PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सेनाले सम्हालेको 'ड्रिम प्रोजेक्ट', वर्षायाममा पनि फास्ट ट्रयाकको काम नरोकिने



दिनेश खड्का

सेनाले सम्हालेको 'ड्रिम प्रोजेक्ट', वर्षायाममा पनि फास्ट ट्रयाकको काम नरोकिने

काठमाडौँः काठमाडौँ तरार्इ-मधेस 'एक्सप्रेस वे' आयोजनाको काम समयमै सम्पन्न गर्न नेपाली सेनाले वर्षामा पनि कामलाई निरन्तरता दिने भएको छ। आयोजनाको काम निर्धारित चार वर्षभित्रै पूरा गर्नुपर्ने भएकाले कामलाई निरन्तरता दिइने सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले जानकारी दिए।

सेनाले अहिले विभिन्न १० स्थानमा शिविर बनाएर आयोजनाको काम अगाडि बढाइरहेको छ। मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा स्थायी र अन्य पाँच ठाउँमा अस्थायी शिविर खडा गरेर काम गरिरहेको भण्डारीले जानकारी दिए।

सडकको रेखाङ्कन गरिरहेको ठाउँमा माटो कटान गर्ने, बाहिरबाट ल्याएर पुर्ने तथा सम्याउने, परीक्षण गर्ने जस्ता कामहरू भइरहेको नेपाली सेनाले जनाएको छ। झण्डै १२ किलोमिटर खण्डमा पर्ने रुख कटान गरेर त्यसको व्यवस्थापन गरिसकेको भण्डारीले बताए।

ललितपुरको खोकनाबाट सुरु भर्इ बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जोडिने आयोजनाको ट्रयाक पनि यसअघि सेनाले नै खनेको हो।

 

के के गर्दैछ सेना?

 अहिले नेपाली सेनाले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बिना नै काम गरिरहेको छ। एसियाली विकास बैंक (एडिबी)ले तयार पारेको संभाव्यता अध्ययन प्रतिवेदनका आधारमा काम गरिरहेको सेनाले जनाएको छ।

नेपाली सेनाले भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआर अधुरो र महंङ्गो भन्दै नकिन्ने निर्णय गरिसकेको छ। त्यसपछि आफैँले डिपिआर बनाउने भन्दै सेनाले ग्लोबल टेण्डर आह्वान गरेको थियो।

सेनाले गरेको टेण्डरमा १७ कम्पनीले आवेदन दिएका थिए। तिनीहरुको मूल्याङ्कन गरेर ६ वटा कम्पनीलार्इ छनोट सूचीमा राखिएको छ। स्विजरल्याण्ड, चीनको दुर्इवटा, भारत र जापानका कम्पनीहरु छनोट भएका छन्।

सेनाले ती कम्पनीबाट आर्थिक तथा प्राविधिक प्रतिवेदन माग गर्नेछ। त्यसका लागि ४५ दिनको समय दिइनेछ। कम्पनीले पेस गरेको विवरण विश्लेषण गरेर उत्कृष्ट कम्पनीलार्इ छनोट गरिने नेपानी सेनाले जनाएको छ। छनोट हुने कम्पनीले करिब ६ महिनामा डिपिआर तयार पारेर सेनालार्इ दिनेछ।

त्यसै गरी एक्सप्रेस वेमा ९९ वटा पुलहरू बन्नेछन्। जसमध्ये मकवानपुरको ठिगनमा बन्ने टनेलभन्दा पारि ६२ वटा पुलका लागि सेनाले टेण्डर आह्वान गरिसकेको छ। सो टेण्डरमा १५ वटा कम्पनीले आवेदन दिएका छन्। उक्त कम्पनीहरूको प्री क्वालिफिकेसन स्टडी भइरहेको सेनाले जनाएको छ।

एडिबीले सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरेको बाहेक अर्को पनि टनेल थप्नुपर्ने आवश्यकता सेनाले औँल्याएको छ। अहिले तीनवटा सुरुङमार्ग बनाउने कि भन्ने विषयमा छलफल भइरहेको भण्डारीले जानकारी दिए। यद्यपि अन्तिम निर्णय भने भइसकेको छैन।

टनेल बनाउन सके एक्सप्रेस वेको दुरीसमेत छोटिनेछ। चार वर्षभित्र सम्पन्न गर्नेगरि नेपाल सरकारले अघिल्लो वर्ष वैशाखमा आयोजनाको जिम्मा सेनालाई दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell