कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा पानामालाई ६-१ ले पराजित गर्दै इंग्ल्याण्ड रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
थ्री लायन्सको यस नतिजापछि बेल्जियम पनि अन्तिम १६ मा पुगेको छ। दुवैको दुई खेलबाट समान ६ अंक छ र गोलअन्तरमा इंग्ल्याण्ड अगाडी छ।
यस नतिजापछि पानामा र ट्युनिसिया समूह चरणबाटै बाहिरिएका छन्। अब बेल्जियम र इंग्ल्याण्डबीचको खेलबाट समूह जीको विजेताको टुङ्गो लाग्नेछ।
इंग्ल्याण्डले पहिलो हाफमै ५ गोल गरेको थियो। दुवै टोलीले दोस्रो हाफमा १-१ गोल गरे।
कप्तान ह्यारी केनले पहिलो हाफमा दुई पेनाल्टी गोल गरेका थिए। यस्तै जोन स्टोन्सले पनि दुई गोल गरेका थिए।
इंग्ल्याण्डको लागि ह्यारी केनले ६२औँ मिनेटमा अन्तिम गोल गर्दै डेब्यु विश्वकपमै आफ्नो पहिलो ह्याट्रिक पुरा गरे। इंग्ल्याण्डको लागि विश्वकपमा ह्याट्रिक गर्ने केन तेस्रो खेलाडी हुन्। यसअघि सन् १९६६ मा जिओफ हर्ट्स र १९८६ मा ग्यारी लिनेकरले ह्याट्रिक गरेका थिए।
यस्तै जारी विश्वकपमा ह्याट्रिक गर्ने केन दवस्रो खेलाडी हुन्। यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले स्पेन विरुद्ध प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका थिए। पहिलो खेलमा पनि २ गोल गरेका केन ५ गोलसहित गोल्डेन बुटको होडमा शीर्ष स्थानमा छन्।
त्यसअघि खेलको आठौँ मिनेटमै स्टोन्सले गोल गर्दै इंग्लयाण्डलाई अग्रता दिलाएका थिए। केनले २२औँ मिनेट र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे। यस्तै जेस लिनगार्डले ३६औँ तथा स्टोन्सले ४०औँ मिनेटमा गोल गरे।
डेब्युटान्ट पानामाका लागि विश्वकपमा पहिलो गोल गर्ने क्रममा बालोएले ७८औँ मिनेटमा सान्त्वना गोल फर्काए।