
काठमाडौँः संघीय संसद्को संयुक्त बैठक आज बस्दैछ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बैठक आह्वान गरेकी छन्। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावली पेस हुनेछ। पेस भएको नियमावली आजै पारित गर्ने कार्यसूची तय भएको छ।
यसअघि जेठ २८ गते नै संयुक्त बैठक बोलाइएको थियो। तर, प्राविधिक कारण भन्दै स्थगित गरिएको थियो।
संयुक्त बैठक सञ्चालनको अन्तरिम कार्यविधि समेत नभएको र सदस्यहरुलाई बैठकमार्फत खबर नगरिएको भन्दै बैठक स्थगित गरिएको थियो। स्पष्ट व्यवस्था नभएपछि सरकारले संविधानको धारा ९३ अनुसार बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
आइतबारको बैठकमा संयुक्त नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले नियमावलीको मस्यौदा संयुक्त बैठकमा पेस गर्नेछन्।
नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको छ। यस्तै, संयुक्त सदनबाट निक्र्यौल हुनुपर्ने विषय पनि नियमावलीमा समेटिएको छ।
प्रस्ताविन नियमावली अनुसार संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुखले गर्नेछन्। जुन हाल अभ्यास भइरहेको छ।
संयुक्त नियमावली अनुसार दुबै सदनका सदस्य रहनेगरि दुई समिति गठन हुनेछन्। जसमा राज्यका नीति निर्देशक सिद्धान्त अनुगमन कार्यान्वयन तथा निर्देशन समिति र संसदीय सुनुवाइ विशेष समिति रहनेछन्।
प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावली भने दुबै सदनले पारित गरिसकेका छन्।