PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

समूह ई प्रिभ्यू : ब्राजिल भर्सेस सर्बिया, स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका



पहिलोपोस्ट

समूह ई प्रिभ्यू : ब्राजिल भर्सेस सर्बिया, स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका

रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणमा ४ खेल हुँदैछन्। जसमध्ये ५ पटकको विश्वविजेता ब्राजिल रहेको समूह ई को दुई खेल पनि राती ११:४५ बजे हुनेछ।

यस समूहबाट अन्तिम १६ मा पुग्ने दुई टिमको टुङ्गो लाग्न बाँकी रहेकोले आजको दुवै खेल उत्तिकै महत्वपूर्ण छ।

लगातार दुई खेल हारेको कोस्टारिका मात्र समूह चरणबाट बाहिरिएको छ। बाँकी ३ टिम अन्तिम १६ मा पुगेन होडमा छन्। तर कोस्टारिका र स्वीट्जरल्याण्डबीचको खेल पनि नतिजाको लागि निर्णायक हुन सक्छ।

दुई खेलपछि ब्राजिल र स्वीट्जरल्याण्डको समान ४ अंक छ। यी दुईले पहिलो खेलमा बराबरी खेलेका थिए भने ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई हराउँदा स्वीसले पुनरागमन गर्दै सर्बियालाई पराजित गरेको थियो।

पहिलो खेलमा कोस्टारिकालाई पराजित गरेको सर्बियाको ३ अंक छ।

सन् २००२ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्यका साथ रसिया पुगेको ब्राजिलले सर्बियासँग बराबरी नतिजा निकालेमा पनि अन्तिम १६ मा स्थान पक्का गर्नेछ।

यदी ब्राजिल र स्वीट्जरल्याण्ड दुवैले जितेमा दुवैको ७ अंक हुनेछ र गोलअन्तरमा समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ।

सर्बियाले भने अन्तिम १६ मा स्थान बनाउन ब्राजिललाई हराउनैपर्नेछ। यदी ब्राजिलसँग बराबरीमा रोकिएमा कोस्टारिकाले ठूलो अन्तरमा स्वीट्जरल्याण्डलाई पराजित गरे सर्बियाको सम्भावना रहन्छ।

स्वीट्जर्ल्याण्डले पनि कोस्टारिका विरुद्ध बराबरी नतिजा निकाले अन्तिम १६ मा पुग्नेछ।   

सर्बिया स्वतन्त्र भएपछि ब्राजिलसँग खेल्ने लागेको पहिलो विश्वकप हो। सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको थियो।

सर्बिया युगोस्लोभियामा रहँदा ब्राजिलसँग ४ पटक विश्वकपमा खेलेको थियो। जसमा दुवैले १-१ खेल जितेका थिए भने २ खेल बराबरी भएको थियो। यस्तै सन् १९३० को पहिलो विश्वकपमै युगोस्लाभियाले ब्राजिललाई पराजित गरेको थियो।

 

उता स्वीट्जल्याण्ड र कोस्टारिका एकआपसमा खेल्न लागेको यो समग्रमा तेस्रो तथा ठुलो प्रतियोगितामा पहिलो हो।

यसअघिको भेटमा दुवैले एक-एक खेल जितेका थिए। सन् २००६ मा स्वीट्जरल्याण्ड विजयी हुँदै २०१० मा कोस्टारिका विजयी भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell