काठमाडौँ : पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा अध्यादेश ल्याउन माग गर्दै सभामुखलाई ध्यानाकर्षण गराएका छन्। यसअघि सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गरेको पहिलो ६० दिनभित्र ल्याउन सकेको थिएन। त्यसैले दोस्रो पटक अध्यादेश जारी भएको ६० दिन पुग्न अब केही दिन बाकी रहँदा थापाले ध्यानआकर्षण गराएका हुन।
सभामुखलाई पत्र लेख्दै थापाले चिकित्सा शिक्षा अध्यादेशमा सरकारको तयारीका बारेमा समेत जानकारी माग गरेका छन्। 'विगतका समझदारी, 'सरकारका र प्रतिपद्धता र अध्यादेशको मर्म अनुसार काम भइरहेको छ छैन। ध्यानआकर्ष गराउन चाहन्छु,' पत्रमा भनिएको छ।
चिकित्सा शिक्षा अध्यादेश कात्तिक २४ गते जारी भएको थियो। मूल विधेयक संसद्मा छलफलकै क्रममा संसद्को कार्यकाल सकिएपछि अध्यादेश जारी भएको थियो। मूल विधेयकको केही दफामा दलहरूको फरक मतका कारण विधेयक पारित हुन सकेको थिएन।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले डा. गोविन्द केसीले उठाएका माग अनुसार अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
