काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले सुन प्रकरणमा केही उच्च निकायका व्यक्तिहरु पक्राउ गरेको जानकारी गराएका छन्।
बुधवार व्यवास्थापिका संसदको बजेट माथिको छलफलमा गृहमन्त्री थापाले उच्चतहका व्यक्ति अनुसन्धानको दायरामा आएको बताएका हुन्।
त्यस्तै मन्त्री थापाले सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको समय नसकिएकाले थप उच्च तहका व्यक्तिहरु अनुसन्धानको घेरामा आउने बताए। गृहमन्त्री थापाले भने, ‘अहिले अनुसन्धान जारी छ। भविष्यमा उच्चतहका पात्रहरु पनि कानुको दायरमा आउन सक्छन्। अनुसन्धान अझै पनि टुङगिएको छैन।'
सुन तस्करीको अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको थियो। प्रधानमन्त्री ओलीले सुन तस्करीमा जो कोही संलग्न भएको देखिए अनुसन्धान गर्नसमेत निर्देशन दिएका थिए।
छलफलमा सांसदले राखेको जिज्ञासामा गृहमन्त्री थापाले त्यस्तै ठुला निर्माण व्यससायीलाई कारबाही भइरहेको जानकारीसमेत दिएका थिए।