PahiloPost

May 15, 2026 | १ जेठ २०८३

होन्डाको गोलमा जापान अंक खोस्न सफल, सेनेगलसँग खेल्यो २-२ को बराबरी

होन्डाको गोलमा जापान अंक खोस्न सफल, सेनेगलसँग खेल्यो २-२ को बराबरी

पहिलोपोस्ट /पहिलोपोस्ट


वैकल्पिक खेलाडी केसुके होन्डाले दोस्रो हाफमा गोल गरेपछि जापानले रसिया विश्वकपको समूह एच को खेलमा सेनेगलसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।

एकातेरिनवर्गमा अफ्रिकन राष्ट्र सेनेगलले दुई पटक अग्रता लिएपनि एसियन राष्ट्र जापानले दुवै पटक पुनरागमन गर्दै अंक खोसेको हो। पहिलो खेलमा विजयी भएका दुवै टोलीले बराबरीपछि समान ४ अंक जोडेका छन् भने अन्तिम १६ मा पुग्ने दुवैको सम्भावना बढी रहेको छ।

खेलको ११ औँ मिनेटमा साडियो मानेको गोलमार्फत सेनेगलले पहिले अग्रता लिएको थियो। ३४औँ मिनेटमै जापानका ताकासी इनुईले गोल गर्दै खेल बराबरी गरे।

दोस्रो हाफमा दुवै टोलीले १-१ गोल थप्यो। ७१औँ मिनेटमा माउसा वागेएले गोल गर्दै सेनेगललाई २-१ को अग्रता दिलाएका थिए। तर त्यसको ७ मिनेटपछि नै होन्डाले गोल गरेपछि जापान बराबरी गर्न सफल भयो।

उक्त गोलसँगै होन्डा ३ फरक विश्वकपमा गोल गर्ने पहिलो जापानी खेलाडी समेत बनेका छन्।

समूह एच अन्तर्गत आजै राती पोल्याण्ड र कोलम्बिया भिड्दैछन्। अन्तिम १६ को सम्भावना कायम राख्न दुवै टोलीलाई जितको आवश्यकता छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell