम्झौता र समझदारीका विषय समेटेर प्रतिवेदन बुझाएका छन्। ती प्रतिवेदनमा समेटिएका विषयलाई प्राथमिकताका आधारमा छनोट गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका क्षेत्रमा नाका सञ्चालनका लागि सम्झौता गरिने जानकारी दिए।
 
सरकारले चीनसँग तिब्बतको राजमार्गसँग जोड्ने गरी ८ वटा नाका खोल्ने सम्झौतामा हस्ताक्षर हुने उनले बताए। 

‘नेपालको हिमाली क्षेत्रमा खाद्यान्न ढुवानीसहित नेपालको सामान निर्यात गर्ने प्रयोजनका लागि बझाङको उरिपास, रसुवागढी, दार्चुलाको तिंकरमा दुई, ताप्लेजुङको तिप्लापास र हुम्लाको हिल्सामा व्यापारिक नाका खोल्ने विषयमा प्रधानमन्त्रीको भ्रमणमा हस्ताक्षर हुनेछ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यस्तै केरुङ–काठमाडौं रेलमार्गसहित क्रस बोर्डर कनेक्टिभिटीका क्षेत्रमा समेत सहमती हुनेछ।’

त्यस्तै रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा ‘नेपाल–चीन मैत्रीपुल’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ। 

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा ओलीले गरेको पहिलो चीन भ्रमण भएका सम्झौताहरुको कार्यान्वयनलाई भ्रमणको क्रममा जोड दिइने छ। 

त्यस्तै उर्जा मन्त्रालयले तयार गरेको प्रस्ताव अनुसार उर्जा सहायता तथा सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयमा समेत सझेदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। त्यस्तै एक हजार मेघावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाका तीन आयोजना गर्ने विषयमा समेत सहमति हुने उनले बताए।

कृषि मन्त्रालयले कृषि आधुनिकीकरणका क्षेत्रमा चीनबाट लिन सक्ने सहयोगका क्षेत्र समेटेर प्रस्ताव पेश गरेको छ। सोही अनुरुप कृषि आधुनिकीकरणको क्षेत्रमा साझेदारी गर्ने समझदारीपत्रमासमेत हस्ताक्षरको तयारी भइरहेको बताइएको छ। 

त्यस्तै चिनियाँ सहयोगमा सातै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्दार केन्द्र निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। 

त्यस्तै पुनःनिर्माणमा चिनियाँ सहयोगको परिचालनका विषयमा समेत सम्झौता हुनेछ। 

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत कनेक्टिभिटिका विभिन्न क्षेत्रमा समेत छलफल हुने उनले जानकारी दिए। व्यापार तथा पारवहान सन्त्रीका साथै बीआरआईमा हस्ताक्षर भइसकेको अवस्थामा त्यहाँका सामुन्द्रीक र सुख्खा बन्दरगाहको प्रयोगका विषयमा समेत भ्रमणका क्रममा छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिए। 

प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, यातायातमन्त्री रघुवीर महासेठसहित असार ५ गते बेइजिङ जाँदै छन्। उनी असार १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell