काठमाडौं : असार ५ गते नेपाल नर्सिङ काउन्सिलले गरेको एउटा निर्णयले धेरैको ध्यान तान्यो। नर्स भन्नासाथ 'स्त्रीलिगीं' मात्र बुझ्न थालेको नेपाली समाजमा पुरुष नर्सको सन्दर्भसहितको उक्त निर्णयप्रति चासो हुनु स्वभाविक पनि थियो। निर्णयमा भनिएको छ - 'यही शैक्षिक शत्रदेखि १५ प्रतिशत पुरुषहरुले पनि नर्सिङ पढ्न पाउनेछन्।'
पाच महिनामात्रै भयो माइतीघर मण्डलामा सेता पोशाकमै नर्सहरुले आन्दोलन गरेको। मुख र पाखुरामा कालो पट्टी लगाएर विभिन्न नारा लेखेका प्ले-कार्ड बोकेर सडकमा उत्रिएका थिए उनीहरु। त्यसो हुनुमा एकमात्र बाध्यता थियो- श्रम शोषण र पारिश्रमिक।
आन्दोलनको नवौँ दिनमा माग पूरा हुने आश्वाशन पाएपछि आन्दोलन सकियो जुन अहिलेसम्म पूरा भएको छैन। र, फेरि अर्को आन्दोलन सुरु भइसकेको छ।
नर्सिङ पूरा गर्न पाँचदेखि दश लाख रुपैयाँसम्म पढाइ खर्च लाग्छ। तर, कतै पारिश्रमिक पाँच हजार त कतै बिना पारिश्रमिक काममा जोताउनेहरु छन्। नर्सिङ काउन्सिलको निर्णय त्यतिखेर आएको छ जतिखेर नर्सहरु न्यूनतम पारिश्रमिकका लागि लडिरहेका छन्। यस्तो अवस्थामा उठ्ने प्रश्न हो - 'के केटाहरु नर्स बन्न तयार होलान् त?'
खस्कदो पारिश्रमिक, घट्दो क्रेज र बड्दो बेरोजगार दरले महिलाकै नर्सिङ पेशाप्रति आकर्षण घट्दो छ। यो अवस्थामा पुरुषहरुले नर्सिङ पढ्लान त भन्ने प्रश्न आउनु स्वाभाविक हो। किनकि, नर्सिङ पढ्नेहरु नै सडकमै आएर बारम्बार भनिरहेका छन्, '१० लाख खर्च गरेर पढ्यो। भोलिन्टियर काम गर्यो। ५ हजारको जागिर। न सम्मान, न सुरक्षा। धेरैजसो त बेरोजगार नै।'
आवश्यक भएर हो अवसर खोलेको
पुरुष नर्स आवश्यक रहेकाले नै पढ्न पाउने नियम लागू गरेको बताउँछिन् नर्सिङ काउन्सिल संघकी अध्यक्ष गोमादेवी निरौला। उनका अनुसार अस्पतालमा 'डिमाण्ड' र पढ्न चाहनेहरुको सङ्ख्या उस्तै छ। नर्सिङ कलेजहरुले र सिटिइभिटीले भर्ना लियो भने यसपालीबाट नै पढाइ सुरु हुन्छ। भन्छिन्, 'पढ्न इच्छा राख्नेहरु पनि छन् र पुरुष नर्सको आवश्यकता पनि। किनकि, पुरुषहरुले धेरै जसो समस्या महिला नर्सलाई भन्न सक्दैनन्।'
यी त भए आवश्यकताका कुरा। अब एकछिन तथ्यांक हेरौं।
सन् २०११ को जनगणना अनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ। विश्व स्वास्थ्य संगठन भन्छ, ‘हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समेत गरेर २३ जना चाहिन्छ।’
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १० हजार जनसंख्याका लागि १४ जना मात्रै स्वास्थ्यकर्मी रहेका छन्। अर्थात्, नेपालमा पर्याप्त स्वास्थ्यकर्मी छैनन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएको छैन। भएका जनशक्ति पनि बेरोजगार।
अहिले १.३५ का दरले नेपालको जनसंख्या वृद्धिदर भइरहेको छ। यसैलाई आधार मान्ने हो भने सन् २०३० मा नेपालको जनसंख्या ३ करोड ५५ लाख पुग्नेछ। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई मान्ने हो भने थप ७० हजार नर्सहरु आवश्यक पर्छन्।
तर, अहिलेको उत्पादनलाई आधार मान्ने हो भने सन् २०२३ मै नर्सिङ जनशक्ति ८२ हजार २ सय ७४ पुग्ने देखिन्छ। अबको ५ वर्षपछि नर्सहरुको बेरोजगार दर बढ्ने तथ्याकंले स्ष्पष्ट देखाउँछ।
देशभर ८ हजार ३ सय १४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। अहिलेको जनसङ्ख्यालाई आधार मान्दा ६८ हजार ४ सय ९० जना नर्सको आवश्यकता देखिन्छ। नेपाल नर्सिङ काउन्सिलको तथ्यांक भन्छ, ‘७४ हजार ८ सय ४० नर्सिङ जनशक्तिमा ५० हजार भन्दा बढी नर्सहरु बेरोजगार छन्।’
यो तथ्यांकले स्पष्ट पार्छ, स्वास्थ्य संस्थाहरुले आवश्यक पर्ने जति नर्सिङ जनशक्ति राखेको देखिँदैन। तथ्यांलाई नै आधार मान्ने हो भने ७ हजार ७ सय ४० नर्स वर्षेनी बाहिर निस्किन्छन्। यही अनुपातमा सन् २०३१ सम्ममा १ लाख ६७ हजार ७ सय नर्सहरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यही तथ्यांकले पनि भविष्यमा नर्सहरुको बेरोजगार दर भयानक रुपमा बढ्ने देखिएको छ।
तर, स्वास्थ्य संस्था र मापदण्ड अनुसार स्वास्थ्यकर्मी राख्ने पद्धति बस्यो भने यस्तो नहुन पनि सक्छ।
पुरुषहरु नर्स बन्न होलान त तयार?
वार्षिक रुपमा नर्स उत्पादन हुने कुल तथ्यांकलाई आधार मान्दा ११ सय भन्दा बढी पुरुष नर्सहरु उत्पादन हुने देखिन्छ। अहिले बेरोजगार रहेका कुल तथ्यांकमा उनीहरुको सङ्ख्या पनि मिसिन्छ, व्यवस्थापन गर्न नसक्ने हो भने।त्यसैले पुरुषहरुले नर्सिङ पढ्ने जोखिम नमोल्न पनि सक्छन्। किनकि, पुरुष नर्सिङ नेपालमा असफल प्रयोग हो। नेपालमा २०५० सालअघि पुरुष नर्स उत्पादन भएका थिए। चार ब्याचपछि त्यो कार्यक्रम नै रोकियो। त्यो बेला पुरुषहरुलाई १० प्रतिशत कोटा छुट्याइएको थियो।
तर, अहिले पहिलेको भन्दा अवस्था फरक छ। देशमा बेरोजगार दर बढे पनि विदेश जानकै लागि नर्सिङ पढ्नेको जमात ठूलो छ। अस्पतालमा रोजगारी र उचित पारिश्रमिक नपाइए पनि नर्सिङ पढाउने कलेजहरु बढ्दै गएको छ। त्यसैले विदेशकै लागि भए पनि पुरुष नर्सिङको दोस्रो प्रयोग सफल नहोला भन्न सकिन्न।