PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ब्राजिल त मेरो ब्वायफ्रेण्ड नै हो, अरुतिर आँखा नि लाउन्न : बेनिशा हमाल 

ब्राजिल त मेरो ब्वायफ्रेण्ड नै हो, अरुतिर आँखा नि लाउन्न : बेनिशा हमाल 

रीना मोक्तान/पहिलोपोस्ट


समूह चरण अन्तर्गत आज तेस्रो खेलमा भिड्दैछ ब्राजिल। दुई खेलमा एक जित र एक बराबर रिजल्ट निकालेको छ ब्राजिलले। समूह चरणमा ब्राजिलको पहिलो जितपछि अभिनेत्री बेनिशा हमाललाई चितवनबाट आमाको फोन आयो। दिदीको पनि। कुरो दुवैको एकै थियो- ल बधाई छ। उनीहरुसँग रहेका बुबाले पनि थपे – अब अर्को राउन्डमा गयो। 

अभिनेत्री हमाल विश्वकपमा ब्राजिलको समर्थक। २००२ देखि नै ब्राजिलको सपोर्ट गर्दै आएकी उनी आफ्नो बाबुकै लहलहैमा समर्थक बनेकी हुन्। 

ब्राजिलका दुई खेल हेरेर उनको चित्त भने बुझेको छैन। ‘पहिलेजस्तो देखिएको छैन,’ उनले समीक्षा नै भ्याइन्। 

‘कोस्टारिकासँगको खेल ब्राजिलले कस्तो खेल्ला भन्ने चिन्ता थियो। नेयमारको खुट्टा अझै निको भइनसकेको अवस्था,’ समूह चरणको खेलबारे उनले सुनाइन्, ‘ब्राजिलको ट्रेनिङकै बीच सेसनबाट नेयमार बाहिर निस्केका थिए।‘

उनलाई तनाव थियो – नेयमार मैदानमा आउँछन् कि आउँदैनन् भन्नेमा। उनको तनाव घट्यो मैदानमा उनी उत्रिए। ‘फिलिप काउटिन्होले एक गोल गरेपछि त नेयमारले जादु नै गरे,' उनले सुनाइन्, ‘९० मिनेटसम्म मुटु नै बाहिर नै निस्केला जस्तो भएको थियो। नेयमारको गोल, बोनस गोल नै भयो।'

डाइ हार्ट फ्यान बेनिसाले ब्राजिल ‘ब्वायफ्रेण्ड’ नै रहेको बताउन भ्याइन्। भनिन् 'ब्राजिल भनेको कस्तो कि ब्वायफ्रेण्ड जस्तो के। ब्राजिल भएसी अरुलाई हेर्न हुँदैन। अरुलाई हेरे भने म भाँडिन सक्छु भन्ने लाग्छ।' 

नेयमार, थिएगो सिल्भा र फिलिप काउटिन्हो उनलाई मनपर्ने खेलाडी हुन्। 

विश्वकपमा सहभागी ३२ टिम नै बलियो रहेको उनको बुझाइ छ। योग्य भएकाले नै ती टिमहरु विश्वकपमा छनौट भएर आएको उनको तर्क छ। चार वर्षमा सबैले आफ्नो टिमलाई बलियो बनाउन यी सबै देशका टिमले मेहनत गरेको उनलाई थाहा छ। 

बेनिशा ब्राजिल फाइनलमा पुग्नेमा विश्वस्त छिन्। 'फाइनलमा पुग्छ ब्राजिल। म चाहिँ लगाम लगाएको घोडा जस्तै हो। ब्राजिल बाहेक दायाँ बाँया हेर्दिन,' उनले भनिन्।
 
पछिल्लो विश्वकप उनलाई झलझल याद आइरहन्नछ। ब्राजिलले जर्मनीबाट ७ गोलको हार सहनु परेको थियो, त्यतिखेर। ७ र १ को पीडाले अहिलेसम्म पनि घोच्छ उनलाई। 'जर्मनी भन्ने बित्तिकै ७ गोल भन्ने लाग्छ,' आँखा ठूलो पार्दै भनिन्। 

‘त्यतिखेर नेयमार घाइते भएको र शिल्भाले खेल्न नपाउँदा ७ गोलको हार सामा‍ना गर्नुपरेको उनको बुझाइ छ। त्यतिखेर डिफेन्डिङ खेल भन्दा पनि अट्याकिङ खेल खेलेको याद छ उनलाई।

बेनिशाको घरमा फुटबलका फ्यान नै फ्यान। बुबा र उनी ब्राजिल समर्थक। भाइ जर्मनी र आमा अर्जन्टिना।

परिवारसँग खेल हेर्दाको रमाइलो प्रसंग जोडिन् उनले, 'भाइ ल्यापटपमा खेल हेर्छ। खेलाडीले गोल गरेको भाइले ३ मिनेट पछि मात्र थाह पाउँछ। कुनै खेलाडीले गोल गर्‍यो भने, म चिच्याउँछु ‘…गोल’। त्यसको  ३ मिनेटपछि भाइ चिच्याउँछ।‘

गत वर्ष जर्मनीले विश्वकप जित्दा उनका भाइले कुनै रियाक्ट गरेनन्। ‘मेरो अवस्था देखेर त्यति रियाक्ट गरेन,’ बेनिशा बोलिन्, 'यस्तो समयमा थाहा हुन्छ, हामीलाई खेल भन्दा पनि परिवारको भावनाको कति महत्व हुन्छ।'

उनलाई विश्वकप पर्व जस्तै लाग्छ। 'जुलाई १५ बाट त सकिन्छ विश्वकप। आफ्नो टिमलाई सपोर्ट गर्ने हो,’ स्पोर्टस् कल्चर प्रवर्द्धन् हुनु ठीक लाग्छ उनलाई। तर, प्रतिस्पर्धी टिमसँग नकरात्मक प्रस्तुत हुनु चाहि गलत ठान्छिन्।' 

सामाजिक संजालमा उनलाई उडानेहरु कम छैनन्। यतिसम्म कि मलाई कतिले नेयमारको बाहेक अरु खेलाडीको नाम थाह छ भन्ने किसिमको प्रश्न गर्छन्,’ उनले सुनाइन्, ‘हो म क्लबको खेल हेर्दिन। तर, मलाई नेयमार कुन क्लबाट खेल्दै छ भन्ने थाह त छ।‘ 

सञ्जालको जन्जाल नै यस्तो छ कि नकारात्मक टिप्पणी यत्रतत्र मिल्छ। कतिले भन्छन् - केटी मान्छे भएर फूटबल हेर्ने? आफ्नो देशलाई सपोर्ट नगर्ने? उनलाई थाहा छैन किन हुन्छ त्यस्ता कमेन्ट।  

८ कक्षा पढ्दै गर्दा उनी पनि फुटबल खेल्थिन्। आमाको हुर्काइ भारतमा भएकाले आमाबाट क्रिकेटको प्रभाव र बुबाबाट फुटबलको प्रभाव परेको छ उनमा। घरमुलीले जुन टिम सपोर्ट गर्‍यो सन्तानले पनि त्यसैलाई फलो गर्ने उनको बुझाइ छ। 

'सानोछँदा रोबर्टो कार्लोस्, रोनाल्डो, रोनाल्डिनो मनपर्थ्यो। रोनाल्डिनोले त्यतिखेर गरेको फ्री किक, आज पनि काँडा उम्रिन्छ,' उनले सुनाइन्।

उनले घरमा भर्खरै रंगिन टिभी भित्रिँदादेखि नै विश्वकप हेर्न थालेकी हुन्। त्यस समयदेखि ब्राजिललाई समर्थन जारी छ।

उनी यतिसम्म डाइ हार्ट छिन् कि केहीगरी ब्राजिलले हार्‍यो भने विश्कपको फाइनल नै नहेर्ने भन्छिन्। 'ब्राजिल हार्‍यो भने मेरा लागि विश्वकप नै सिधिन्छ। म विश्वकप नै हेर्दिन, रेकर्ड नै छैन,' उनले भनिन्।

बेनिशासँग २००६ मा किनेको जर्सी अहिले पनि छ। कहिलेकाहीँ कपडा मिलाई रहँदा ब्राजिलको जर्सी हातमा पाउँदा आफ्नोपन अनुभूति हुन्छ उनलाई।


ट्रेन्डिङ पोस्ट

Ncell