PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रचण्ड भन्छन् : एकतासँगै दुवै पार्टीका गलत प्रवृत्तिसमेत आयो, एउटै हेडक्वार्टरको आवश्यकता



विधुर ढकाल

प्रचण्ड भन्छन् : एकतासँगै दुवै पार्टीका गलत प्रवृत्तिसमेत आयो, एउटै हेडक्वार्टरको आवश्यकता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ने क पाको गठनसँगै अघिका दुवै पार्टीमा भएका गलत प्रवृत्तिहरु समेत आएको बताएका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त बिस्तारित बैठकमा उनले यस्तो बताएका हुन्। 
उनले आफूहरु पार्टीमा एउटै शक्तिशाली हेडक्वाटर बनाउने अभियान लागेको भन्दै पार्टीभित्र गुटको अन्त्य गर्नुपर्ने बताए। 

नेकपा संचालनका लागि एउटै केन्द्र र एउटै अनुशासनको विकास गर्नुपर्ने उनले बताए। नेकपालाई गतिशील बनाउनका लागि एउटै हेडक्वार्टरको पनि आवश्यकता रहेको उनले बताए।

‘अहिले एक केन्द्र भन्दा पनि बहु केन्द्र छन्। अहिले बुर्जुवाबादी सोच, आत्मकेन्द्रित सोच बढ्दै गएको छ। यो कम्युनिष्टहरुको सिद्धान्त होइन्,’ उनले भने, ‘लिडरसिप भनेको जनताकोबीचबाट आन्दोलनले सिर्जना गर्ने हो। कम्युनिष्ट पार्टी नेताहरुको पार्टी हो। तिनै नेताहरुकाबीचमा एउटा शक्तिशाली केन्द्र बन्ने हो। कम्युनिष्टहरुको सामुहिकताबाट हामी विचलित भएका छौं। एउटै शक्तिशाली केन्द्रबाट बहुकेन्द्र बनाएर, कम्युनिष्टहरु पनि बुर्जुवा र पेटी बुर्जुवा बन्दै गएका इतिहास छ। हामीले एउटै शक्तिशाली केन्द्र बनाउनुछ।’ 

उनले शक्तिशाली केन्द्र कसैले बनाइदिने होइन, म बन्छु भनेर नहुने समेत दाबी गरे। इतिहास, योगदान र क्षमताले हेडक्वाटर बन्ने उनको भनाई थियो। 

दुई ठूला कम्युनष्टि पार्टीको एकतासँगै नेपालको कम्युनिष्ट आन्दोलन अन्तर्राष्ट्रिय रुपमा आयाम थपिएको समेत बताए। उनले देश विदेशमा एकताको चर्चा चलेको समेत बताए। 

उनले अलग अलग परिवेश र सिद्धान्तका बीचबाट पार्टी एकता गरिएको भन्दै आलोचना, बहस, संघर्ष, रुपान्तरण, परिवर्तन हुँदै नयाँ परिवेशमा नयाँ एकता हुनुपर्ने बताए। 

‘हामीले नयाँ परिवेशमा रुपान्तरण सहितको एकता गर्ने पहल गरेका हौं। हिजो हामी कसैले २१ औँ शताब्दीको जनवाद भन्यौं, कसैले जनताको बहुदलीय जनवाद भन्यौं। आज हामी समाजवादको बाटोमा एक भएका छौं,’ प्रचण्डले अगाडि भने, ‘सिद्धान्त भनेको नयाँ परिस्थिति अनुसार परिवर्तन र परिस्कृत गर्दै अगाडि बढ्ने कुरा हो।’ 

उनले विगतमा जबज र एक्काइसौं शताब्दीको जनवाद जेजे भने पनि अब समाजवादको आधार तयार पार्दै समाजवादको उद्देश्य प्राप्तिका लागि सबैले नेता कार्यकर्ताले काम गर्नुपर्ने बताए।

प्रेस चौतारी अन्तिम बैठक पेरिसडाँडामा र प्रेस सेन्टरको धुम्वाराहीमा

यसैबीच तत्कालिन नेकपा एमाले र नेकपा माओवादीका पत्रकारहरुका संगठन प्रेस चौतारी र प्रेस सेन्टरको केन्द्रीय समितिका अन्तिम बैठक सम्पन्न भएका छन्। प्रेस सेन्टरको अन्तिम बैठक तत्कालिन एमालेको मुख्यालयमा आज विहान सम्पन्न भएको छ। त्यस्तै प्रेस चौतारीको अन्तिम बैठक तत्कालिन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सम्पन्न भएको हो। 

प्रेस चौतारी र प्रेस सेन्टरको एकताका लागि ने क पाले स्थायी समिति सदस्यहरु पम्फा भुसाल र योगश भट्टराईका साथै प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल सदस्य रहेको कार्यदल बनाएको थियो। कार्यदलले एकताका लागि विस्तारित बैठक आयोजना गरेको हो। 
यसैबीच एकीकृत संगठनको विधान निर्माणका लागि दुवै संगठनका महासचिव सदस्य रहेको विधान कार्यदल बनाएको छ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell