- डा. विनोद भट्टराई
विगत २ हप्तादेखि फुटबलको महासंग्राम विश्वकप भइरहेको छ। विश्वभरका करोडौं दर्शकहरु यसलाई एउटा पर्वको रुपमा मज्जा पनि लिंदै छन्। साथै खेलको नतिजाको पूर्वानुमान गर्ने पनि होडबाजी नै चलेको छ। तर पछिल्ला संस्करणभन्दा अलि फरक, यसपटक धेरैको (फुटबलका पण्डित समेत) अनुमान विपरित नतिजा आइराखेको छ।
विश्वकपको दाबेदार अर्जेन्टिनालाई पहिलो पटक विश्वकपमा सहभागिता जनाएको आइसल्याण्डले बराबरीको नतिजा (१-१) निकालेर अर्जेन्टिनाका करोडौं फ्यानहरु स्तब्ध र पण्डितहरुलाई आश्चर्य चकित बनाएको छ। अर्जेन्टिनाले क्रोयसियासंग पनि नमिठो हार बेहोर्यो। क्रोयासियाले विश्वकपमा पहिलो पटक १९९८ मा सहभागिता जनाएको हो। यी दुवै युरोपका भौगोलिक र जनसंख्याका हिसाबले साना देशहरु हून्।
यसैगरि स्वीट्जरल्याण्डले ब्राजिललाई बराबरीमा (१-१) रोक्नु, मेक्सिकोले पछिलो पटकको विजेता जर्मनीलाई पराजित गर्नु संयोग मात्र हुन सक्दैन। खेलको अन्तिम समयसम्म अपेक्षित नतिजा आउला/नआउला, तर पनि यसपटक पहिलेका संस्करणभन्दा कुनै पनि खेलको नतिजा पूर्वानुमान गर्न सबैलाई कठिन हुने देखिन्छ।
ब्राजिल, जर्मनी, अर्जेन्टिना लगायतलाई यस महासंग्रामका दाबेदार रास्ट्रका रुपमा उभ्याउँदै आएका छन्। अहिलेसम्म सबै भन्दा धेरै ब्राजिलले ५ पटक, इटाली र जर्मनी ४-४ पटक, अर्जेन्टिना २ पटक (१५/२०) ७५% विश्वकप जितेका छन्। तथ्यांक शास्त्रको नियम नै लगाउने हो भने पनि यी राष्ट्रहरु प्रमुख दावेदार हुन भनि सहजै अड्कल लगाउन सकिन्छ।
तर विश्वमंचमा फुटबलको बढ्दो लोकप्रियतासंगै प्रविधिको विकास र यसको व्यापक प्रयोगले विश्वकपमा कुनै नयाँ दावेदार आउँदैछ भन्ने आभास हुँदै गएको छ। अर्थात जसरी सगरमाथा आरोहण विशेषत: एउटा जातिका मानिसबाट मात्रै सम्भव देखिन्थ्यो, आजकल हरेक भूगोल, लिङ्ग, जाति, वर्ण, पेशा आदि का मानिसहरुबाट सफल आरोहण भइराखेको छ, त्यसरी नै विश्वकपको ट्रफी उठाउन अहिलेका दाबेदार टिम नै चाहिन्छ भन्ने देखिन्न।
यसपालीको अझ रोचक पक्ष भनेको फूटबलका महारथीमध्येका इटाली र नेदरल्याण्ड्सले अन्तिम प्रतिस्पर्धामा छनोट हुनै सकेनन्। यसको कारणहरु धेरै होलान, तर पछिल्लो समयमा गुणात्मक प्रविधिको विकास र व्यापक सहकार्यले बढाएको प्रतिष्पर्धा पनि एउटा हो भन्ने यो स्त्मभाकारको ठम्याई हो। पछिल्लो समयमा, प्रबिधिको विकास (मुख्य Artificial Intelligence (AI)) ले ठुलो फड्को मरेको छ र यसको प्रयोग हरेक क्षेत्रमा हुँदै आएको छ। फुटबल खेलमा पनि यसको प्रयोग हुँदै आएको छ। आज प्रविधि यतिसम्म विकसित भैसकेको छ कि, घन्टौं लामा भिडियोहरु क्षणभरमा नै अध्ययन गर्न सकिन्छ। फुटबल खेलमा यस्ता प्रविधिहरु प्रतिष्पर्धी टिमको खेल रणनीति बुझ्न प्रयोग गरिन्छ।
खेलका प्रशिक्षकका आँखाले नदेखेका कुरा यसले पहिल्याउन सक्छ। यसको मतलब यो होइन कि प्रविधि मात्रैले सबै गर्दछ। तर प्रविधि र मान्छेको उचित सहकार्य गर्नाले छोटो समयमा नै नजितामा ठुलो फड्को मार्न सकिन्छ। त्यसैले विश्वकप लामो इतिहास नबोकेका राष्ट्रहरुले पनि छोटो समयमा ठुलो गुणात्मक फड्को मर्न सफल भएका छन् र संसारलाई चकित पर्ने नतिजा निकालेका छन्।
जसरि केहि बर्षअघि ठुला ठुला आविस्कार विकसित रास्ट्रका ठुला विश्वबिद्यालयमा मात्रै सम्भव देखिन्थ्यो। तर आज आएर अन्य विकाससिल राष्ट्रहरुमा पनि सम्भव भएको छ। यसको मुख्य कारणहरुमध्ये प्रविधिको विकासका साथै यसको सहज पहुँच पनि हो। आज घरमा नै बसेर जो कोहिले अध्ययन गर्न चाहेमा विश्वका प्रतिष्ठित विश्वविद्यालयका अध्ययन सामग्रीहरुबाट घरमा नै बसेर अध्ययन गर्न सकिन्छ।
AI का एक महान बैज्ञानिक एन्ड्रु अंग् (Andrew Ng ) भन्नुहुन्छ, ‘AI is the new electricity’। जसरि बिद्युतको आविस्कारसंगै समाज अनि राष्ट्रहरुका विभिन्न आयामहरुमा परिवर्तन आए। यसको अधिकतम प्रयोगबाट विभिन्न देशहरुले गुणात्मक फड्को पनि मारे। त्यसरी नै AI को विकाससंगै हाम्रा हरेक आयामहरु प्रभावित हुनेछन र जसले यसको अधिकतम उपयोग गर्छ, ऊ नै अगाडी हुनेछ। विकसित रास्ट्रहरुमा AI प्रविधिको प्रयोग हुँदै आयको छ र दिनानुदिन प्रयोग बढ्दो छ। भान्छादेखि सुरक्षा, स्वास्थ्य, शिक्षा, बैङ्किङ्ग आदि क्षेत्रमा यसको प्रयोगबाट राम्रो नतिजा पनि हात पार्दै गएका छन्। उदाहरणका लागि, केहि बर्षअघि बोस्टन बम काण्डका अभियुक्त फेला पार्न Face Recognition प्रविधिको प्रयोग भएको थियो।
हाम्रो जस्तो देश जहाँ अझै पनि भेदभावको अन्त्य हुन सकेको छैन र भ्रस्टचार ब्याप्त छ, एआई प्रविधि को प्रयोग गरेर अन्त्य गर्न सकिन्छ। यो प्रविधिले कुनै जात-भात या वर्णका आधारमा मानिस-मानिस विच भेदभाव गर्ने छैन र सबैलाई एकै किसिमको सुविधा प्रदान गर्ने छ। सरकारी कार्यालयहरु जहाँ भ्रष्टचार हुने गर्छ, त्यहाँ यदि एआई बाट काम काज गर्ने (उदाहरणको लागि automatic paying system अथवा automatic doucment verification) हो भने मात्रै ठुलो मात्रमा भ्रष्टचार अन्त्य गर्न सकिन्छ। त्यसै गरि खेलकुदमा विशेष गरि फुटबलमा यदि हामी गुणात्मक फड्को मार्न चाहन्छौ र कुनै दिन नेपाल पनि विश्वकप खेलोस भन्ने चाहन्छौ भने रंगशाला, खेलाडीलाई उचित सुविधा आदि संगै एआइ (AI) संग सहकार्य गर्न पनि जरुरी छ। यसको लागि सम्बन्धित निकायले समयमा नै ध्यान पुरा होस्।
