PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सुनील थापाको फुटबल स्मरणः 'बुबाको काजकिरियामा पनि झ्यालबाट चियाउँदै वर्ल्डकप हेर्थेँ'



रीना मोक्तान

सुनील थापाको फुटबल स्मरणः 'बुबाको काजकिरियामा पनि झ्यालबाट चियाउँदै वर्ल्डकप हेर्थेँ'

चर्चित कलाकार सुनील थापाले फुटबल खेल्न छोडेको धेरै भइसक्यो। पूर्व फुटबलरसमेत रहेका उनी मैदानमा उत्रिन छाडे पनि फुटबल हेर्न भने छोडेका छैनन्। फुटबलको कुम्भमेला, विश्वकप सुरु भएसँगै उनको व्यस्तता पनि बढेको छ।

अहिले उनी एभरेस्ट फिल्म एकेडेमीमा पढाउँछन्। अर्कोतिर उनै ‘राते काइँला’ अनमोल केसीसँगको फिल्म ‘क्याप्टेन’को सुटिङमा पनि व्यस्त छन्। व्यस्तताबीच विश्वकपका लागि उनले आफ्नो सेड्युल मिलाएका छन्। भुवन केसीसँग उनले आफ्नो सुटिङ समय १ बजे सम्मलाई बनाइसकेका छन्।


इंग्ल्यान्डलाई सपोर्ट

उनले आफूले सपोर्ट गरेको टिम इंग्ल्याण्डको खेलमा कमेन्ट्री गर्ने बताए। ‘मलाई फुटबलको ज्ञान भएकोले कमेन्ट्रीका लागि डिस होमबाट बोलाउनु भयो,’ उनले भने, ‘मैले हुन्छ भनेँ। अफिसियली त होइन।‘

इंग्ल्याण्डको डेली एली, हेरिकेन उनलाई राम्रा खेलाडी लाग्छन्। धेरै अपेक्षा भने गर्दैनन्। उनका लागि इंग्ल्याण्ड टिम क्वार्टरफाइनलमा नै पुग्यो भने काफी।

पहिलेदेखि नै इंग्ल्यान्डको समर्थक उनी। ‘मैले जहिलेदेखि विश्वकप फलो गर्न थालेँ, इंग्ल्यान्ड कै सपोर्ट गर्थेँ। म आफैँ पनि खेलाडी। आई लभ इंग्ल्यान्ड टिम,’ उनले भने।

डेबिड बेकह्याम, चार्ल्स जस्ता खेलाडीले गर्दा नै इंग्ल्यान्डको समर्थन गर्न थालेका थिए उनले।

आफ्नो टिमले जित्नै पर्छ भन्ने पक्षमा भने उनी छैनन्। भन्छन्, ‘आफ्नो टिमले जितोस् भन्ने सबैको मन हुन्छ। आफ्नो टिमलाई सपोर्ट गरेपछि जित नै चाहिन्छ। तर टिम हार्दा उदास हुने, निराश भएर म जाँड चाहिँ खान्न।‘

यसपाली नेपालमा विश्वकपको धेरै नै क्रेज बढेको उनको तर्क छ। फुटबलको क्रेज पोजिटिभ भाइभ्समा भइरहेको लाग्छ उनलाई। भन्छन्, ‘ठुलो रेस्टुरेन्टमा पर्दा राखेर खेल देखाइरहेको हुन्छ। यदि हाम्रो फुटबल संघले नै रंगशालामा ठूलो स्क्रिन लगाएर विश्वकप देखाइदिएको भए राम्रो हुन्थ्यो।‘

इन्टरनेटले गर्दा पनि क्रेज बढेको उनको बुझाइ छ।

‘विश्वकपमा हरेकजसो व्यक्तिले फेवरेट टिम छानेका छन्। प्राय जो कमेन्ट गर्छन् उनीहरुले ब्राजिल, जर्मनी रोजेका छन्,’ उनले भने, ‘दु:ख लाग्दो कुरा म आजभोलि मलमा छिर्छु, सेल्समेनहरुले अर्जेन्टिना, ब्राजिलको जर्सी जबरजस्ती लगाएको देखिन्छ। कतिलाई म सोध्छु ब्राजिलको टिमको तपाईँ? हाँसी दिन्छन् मात्र।‘

जति हल्ला पछिल्लो विश्वकपमा थियो। त्यसको धेरै गुणा यसपाली बढेको बताए।

कतिले त ह्यान्डसम खेलाडी खोजेर टिम छनोट गर्ने गरेकोसमेत व्यंग्य हाने उनले।

‘यो टिमलाई सपोर्ट गर्छु भन्छन्, ह्यान्डसम खेलाडी देखेपछि। कतिलाई त टिमको नाम नै थाह हुँदैन,’ हाँस्दै सुनाए।

 

बुबाको किरिया बस्दा लुकेर हेरेँ

कुनै पनि हालतमा विश्वकप नहेरी उनी अडिन सक्दैनन्। ‘२०१० मा मेरो बुबा बित्नु भा’को थियो। १३ दिन किरिया बस्नु पर्थ्यो। विश्वकपको समय। सबै अर्को कोठामा म्याच हेरिरहेका हुन्थे। म झ्यालबाट चियाएर हेर्थेँ,’ उनले भने, ‘मलाई याद छ कहिलेकाहीँ अरूलाई बहाना बनाएर टिभी खोल्न पठाउँथेँ।‘

