PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

पढाइ छाडेर 'वर्ल्डकप' नहेर्न सांसद नवीना लामाको सुझाव; 'खेलमा राजनीति नगरे नेपाली फुटबल सुध्रन्छ' 



नेत्र तामाङ

पढाइ छाडेर 'वर्ल्डकप' नहेर्न सांसद नवीना लामाको सुझाव; 'खेलमा राजनीति नगरे नेपाली फुटबल सुध्रन्छ' 

काठमाडौं : सांसद नवीना लामा मार्सल आर्ट्सकी खेलाडी हुन्। तत्कालीन अनेरस्ववियुकी अध्यक्षसमेत रहेकी उनी विद्यार्थी जीवनमै मार्सल आर्ट्स सिकेकी थिइन्। उसो त उनी लङ टेनिसकी खेलाडी पनि हुन्।

विश्वकप चलिरहँदा उनको ध्यान पनि फुटबलले तानेको छ। फुटबल फिभरले छोए पनि सबै खेल भने व्यस्तताले हेर्न नभ्याउने नवीनाले सुनाइन्। 'वर्ल्डकप आएको छ, तर सबै खेल हेर्नका लागि समय नै मिल्दैन जस्तो छ,' उनले भनिन्।

फुर्सद नमिले पनि अर्जेन्टिनाको खेल भने नछुटाई हेर्ने तयारी छ उनको।

'मलाई अर्जेन्टिनाको खेल मनपर्छ, त्यसैले उनीहरुको गेम छुटाउँदिनँ,' नवीनाले भनिन्।

अर्जेन्टिनासँगै ब्राजिल, इङल्यान्ड र जर्मनीको खेल पनि नछुटाउने प्रयास गर्ने उनले सुनाइन्। भनिन्, 'अर्जेन्टिनापछि ब्राजिल, इङल्यान्ड र जर्मनीको खेल मनपर्छ समय मिलेमा यी खेल पनि छुटाउँदिन।'

अर्जेन्टिना नै किन?

अर्जेन्टिनी टिमको खेलको लय राम्रो भएकोले आफूलाई मनपरेको सांसद लामाले सुनाइन्। अर्को विषय हो अनुशासन र मर्यादा। 'मेसीजस्ता खेलाडी छन्। यति नै काफी छ यो टोली मनपराउनुको लागि। भद्र खेल छ। खेल हेर्दै थाहा हुन्छ उनीहरु टिम वर्कमा विश्वास राख्छन्। त्यसैले वर्ल्डकपको डिजर्भ पनि गर्छ,' नवीनाले भनिन्।

सुनको वर्ल्डकप नलगे पनि उनको लागि अर्जेन्टिनाले जिते बराबर हुने उनको तर्क रहेको छ। 'फरेभर टिम अर्जेन्टिना हो। जिते पनि नजिते पनि राम्रो लाग्छ, गोल्ड कप नलगे पनि लागि अर्जेन्टिनाले जिते बराबर हो,' निर्धक्क सुनाइन् उनले।

फुटबल खेलमा ब्राजिलका पेले प्रेरणा बन्यो नवीनाको लागि। 'पेलेको जीवनी पढेर रोएकी थिएँ। मोजाको बल खेलेको कुरा पढेर निकै दु:ख लागेको थियो। प्रेरणा हो पेले मेरो लागि,' सांसद लामाले सुनाइन्।

विद्यार्थीलाई सुझाव

विश्वकप महिनाभर लाग्छ। यसले विद्यार्थीको पढाइमा बाधा पुग्ने उनले बताइन्। पढाइलाई बाधा नहुने गरी खेल हेर्दा राम्रो हुने नवीनाको सुझाव रहेको छ। विद्यार्थी जीवन नै महत्वपूर्ण रहेकोले पढाइमा तलमाथि भए करिअर बिग्रने हुनाले भविष्यबारे पनि विद्यार्थीले सोच्नुपर्ने उनको भनाई छ।

'विश्वकप हो। सबैलाई हेर्न मन लाग्छ, विद्यार्थीलाई झनै उत्साही बनाउँछ। तर समय मिलाएर पढाइलाई नबिगारी हेर्दा राम्रो हुन्छ, परीक्षा भएमा करिअर बिग्रने भएकाले नहेर्दा नै राम्रो,' नवीनाले भनिन्, 'यसका लागि अभिभावकले पनि गाइड गर्नुपर्छ।'

नेपाली फुटबलमा राजनीति मिसियो 

नेपाली टोली विश्वकपमा गएर खेलेको हेर्ने मन भएको उनले सुनाइन्। तर, खेलमा राजनीति पसेकाले सुधार नभएको उनको तर्क छ। 

'मेरोमात्र हैन पक्कै सबै नेपालीको चाहना होला नेपाली टोली नेपाली झन्डा लिएर विश्वकपमा खेलेको हेर्ने। तर, यसका लागि त खेलमा सुधार ल्याउनुपर्छ। खेलमा राजनीति घुसाएर काम छैन,' उनको सुझाव छ, 'नेपाली फुटबल स्तरीय बनाउन स्तरीय तालिम दिनुपर्‍यो। खेलाडीलाई बाहिरका स्तरीय टिममा खेलाउने वातावरण बनाउनुपर्छ। खेलाडीको ध्यान दैनिकी कसरी चलाउने भन्नेतिर नजाने गरी सुविधा दिनुपर्‍यो। नीति कार्यक्रम बनाएर ठोस परिणाम ल्याउने काम गरेमा विश्वकपमा सहभागी हुन सक्दैन भन्ने कुरा छैन।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell