रसिया विश्वकप सुरु हुनुअघि धेरैले सोचेका थिए सुपरस्टार लियोनल मेसीको टिम अर्जेन्टिना सहजै दोस्रो चरणमा पुग्नेछ। हुन पनि दुई पटकको विश्व विजेता वर्तमान समयमको उत्कृष्ट खेलाडी मेसी अनी उपाधिको दाबेदार। अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्न यस्तो हम्मे हम्मे होला भन्ने कसैले सोचेको थिएन।
अझ समूहको दुई खेलको नतिजा जुन अर्जेन्टिनी टिम र उसका समर्थकहरु बिर्सन चाहन्छन्। अर्जेन्टिना समूहको पहिलो खेलमा डेब्युटान्ट आइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो। जहाँ मेसीआफैँले पेनाल्टी मिस गरे। दोस्रो खेलको नतिजा अझै भयानक रह्यो। अर्जन्टिना क्रोएसियासँग ३-० ले पराजित भयो।
अब रसिया विश्वकपमा अगाडी बढ्न अर्जेन्टिना र मेसीको लागि एउटै बाटो बाँकी छ। समूहको अन्तिम खेलमा नाइजेरियालाई हराउने अनी क्रोएसियाले आइसल्याण्डलाई पनि हराउने वा ती दुईले बराबरी खेल्ने।
यस्तो भएमा अर्जेन्टिना भाग्यमानी बन्दै अगाडी बढ्नेछ। अन्यथा दुई पटकको च्याम्पियन अर्जेन्टिनाको ३२ वर्षपछि विश्वकप जित्ने सपना समूह चरणमै समाप्त हुन सक्नेछ।
नाइजेरिया विश्वकपमा अर्जनेटिनाको लागि नौलो प्रतिद्वन्दी होइन। र अफ्रिकन राष्ट्र सुपर इगल्ससँग अर्जेन्टिनाको इतिहास पनि राम्रो छ। यसअघिको चार विश्वकप भेटमा अर्जेन्टिना अपराजित छ। नाइजेरियाले छैटौँ पटक विश्वकप खेलिरहेको छ र पाँचौ पटक अर्जेन्टिना रहेकै समूहमा परेको छ। सन् १९९८ मा मात्र यी दुई एउटै समूहमा थिएनन् भने २००६ मा नाइजेरिया छनोट हुन सकेको थिएन।
चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा मेसीकै दुई गोल मद्दतमा अर्जेन्टिनालाई नाइजेरियालाई ३-२ ले पराजित गर्दै समूह विजेता बनेको थियो। उक्त खेल हारे पनि नाइजेरियाका लागि अहमेद मुसाले २ गोल गरेका थिए। मुसाले यस विश्वकपमा पनि आइसल्याण्डविरुद्धको खेलमा जित हात पार्दा २ गोल गर्दै अर्जेन्टिनालाई सजग समेत गराइसकेका छन्।
उक्त खेलमा निर्णायक गोल गरेका मार्कोस रोहो अहिले पनि अर्जेन्टाइन टिममा छन्।
तर मेसीले भने रसिया विश्वकपको सुरुवाती दुई खेलमा गोल गर्न सकेका छैनन्। अर्जन्टाइन टिमको अनुभवी खेलाडी ज्याभिए मास्केरानोले पनि यस नतिजाबाट मेसी निराश भएको बताउँदै आगामी खेलका लागि उत्सुक भएको बताएका छन्।
सुरुको दुई खेलमा नतिजा निकाल्न नसकेका कारण प्रशिक्षक जोस साम्पालवीको पनि आलोचना हुँदै आएको छ।
अर्जेन्टिनी टिममा केही स्टार खेलाडी भए पनि साम्पालवीले राम्रोसँग सद्पयोग गर्न सकिरहेका छैनन्। नम्बर वान गोलकिपर सर्जियो रोमेरो प्रतियोगिताअघि नै घाइते भएपछि गोलकिपिङ मुख्य समस्या हुँदै आएको छ। यस्तै मेसी, हिग्वेन, अगुएरो, डिबला, पाभोन जस्ता खेलाडी भए पनि उनीहरुले आफ्नो खेल देखाउन पाएका छैनन्।
क्रोएसियाविरुद्ध गल्ती गरेपछि गोलकिपर विली कावालेरोको स्थानमा नाइजेरियाविरुद्ध अनक्याप्ड फ्रान्को अर्मानी खेल्ने सम्भावना छ। यस्तै अगुएरोको स्थानमा हिग्वेनले पहिलो रोजाईमा खेल्नेछन् भने मिडफिल्डरद्वय एन्जल डि मारिया र एभर बनेगा पनि पहिलो रोजाईमा फर्कने सम्भावना छ।
