PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

एउटा पहिरो पन्छाउन नपाउँदै अर्को, मुग्लिङ-नारायणगढ खण्डमा यात्रु अलपत्र



रासस

एउटा पहिरो पन्छाउन नपाउँदै अर्को, मुग्लिङ-नारायणगढ खण्डमा यात्रु अलपत्र
फाइल फोटो

रत्ननगर : पटकपटक पहिरो खस्दा आज बिहानैदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ। 

राति २:३५ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले १२ बजेभित्र चार पटक पहिरो खसिसकेको छ जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन्।

पहिरो खस्ने, प्रहरीले सडक खोल्ने, अनि फेरि पहिरो खस्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्य बताउँछन्। अहिले ११:३० मा चारकिलो भन्ने स्थानमा फेरि पहिरोसँगै ढुंगा खसेर अवरुद्ध भएको सडक १२ बजे फेरि खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

यसअघि राति खसेको पहिरो बिहान ८ बजे हटाएर एकतर्फी सडक खुलाइएको थियो। लगत्तै पुनः पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहान १० बजे पहिरो हटाएर यातायात दुईतर्फी नै सञ्चालनमा ल्याइएको थियो।

यातायात सञ्चालन भएको डेढघण्टा नबित्दै पुनः ढुंगा खसेर अवरुद्ध भएको मुग्लिन सडक ढुंगा पन्छाएर १२ बजे पुनः सञ्चालन भयो। अब कतिबेला फेरि पहिरो खसेर सडक बन्द हुने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्य अहिलेसम्म चार/पाँच पटक पहिरो खसिसकेको बताउँछन्। पहिरो हटाएर सडक खुल्ने बित्तिकै पुनः पहिरो खस्ने क्रम दोहोरिरहेको उनको भनाइ छ।

उनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा राति २:३५ बजे पहिरो खसेको थियो। सोही सडकखण्ड अन्तर्गत पाँच किलो, जलबिरे र कालिखोलामा समेत थप पहिरो खसेको थियो। 

पटकपटक पहिरो खस्ने क्रम नरोकिँदा बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यमा जान पाएका छ्रैनन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कुनै पनि बेला पहिरो खस्नसक्ने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ। 

उक्त सडक चौडा पार्ने काम सकिएको भए पनि भित्तो काटिएको स्थानमा पहिरो खस्ने क्रम भने रोकिएको छैन। पहिरो रोक्ने प्रयास पनि सफल हुनसकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell