काठमाडौं : इजाजत प्राप्त हातहतियार लिएर अपराध गर्ने क्रम बढेपछि प्रहरीले यस्ता हतियार नियन्त्रण लिन सुरु गरेको छ।
इताजत प्राप्त हतियारको आडमा अपराध तथा त्रास फैलाउने काम भइरहेको सूचना आएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरीलाई यस्ता गतिविधि गर्ने व्यक्ति र हतियार नियन्त्रण लिन निर्देशन दिएका थिए।
महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले सोमवार हेटौंडा स्थायी घर भइ ललितपुरको भनिमण्डल बस्ने महेशबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो।
त्यस्तै महाशाखाको टोलीले १२ बोरको सटगन दुई वटा र २२ बोरको राइफल चारवटा र १ सय ३६ थान गोली समेत नियन्त्रणमा लिएको हो।
हतियारको दुरुपयोग गरी अपराधिक गतिविधि गर्दै हिँडेको सूचनाको आधारमा सिंहलाई नियन्त्रणमा लिएको महाशाखा एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार देशभर करिब ३५ हजार हतियारको लागि प्रशासनबाट स्वीकृति लिएको देखिन्छ।
तथ्याङ्क अनुसार पेस्तोल ३१२ वटा, रिभल्वर ११७ वटा, १२ बोरको बन्दुक १३ हजार ८९२ वटा, २२ बोरको बन्दुक ४ हजार ६६१ वटा, भरुवा बन्दुक १२ हजार ९१ वटा, हावादारी बन्दुक १ हजार १० वटा र अन्य २ हजार २३१ वटा हतियार दर्ता भएका छन्।
महाशाखको टोलीले गत जेठ २७ गते उपत्यकाभित्रका विभिन्न स्थानबाट चार वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, आङकाजी शेर्पा र रघुनाथ पुरी लाई समेत नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट चार थान हतियारसहित २ सयभन्दा बढी गोलीहरू बरामद भएको थियो।
नियन्त्रणमा लिइएकामध्ये वीरेन्द्रलाल श्रेष्ठ मिटर व्याजी भएको प्रहरी दावी छ। त्यस्तै आङकाजी शेर्पा भने ठेकेदार हुन्। बले उपनामले चिनिएका बलराम सापकोटाको क्यासिनोमा लगानीसमेत भएको खुलेको छ। त्यस्तै रघुनाथ पुरी भने म्यानपावर व्यवासायी हुन्। उनीहरूले फिरौती तथा त्रास फैलाउन हतियारको प्रयोग गर्ने गरेको एसपी उप्रेतीले बताए।