
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले भारतीय पश्चिमी वायुको कारण शुक्रवार राति काठमाडौं लगायत देशका विभिन्न स्थानमा धुलो सहितको धमिलो वर्षा भएको जानकारी गराएको छ।
महाशाखाले शनिवार विज्ञप्ति जारी गर्दै भारतको राजस्थान आसपास मरुभूमिमा केही दिनदेखि चलेको हुरीका कारण प्रदुषित वर्षा भएको बताएको हो। विज्ञप्तिमा भनिएको छ, 'भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमश: पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डलमा बिस्तार हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेको हुँदा हिजो रातिबाट परेको वर्षामा धेरै स्थानहरुमा धमिलो वा पहेँलो रंगको हिलो मिसिएको पानी परेको देखिन्छ।'
अझै केही दिन सो धुलोको प्रभाब नेपालको वायुमण्डल तथा पर्ने पानीमा देखिने समेत विभागले जनाएको छ।