उनले अहिलेसम्म १० वटा विश्वकप हेरिसकेका छन्। पेलेले खेल्दादेखि उनले फुटबल हेर्न थालेका थिए। भने, ‘पेलेपछि म्यारोडोना चर्चित थिए। त्यसपछि ब्राजिलका रोनाल्डो।‘

आजको मेस्सी र रोनाल्डोभन्दा उनलाई ब्राजिलका तत्कालीन खेलाडी रोनाल्डो नै राम्रो लाग्छ।

 

पोर्चुगल र फ्रान्स सर्प्राइज टिम

वर्ल्डकपमा दोस्रो रोजाई भने उनको पोर्चुगल हो। पोर्चुगल र स्पेन, सेमिफाइनलसम्म पुग्ने उनको आकलन छ।

‘अर्जेन्टिना, जर्मनी र ब्राजिलको जति वाह! वाह! भइराको छ, मलाई जहाँसम्म लाग्छ, अर्जेन्टिना टिमका सर्जियो रोमेरो, म्यारोडोनाको ज्वाँइसाप हुन्, उनले भने, ‘सर्जियो राम्रो त खेल्छन् तर घाइते भइहाल्छन्। म चाहन्छु यसपाली त्यस्तो नहोस्।‘

सुनीलका लागि सर्प्राइज टिम कि पोर्चुगल नभए फ्रान्स रहने छ। यसपाली पोर्चुगलले जित्ने उनको आकलन छ।

‘यो रोनाल्डोको अन्तिम खेल पनि हुन सक्छ। मेस्सी, नाम नै उहाँको मेस्सी, कि त उनले कप जित्न सक्नेछन् कि त खेल नै मेसप गर्न सक्छ,‘ उनले भने।

 

फिल्ममा छिरेपछि मैदान बाहिर

उनी सानैदेखि फुटबल क्रेजी हुन्। बलिउड फिल्म मेरिकोममा प्रियंकाको कोचको अभिनय गरिसकेका सुनील सानैदेखि निकै फुटबल खेल्थे। भारतमा हुर्केका उनले फुटबलका धेरै म्याचहरु खेलिसकेका छन्। बाल्यकालको फुटबल क्रेज सम्झे, ‘जब म मुम्बईको वोलिनेमा स्कुलमा पढ्थेँ। छ, सात कक्षामा निकै राम्रो विद्यार्थी थिएँ। फुटबल खेल्न थालेँ। स्कुलको पढाइभन्दा कसरी गोल हान्ने भन्ने सोच हुन्थ्यो। त्यसैले त्यतिखेर पढाइमा गोल खाएँ। तर, स्कुल टिममा सेलेक्ट भएँ।‘

उनले भारतमा इण्डियन कल्चर लिग र ओर्केसका म्याच खेलेका थिए। ११ मा पढ्दै गर्दा प्रदेश कै क्याप्टेन पनि भएका थिए। व्यावसायिक खेलाडीको रूपमा खेल्दा उनले ४ सय ३० भारु पारिश्रमिक पाउँथे। अहिलेको हिसाबमा लगभग ४० हजार।

जब उनले बलिउड डेब्यु गरे फुटबल खेल्न छोडे। तर, आज पनि मैदानमा उत्रिँदा उनी क्याप्टेन नै बन्छन्।

एउटा फाइनल म्याच खेल्दा खेरि आँखा पाक्ने रोगले सताएको सम्झना सुनाए। ‘आँखा रातो थियो। क्याप्टेन थिएँ म। आँखा चिम्सो पारेर भए पनि खेलेँ। मेरो टिमले जितेको थियो त्यो गेम।’

जितेको ट्रफी बोकेर घर गएका थिए उनी। सबैले वाह… भन्लान भन्ने थियो। बाटोभरि एकदम गाह्रो भयो बोक्न। त्यसपछि थाह भो -जिन्दगीमा ट्रफी पाए पनि बोक्नु चाहिँ हुँदैन।

फुटबल खेल दिमागले खेल्नु पर्ने उनलाई लाग्छ। फुटबल भनेको टिमवोर्क हो। मेस्सी, म्यारोडोना आफैँले गोल हानेर मात्र जितेको होइन। टिम वोर्कले गर्दा नै उनीहरूले चर्चा पाएको हो।

नेपालले पनि विश्वकपमा खेल्न सक्ने उनको आशा छ। ‘यदि राजनीतिले खेलकुदबाट हात हटायो भने २०३० सम्म नेपालले विश्वकप खेल्न सक्छ,’ ठोकुवा गरे।

‘हाम्रो समयमा दूध र केराको बाजी हुन्थ्यो फुटबलमा। आर्थिक कुराको बाजी कहिल्यै भएन,’ उनले भने, ‘अहिले धेरै युवाहरूले बाजी राखेको दु:खको कुरा हो। फुटबल खेल हो, यसमा बाजी राख्नु नराम्रो हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell