PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

आज अर्को ४ खेल, धेरैको चासो : मेस्सीको अर्जेन्टिना थामिएला या अगाडि बढ्ला?



पहिलोपोस्ट

आज अर्को ४ खेल, धेरैको चासो : मेस्सीको अर्जेन्टिना थामिएला या अगाडि बढ्ला?

रसिया विश्वकप अन्तर्गत आज समूह चरणका ४ खेल हुँदैछन्। दुई पटकको विश्वविजेता तथा सुपरस्टार लियोनल मेसीको टिमको विश्वकप यात्रा कहाँसम्म पुग्ने हो त्यसको फैसला समेत आजै हुँदैछ।

रसिया विश्वकपमा अगाडि बढ्न अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध खेल जित्नैपर्नेछ।

आज राति ७:४५ बजे समूह सी का दुई तथा राति ११:४५ बजे समूह डी का दुई खेल हुँदैछन्।

समूह सी अन्तर्गत फ्रान्स र डेनमार्क तथा पेरु र अष्ट्रेलिया भिड्दैछन्। यसअघि लगातार दुई खेल जितेर फ्रान्सले अन्तिम १६ मा स्थान बनाइसकेको छ भने एक जित र एक बराबरीबाट डेनमार्कको ४ अंक छ। डेनमार्कले अन्तिम १६ मा स्थान बनाउन फ्रान्ससँग बराबरी खेले पुग्छ। बराबरी वा जितले फ्रान्स समूह विजेता हुनेछ भने डेनमार्कले जिते समूह विजेता बन्नेछ।

यस्तै एक अंकमात्र रहेको अष्ट्रेलियाले अन्तिम १६ मा स्थान बनाउन पेरुलाई जित्नै पर्नेछ भने फ्रान्सले डेनमार्कलाई पनि ठुलो अन्तरमा हराउनुपर्नेछ।

दुई खेल हारेको पेरु अंकविहीन छ र यसअघि नै बाहिरिसकेको छ।

यसैगरी समूह डी अन्तर्गत राति अर्जेन्टिना र नाइजेरिया तथा क्रोएसिया र आइसल्याण्ड भिड्नेछन्। क्रोएसियाले यसअघि नै लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान बनाइसकेको छ र सम्भावित समूह विजेता समेत रहेको छ।

बाँकी तीन टिम दोस्रो चरण पुग्ने होडमा छन्। एक जित र एक हारबाट ३ अंक रहेको नाइजेरिया समूहमा दोस्रो तथा समान १ अंक रहेको आइसल्याण्ड तेस्रो र अर्जेन्टिना चौथोमा छन्।

सुरुको दुई खेलमा आफू अनुकुल नतिजा निकाल्न नसकेको र्अर्नेटिनाले नाइजेरियालाई हराउनु पर्नेछ भने आइसल्याण्ड पनि क्रोसियासँग हार्नु पर्नेछ। नाइजेरियाले बराबरी खेले पनि अन्तिम १६ मा पुग्नेछ।

यसअघिको चार विश्वकप भेटमा अर्जेन्टिना नाइजेरियासँग अपराजित छ। चार वर्षअघि ब्राजिलमा मेसीको दुई गोल मद्दतमा अर्जेन्टिनाले नाइजेरियालाई समूह चरणमा ३-२ ले पराजित गरेको थियो। उक्त खेलमा २ गोल गरेका अहेमेद मुसा अहिले पनि नाइजेरियाली टिममा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell