![गुट मिलाउन कांग्रेस पदाधिकारीले गरे जिल्ला सभापतिलाई गुहार, के होला भेलामा?](https://pahilopost.com/assets/upload/contentthumb/35564365_2299736566703489_2721796740561764352_n.jpg)
हेटौंडा: नेपाली कांग्रेसले चौथोपटक आयोजना गरेको जिल्ला सभापतिहरुको भेलाको उद्घाटनमा केन्द्रीय पदाधिकारीले पार्टीमा रहेको गुट उपगुट मिलाउन सभापतिहरुसँग गुहार मागेका छन्।
मंगलबार मकवानपुरको हेटौंडास्थित कांग्रेस चोकमा रहेको पल्पसा हलमा भएको उदघाटनमा सम्बोधन गरेका अधिकांश नेताहरुले गुट जोड्ने सुत्र बताइदिन जिल्ला सभापतिहरुसँग आग्रह गरे।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस एकताको फर्मुला बताइदिन र उपचार बताइदिन आग्रह गरे। आफूलाई अन्याय भएको भन्दै पौडेलले हात मात्र मिलाएर पार्टी एकता हुन नसक्ने दाबी गरे।
त्यस्तै पार्टीका महामन्त्री शशांक कोइरालाले उत्तर कोरिया र अमेरिकाजस्तो देश मिलिसकेको अवस्थामा कांग्रेसले तिक्तता बोकेर बस्न नहुने धारणा राखे। पार्टी बलियो बनाएर लैजान एकताको विकल्प नभएको उनको धारणा थियो।
यता आमन्त्रित सदस्य विजयकुमार गच्छदारले पार्टीमा एकता ल्याउन आफू जुनसुकै भूमिका निभाउन तयार रहेको उदघोष गरे। कुनै समय कांग्रेस छाडेर गएका गच्छदारले पार्टीलाई बलियो बनाउन भनेर अध्यक्ष छाडेर कांग्रेसमा आएको स्मरण गराए।
मकवानपुर कांग्रेसका सभापति इन्द्र बानियाँले सबैलाई स्वागत गर्दै हेटौंडाबाट फर्कँदा एक भएर फर्कनुपर्ने धारणा राखे।
गुट उपगुटबारे सभापति शेरबहादुर देउवाले भने कुनै अभिव्यक्ति दिएनन्। देउवाले कतिपय कुरा साथीहरुले अतिरञ्जित तरिकाले उठाएको गुनासो मात्र गरे।
के गर्लान् जिल्ला सभापतिहरुले?
चर्को गर्मीबीच आजबाट जिल्ला सभापतिहरु बन्दसत्रमा जुट्दैछन् । ७७ जिल्लाका भनिए पनि ७५ जिल्लाका सभापतिहरु भेलामा उपस्थित भएका छन्। संघीयतामा गएसँगै कांग्रेसको विधान संशोधन हुन सकेको छैन।
सभापतिहरु भेलामा खासै एजेन्डा पनि तय हुन सकेको छैन। पौडेल पक्षका जिल्ला सभापतिहरु महासमिति चाँडो तोक्न र समयमै महाधिवेशन गराउन देउवालाई दबाब दिने तयारीमा छन्। गुट अन्त्य गरी एक भएर जाने भनिए पनि सभापतिहरुले एकताको सन्देश दिने छनक देखिँदैन।
पौडेल पक्षकै सभापतिहरुको जोडले आयोजना भएको यो भेला देउवाविरुद्ध शक्ति प्रदर्शन भएको एक सभापतिले बताए। केन्द्रमा देउवाको शक्ति बढ्दै गएकोले यसलाई नियन्त्रणमा राख्नका लागि जिल्ला सभापतिहरुको भेला आयोजना गरिएको र यसमा खासै एजेन्डा नभएको उनको भनाई थियो।