
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) बैकर्स अनिल केशरी शाहलाई एन्फाको कर्पोरेट सल्लाहकारमा नियुक्त गरेको छ। मंगलवार बसेको एन्फा कार्यसमितिको बैठकले नबिल बैंकका सिईओ शाहलाई उक्त पदमा नियुक्त गरेको प्रवक्ता किरण राईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा एन्फा मुख्यालय सातदोवाटोमा बसेको बैठकले आगामी असोज १३ गतेदेखि गर्ने तय भको शहिद समारक ए डिभिजन लिग लगायत विभिन्न ८ बुँदे एजेण्डामा छलफल गर्दै निर्णय गरेको हो।
असोज १३ गतेदेखि ए डिभिजनका १४ टिमहरु सम्मलित लिग गर्ने र लिगमा सहभागि नहुने ए डिभिजन टोली सिधै घटुवा हुने निर्य गरेको छ। ए डिभिजन लिग काठमाडौंका विभिन्न स्थानमा सिंगल राउण्ड रोविन लिग सिस्टमअनुसार हुनेछ। तर कहाँ-कहाँ खेल हुने भन्ने खुलाइएको छैन।
यस्तै लिगका लागि लिग तयारी समितिले थप अध्ययन र तयार गरी आगामी ४५ दिनभित्र खेल तालिका र तयारी नियमावली तयार गरी अर्को बैठकमा पेश गर्ने जनाइएको छ। कार्यसमितिको अर्को बैठकअघि राष्ट्रिय लिगको संरचना समेत निर्धारण गरी पेश गर्ने निर्णय गरेको छ।
यस्तै २०७५ मा नेपालले सहभागिता जनाउने १० अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिका लागि टिम तयारी र प्रशिक्षक संघले गर्ने र आवश्यक बजेट निकासा गर्ने जनाएको छ।
फिफा फरवार्डअन्तर्गत थप ४ नयाँ कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा संघले फिफाको सहयोगमा सञ्चालन गर्नका लागि ३ कार्यक्रमको प्रस्ताव पेश गरिसकेको जनाएको छ।
यसैगरी एन्फाले आर्थिक नियमावली, कर्मचारी नियमावलीको मस्यौदा बनाएर विशेष साधारण सभामा पेश गर्ने लगायत विविध निर्णय गरेको छ।