PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रसिया विश्वकप: 'यी हुन् समूह चरणका ३२ खेलपछि अन्तिम १६ मा पुग्ने र बाहिरिने टिम'



पहिलोपोस्ट

रसिया विश्वकप: 'यी हुन् समूह चरणका ३२ खेलपछि अन्तिम १६ मा पुग्ने र बाहिरिने टिम'

रसिया विश्वकपमा समूह चरणका ३२ खेल भइसकेका छन्। कूल ६४ मध्ये आधा खेल सकिएको छ भने अब समूह चरणमा सबैले एक-एक खेल खेल्न बाँकी छ।

सहभागी ३२ वटा टोलीले समूह चरणमा दुई-दुई खेल खेलिसकेका छन्। केही टिमले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् भने केही टिम अझै दोस्रो चरण पुग्ने होडमा छन्। यस्तै केही टिमहरुको रसिया यात्रा समूह चरणबाटै समाप्त भइसकेको छ।

समूह चरणमा केही अप्रत्यासित नतिजा आउने क्रममा ठूला टिमले पहिलो खेलमा जित निकाल्नु सकेनन्। अंक नगुमाउनका लागि नै संघर्ष गरे।

साविक विजेता जर्मनी पहिलो खेलमै मेक्सिकोसँग सतब्ध हुनु, अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा रोकिनु, ब्राजिल स्वीट्जरल्याण्ड्सँग बराबरीमा रोकिनु, स्पेन र पोर्चुगलले बराबरी खेल्नु, अर्जेन्टिना क्रोएसियासँग पराजित हुनु केही अप्रत्यासित नतिजा रहे। यस्तै, आयोजक रसिया सुरुको २ खेलमा गोलको वर्षा गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्दै आलोचकको मुख थुन्न सफल भएको छ।

रसिया विश्वकपको उपाधि दाबेदारमध्ये दुई खेल खेल्दा इंग्ल्याण्ड, बेल्जियम र फ्रान्सले मात्र अन्तिम १६ मा स्थान पक्का गरेका छन्। यी तीन युरोपियन टोलीले सुरुका दुई खेल नै जितेका छन्। यस्तै जर्मनी र अर्जेन्टिनालाई अन्तिम १६ पुग्न अन्तिम खेलमा जितको आवश्यकता छ। ब्राजिल, स्पेन, पोर्चुगल आफू अनुकुल नतिजा निकाले दोस्रो चरण पुग्नेछन्।

सहजै दोस्रो चरण पुग्ने अनुमान गरिएको युरोपियन राष्ट्र पोल्याण्ड समूह चरणमा लगातार दुई खेल हार्दै बाहिरिएको छ।

यस्तै एसियाबाट इरान र जापान तथा अफ्रिकाबाट सेनेगल र नाइजेरिया अन्तिम १६ मा पुग्ने सम्भावना छ। अफ्रिकाबाट विश्वकप खेलेका इजिप्ट, मोरोक्को र ट्युनिसिया भने समूह चरणबाटै बिहरिएका छन्। यस्तै यसै विश्वकपमार्फत डेब्यु गरेको पानामा पनि समूह चरणबाट बाहिरिएको छ भने अर्को डेब्युटान्स आइसल्याण्डको दोस्रो चरण सम्भावना कायमै छ।

 

दुई खेलपछि अन्तिम १६ मा पुग्नेहरु

समूह ए रसिया र उरुग्वे

समूह सी फ्रान्स

समूह डी क्रोएसिया

समूह जी इंग्ल्याण्ड र बेल्जियम

 

समूह चरणबाट बाहिरिनेहरु

समूह ए इजिप्ट र साउदी अरेबिया

समूह बी मोरोक्को

समूह सी पेरु

समूह ई कोस्टारिका

समूह जी ट्युनिसिया र पानामा

समूह एच पोल्याण्ड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell