PahiloPost

May 15, 2026 | १ जेठ २०८३

रसुवाको राम्चेमा वर्षासँगै पहिरो, मालवाहक कन्टेनर र जिप बगायो



पहिलोपोस्ट

रसुवाको राम्चेमा वर्षासँगै पहिरो, मालवाहक कन्टेनर र जिप बगायो

नुवाकोटः अविरल वर्षासँगै आएको पहिरोले रसुवामा बुधबार साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ।

पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्ड अन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा वर्षासँगै आएको पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापाले जानकारी दिए।

चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नंको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नंको जिपलाई पहिरोले बगाएको हो।

थापाका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि रोकिएका उक्त दुई गाडी बगाए पनि त्यसमा सवार यात्रु ओर्लिएको समयमा परेकाले सबैजना सुरक्षित रहेका छन्। पहिरोले सडक अबरुद्ध बनाएपछि चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग बन्द भएको छ।

वेत्रावतीबाट सिधै रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड गत चैत ३० देखि सञ्चालनमा आए पनि पहिरो र सुरक्षाको कारण देखाएर यातायात सञ्चालनमा रोक लगाइँदा दुई देश जोड्ने सडक मार्ग ठप्प भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell