
काठमाडौं : डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश सरकारले तोडमोड गरेर प्रस्तुत गरे १५ औं अनशन सुरु गर्ने चेतावनी दिएका छन्। उनको १५ अनशन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाममा हुने समेत बताएका छन्।
सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गरेको पहिलो ६० दिनभित्र ल्याउन सकेको थिएन। त्यसैले दोस्रो पटक अध्यादेश जारी भएको ६० दिन पुग्न अब केही दिन बाँकी रहँदा केसीले यस्तो चेतावनी दिएका हुन्।
निःशुल्क पीजीपछिको सेवा अवधि २ वर्ष कायम गर्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न केसीले माग समेत गरेका छन्। त्यसो नगरिए असार १५ गतेबाट अनशन बस्ने उनले चेतावनी दिएका हुन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौँपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन नसकेकोमा केसीले सरकारलाई ध्यानाकर्षणसमेत गराएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगती सुस्त रहेको उनको गुनासो छ। त्यस्तै पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरू स्थापना गर्ने काम नभएको अनशन बस्ने तयारी गरेका हुन्।