नाइजेरियाका लागि मुसासँग कप्तान जोन ओली मिकेल, भिक्टर मोसेस, केहली इहनाचो अर्जनेटिना विरुद्धको प्रभाव पार्न सक्ने खेलाडीको रुपमा हुनेछन्।
यस्तो छ अर्जन्टिना र नाइजेरियाबीचको विश्वकप राइभर्ली
- सन् १९९४ अर्जेन्टिना २-१ नाइजेरिया
सामसोन सिएसिएले गोल गर्दै नाइजेरियालाई पहिले अग्रता दिलाए पनि क्लाडिया कानिजियाले दुई गोल गर्दै अर्जेन्टिनालाई पुनरागमन जित दिलाएका थिए।
- सन् २००२ अर्जेन्टिना १-० नाइजेरिया
फरवार्ड गाब्रीएल बाटिस्टुटाले गरेको एक मात्र निर्णायक गोल मद्दतमा जापान र कवरयामा भएको विश्वकपमा अर्जेन्टिनाले खेल जितेको थियो।
- सन् २०१० अर्जेन्टिना १-० नाइजेरिया
डिफेण्डर गाब्रिएल हाइन्जले गरेको डाइभिङ हेड गोल मद्दतमा अर्जेन्टिनाले नाइजेरियालाई १-० ले पराजित गरेको थियो।
- सन् २०१४ अर्जेन्टिना ३-२ नाइजेरिया
कप्तान लियोनल मेसीको २ तथा मार्कोस रोहोको १ गोल मद्दतमा अर्जन्टिनाले नाइजेरियामाथि ३-२ को जित हासिल गरेको थियो। अफ्रिकन राष्ट्रका लागि मुसाले २ गोल गरेका थिए।
- अर्जेन्टिना र नाइजेरियाबीचको केही रोमाञ्चक तथ्य
नाइजेरियाले यसअघि पाँच पटक समहू चरणमा दक्षिण अमेरिकी राष्ट्रसँग खेल्दा जित हात पार्न सकेको छैन। चारपटक अर्जेन्टिना तथा १९९८ मा पाराग्वेसँग पराजित भएको थियो।
नाइजेरियाले अहिलेसम्म विश्वकपमा ६ खेल जितेको छ र त्यो सबै युरोपियन राष्ट्रविरुद्ध छ।
नाइजेरियाले यसअघि सन् १९९८ मा मात्र समूह चरणमा लगातार दुई खेल जितेको थियो। जहाँ उसले स्पेन र बुल्गेरियालाई हराएको थियो।
अर्जेन्टिनाविरुद्ध जित हात पारे नाइजेरिया लगातार दोस्रो तथा समग्रमा चौथो पटक अन्तिम १६ मा पुग्नेछ।
अहेमद मुसा विश्वकपमा सर्वाधिक (४) गोल गर्ने नाइजेरियाली खेलाडी हुन्। उनले चार वर्षअघि अर्जेन्टिनाविरुद्ध २ तथा यस विश्वकपमा आइसल्याण्ड विरुद्ध २ गोल गरिसकेका छन्।
अर्जेन्टिनाले यसअघि एक पटक मात्र विश्वकपमा कुनै पनि खेल जित्न सकेको थिएन। सन् १९३४ को दोस्रो विश्वकपमा अर्जेन्टिनाले कम अनुभव भएको टोली खेलाएको थियो। सिधै नकआउट फर्म्याटमा खेलाइएको उक्त विश्वकपमा अर्जेन्टिना स्वीडेनसँग पहिलो चरणमा ३-२ ले पराजित भएको थियो।
अर्जेन्टिनाले बिना जित विश्वकपको पहिलो चरण टुङ्गाएको छैन।
अर्जेन्टिना विश्वकप इतिहासमै सबैभन्दा धेरै खेलमा जितविहीन छ। सन् २०१४ को विश्वकप सेमिफाइनलमा नेदरल्याण्ड्सविरुद्ध हात पारेको पेनाल्टी जितसहित गणना गर्दा पछिल्ला चार खेलमा अर्जेन्टिनाले दुई खेल बराबरी खेलेको छ भने दुई खेल हारेको छ।
अर्जेन्टिनाले सन् १९९४ मा बुल्गेरिया र रोमानियासँग लगातार दुई खेल हारेको थियो।
लियोनल मेसीले विश्वकपमा २२ सट टार्गेटमा प्रहार गरे पनि गोल गर्न असफल भएका छन्। तर पछिल्ला दुई वर्षमा मेसीले राष्ट्रिय टिमका लागि १८ खेलमा १४ गोल गरिसकेका छन्।
