PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

एसएसपी विश्वराज पोखरेल : विश्वकप हेर्न नपाउने चिन्तासँगै जुवा रोक्नुपर्ने जिम्मेवारी



सविन ढकाल

एसएसपी विश्वराज पोखरेल : विश्वकप हेर्न नपाउने चिन्तासँगै जुवा रोक्नुपर्ने जिम्मेवारी

काठमाडौं : नाम, दाम र सम्मान दुई वटा पेशाले मात्र दिन्छ जस्तो लाग्थ्यो उनलाई। चर्चित कलाकार कि त फुटबल खेलाडीले मात्रै सम्मान पाउँछन् जस्तो लाग्थ्यो। त्यसैले रहर दुवैतिर थियो – हिरो बन्ने या फुटबलर। झन्डै ३५ वर्ष अगाडिको उनको सोच भने पूरा भएन। न कलाकार बने न त फुटबलर नै। 

फुटबल खेललाई प्रतिष्ठित देख्ने उनी अहिले यदाकदा तिनै खेलाडीलाई विभिन्न अपराधिक गतिविधि गर्दा कठालो समाउने भएका छन्। उनी अर्थात् एसएसपी विश्वराज पोखरेल, काठमाडौँ जिल्लाको प्रहरी प्रमुख। 

दुई साता अगाडि अनलाइन जुवा खेलाएको अभियोगमा उनै एसएसपी पोखरेलको टिमले नेपाली टिमका पूर्व खेलाडी अञ्जन केसीलाई पक्राउ गरेको थियो। 

'खेलाडीलाई यसरी अपराधिक गतिविधिमा भएको देख्दा दुःख लाग्छ। नेपालमा फुटबल व्यावसायिक भइसकेको छैन। खेलाडीलाई उच्च आयको आवश्यकता पर्छ। त्यसैले कहिलेकाहीँ बाटो बिराउँछन्,' एसएसपी पोखरेलले भने।

विश्वकप फुटबलको ज्वरोले उनमा पनि नआउने होइन। तर, कामको व्यस्तताले समय लिएर हेर्न नपाउने चिन्ता छ उनलाई। 

'सबैभन्दा मन पर्ने खेल फुटबल नै हो। त्यसमा पनि विश्वकप। तर, समयको व्यस्तताले आनन्दले फुटबल हेर्न पाइँदैन त्यसैको चिन्ता छ,' एसएसपी पोखरेलले भने।

विश्वकप फुटबलमा नेपालमा पनि ठूलै धनराशीमा 'बिट' लगाउने चलन भएकाले प्रहरी यो अवधिमा बढी सक्रिय हुने बताउँछन्। खेल रमाइलो गर्ने माध्यम भए पनि अहिले जुवाको रूपमा समेत लिँदै गर्दा अपराध बढेको छ। उनको ध्यान विश्वकपका म्याचभन्दा बढी विश्वकपमा हुनसक्ने जुवा नियन्त्रणमा हुनुपर्ने स्थिति छ। भन्छन्, 'विश्वकप समयभरि काठमाडौँको विशेष सुरक्षा व्यवस्था मिलाएका छौँ। बिट गर्नेहरुलाई पनि निगरानी राख्छौँ।'
 

गाँउस्तरको राम्रो खेलाडी थिए

अग्लो कदका पोखरेलको शारीरिक बनोट अहिले पनि खेलाडी बन्न फिट छ। युवावस्थामा त झन नहुने कुरै भएन। 

ओखलढुङ्गाको रुम्जाटारमा जन्मिएका पोखरेल २०३७ सालतिर गाँउतहको खेलाडी थिए। उनले भने, 'युवावस्थामा केही वर्ष खुब फुटबल खेलियो। गाउँ-गाँउमा हुने फुटबलमा सहभागी हुन्थेँ। लाग्थ्यो खेलाडी नै हुइन्छ कि।' गाँउस्तरीय फुटबलमा जित र हार दुवैको अनुभव छ उनीसँग। 
 
जतिखेर उनी प्रहरी सेवामा प्रवेश गरे त्यतिखेर फुटबल खेल थियो तर व्यवसायिक बनिसकेको थिएन। 'सायद फुटबल व्यवसायिक भइसकेको भए खेल जगतमा होमिन पनि सक्थेँ होला,' एसएसपी पोखरेलले भने।

उनको सबैभन्दा मन पर्ने टिम जापान हो। जापानका खेलाडीको खेल खेल्ने तरिका कलात्मक लाग्छ उनलाई। भन्छन्, 'फुटबल कला नै हो। जसले कलात्मक प्रस्तुती दिन्छ त्यही नै मन पर्ने न हो। जापानका खेलाडीको खेल राम्रो छ।'

टिम जापान मन परे पनि खेलाडीमा भने पोखरेलाई मेसी र रोनाल्डो ठीक लाग्छ।

झन्डै तीन दशक अगाडि फुटबल खेल्दाको एउटा घटना अझै पनि उनको मानसपटलमा छ। ‘भर्खरै गोट्टी भएको बुट आएको थियो। साथीले त्यही लगाएर खेलेको थियो। खेल्ने क्रममा एउटा साथीले मरो खुट्टामा मर्ने गरी हान्यो,’ सुनाए, ‘एकदमै दुख्यो। तर, आफू बलियो छु भन्ने देखाउन नदुखेको नाटक गरेँ।' बुटले लागेर घाइते भएर सुटुक्क घर गएर चार दिनसम्म थला परेको उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell