PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

असारे विकासको चटारो, हिलाम्मे सडकमा गरेको पिच एक महिनामै उप्कियो



चन्द्रकान्त खनाल

असारे विकासको चटारो, हिलाम्मे सडकमा गरेको पिच एक महिनामै उप्कियो

रुपन्देहीः असार मसान्त आउन लागेपछि हतारमा काम सुरु गरेका निर्माण व्यवसायीले पानी, धुलो तथा माटोमाथि नै सडक कालोपत्रे गरेका छन्।
वर्षौँदेखि निर्माण कार्य अलपत्र रहेको तानसेन–तम्घास सडकको हार्थोक–रिडी खण्डमा मर्मत गर्दा चिसो र पानीमाथि नै कालोपत्रे बिच्छ्याएको हो। रिब्दीकोट गाउँ“पालिका, ४ भैरवस्थानका तिलक गाहा लगायतले गुणस्तरहीन कालोपत्रे गरेको देखेपछि त्यसको उप्काएर विरोध समेत गरेका छन्। 

निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्दा सडक डिभिजन कार्यालय भने अनुगमनका लागि एक पटक पनि सम्बन्धित स्थानमा नआएको उनले बताए। सडक चौडा, स्तरोन्नति र मर्मतको नाममा खाल्डाखुल्डी र हिलाम्मे सडकमाथि निर्माण कम्पनीले गुणस्तरहीन कालोपत्रे गरेको हो। निर्माण व्यवसायीले महिना दिनमै उप्किने गरी कालोपत्रे गरेको स्थानीयको आरोप छ। 

बिटुमिनले गिट्टी तथा सरफेसलाई समाएको छैन। कालोपत्रे हातले नै उप्काउन सकिने अवस्थामा छ। आर्थिक वर्ष सकिन लाग्दा सडक डिभिजन कार्यालय र निर्माण व्यवसायीको मिलेमतोमा गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ। सडक निर्माणको ठेक्का लिएको निर्माण कम्पनी साइन कन्सट्रक्शन प्रालिले काम गरेको छ।  

कामदारहरू घरजाने तयारीमा रहेकाले हतारमा सडक कालोपत्र गरेको निर्माण व्यवसायी चुरा खत्रीले स्वीकार गरे।

खाल्डाखुल्डी तथा माटो, पानी भएको सडकमै कालोपत्रे गरेका कारण कालोपत्रे उप्किएको ठेकेदारले स्वीकार गरेपछि उक्त सडकमा पुनः कालोपत्रे गर्न निर्देशन दिइएको सडक डिभिजन प्रमुख बाबुराम सापकोटाले बताए।

साइट इन्चार्ज, इन्जिनियर, डिभिजन प्रमुख कोही पनि उक्त सडकको अनुगमनका लागि गएका छैनन्। सुपरभाइजर केशव शाहीलाई अनुगमनको जिम्मा दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell