PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मुगुका मेस्सीका फ्यानहरु जो विश्वकपको म्याच टिभीमा हेरेर 'अर्को विश्वकप'को तयारीमा जुटिरहेका छन्

मुगुका मेस्सीका फ्यानहरु जो विश्वकपको म्याच टिभीमा हेरेर 'अर्को विश्वकप'को तयारीमा जुटिरहेका छन्

उमेश श्रेष्ठ/पहिलोपोस्ट


मुगुको ताल्चा विमानस्थल नजिकैको एउटा घरको भूइँतल्लामा रहेको कोठाको भित्तामा टाँगिएको घडीले बुधबार मध्यरातको ठीक १२ बजेको संकेत गरिरहँदा कोलाहल मच्चियो।

गो…ल SSSS !!!

कोठाको दायाँ छेउको माथिल्लो कुनामा १४ इञ्चको  नामै नसुनिएको एम सिरिज ब्रान्डको पुरानो टिभीमा अडिएका थिए सबैका आँखा जहाँ रसियाको सेन्ट पिटर्सवर्ग मैदानमा भएको दृश्य लाइभ आइरहेको थियो।  

समूह चरणका दुई खेल जित्न नसकेको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने लक्षण देखिएको थियो। नाइजेरियाविरुद्ध जित्नै पर्ने म्याचको १४ औँ मिनेटमा लियोनेल मेस्सीले गोल गरेपछि कोठाभरी रहेका मुगुकी किशोरीहरु चिच्याए, ताली ठोके,  मेस्सी-मेस्सीको नारा लगाए, झण्डै दुई मिनेटसम्म।

मानव विकास सूचकांकमा सबैभन्दा पुछारमा रहेको यो जिल्लाका विभिन्न गाउँबाट छानिएका यी १७ जना किशोरीहरु मेस्सीले व्यवसायिक फुटबल खेल्ने देश स्पेनको सान सेबास्टियनमा आइतबारदेखि हुन लागेको 'अर्को विश्वकप' को तयारीमा जुट्दै छन्। 

३४ देशका टिमको सहभागिता रहने डोनोस्टी कपको १४ वर्ष मुनिका किशोरीहरुको प्रतियोगितामा सहभागी हुन उनीहरु शुक्रबार स्पेनका लागि उड्नु पर्नेछ। यसका लागि विभिन्न गाउँबाट पैदल हिँडेर सोमबार उनीहरु सदरमुकाम गमगढी आइपुगेका थिए। त्यहाँबाट बस चढी कच्ची बाटो हुँदै ताल्चा विमानस्थलमा उक्लिए। 

तर हावा चलेको प्राविधिक कारण देखाउँदै ताल्चामा कुनै जहाज आएन। 

विमानस्थलमा जहाज आउला र नेपालगंज झरौँला भन्दै ब्याग बोकेर टिकट काटी बसेका यात्रुहरु निराश हुँदै भन्दै थिए, 'केको हावा चल्नु, हुम्लाको पैसा टिप्न उडेका होलान् नि।'

मुगु, हुम्ला जस्ता विकट जिल्लामा नेपालगंजबाट विभिन्न निजी विमान कम्पनीहरुको उडान हुन्छ। मानसरोवर तीर्थयात्रामा जाने भारतीय पर्यटकहरुलाई लिएर हुम्लामा चार्टर उडान गर्न पाए बढी कमाइने भएकोले उनीहरु जता नाफा उता उड्छन्। यहाँ चर्को सिन्डिकेट छ। निजी एयरलाइन्सहरु ठेकेदारलाई उडान र टिकटको जिम्मा दिन्छन्। तिनै ठेकेदारसित सेटिङ मिलाउन सक्यो भने उड्न पाइन्छ, नत्र हातमा रेटबमोजिमको टिकट काट्दै विमानस्थलमा जहाज कुर्नु र फर्कनुको विकल्प हुन्न।

मंगलबार उड्न नपाएपछि निराश भएका यी किशोरीहरुलाई साँझ ताल्चा विमानस्थलको छेउमै रहेको एउटा खाली मैदानमा फिफाबाट मान्यताप्राप्त प्रशिक्षक भगवती राना मगरले यी किशोरीहरुलाई  'फिजिकल एक्सरसाइज' गराइन् अनि स्पेनमा अपनाउनु पर्ने रणनीतिबारे सिकाइन्। 

राति पौने १२ बजेको विश्वकपको खेल भगवतीको प्रशिक्षणकै अर्को चरण थियो। 

'हेर है, अर्जेन्टिना ४-३-३ मा खेल्दैछ। अनि नाइजेरिया ३-५-२ मा खेल्दैछ', खेल सुरु हुने बित्तिकै भगवतीले भनिन्, 'नाइजेरियाले अस्ति नोभेम्बरमा भएको फ्रेन्डलीमा यही रणनीति अपनाएर खेल्दा १-२ ले पछि परेर पनि ४-२ ले जितेको थियो। ४-३-३ मा गोल स्कोर गर्नमा जोड दिइन्छ।'

मध्यरात हुन लागिसक्दा पनि सबैका आँखा टिभीको स्क्रिनमा अडिएका थिए। नाइजेरियाले अर्जेन्टिनाको पोस्टमा डरलाग्दो आक्रमण गर्दा उनले भनिन्, '४-३-३ भनेको अट्याकका लागि हो। अर्जेन्टिनालाई आजको खेल जित्नै पर्नेछ। नत्र ऊ विश्वकपबाटै बाहिरिन्छ। तर ४-३-३ मा खेल्दा डिफेन्समा कमजोरी हुनसक्छ।'

उता टिभीमा अंग्रेजी भाषाको कमेन्ट्री चल्दै थियो, यता भगवती नेपालीमा प्रशिक्षण दिँदै थिइन्, 'ऊ हेर त्यहाँ,  चार जना कसरी एकै लाइनमा बसिरहेका छन् आफ्नो पोजिसनमा। आफ्नो पोजिसन छाड्नु हुन्न।'

खेलको १४ औँ मिनेटमा मेस्सीले गोल गरे। भगवती अलि निराश थिइन्। किनभने उनको सपोर्ट नाइजेरियालाई थियो। तर मेस्सीको प्रशंसा गर्न चुकिनन्, आफ्नो टिमका स्ट्राइकरहरुलाई उनले निर्देशन दिइन्, 'मेस्सीले खुट्टामा बल परेपछि कसरी चलाउँछ हेर।'

रात ढल्कँदै बिहानतिर लम्कँदै थियो। तर किशोरीहरुको आँखाबाट निद्रा हराएको थियो। अर्जेन्टिनाले आक्रमण गर्दा उनीहरु जोस्सिएर चिच्याउँथे। 

'मुकन मन पर्नी फुटबल टिम अर्जेन्टिना, मेस्सीको हो,'  उनीहरु अधिकांशले यही भन्छन्।

मुगुकी यी किशोरीहरुले नजिकबाट चिनेका दुई खेलाडी छन्, एक मेस्सी अर्की सुनकली जसलाई फिफाले एउटा डकुमेन्ट्रीमा 'हिमालयन मेस्सी' को संज्ञा दिएको थियो। सुनकली उनीहरुको आफ्नै जिल्लाकी चेली। भोजराज भाटद्वारा निर्देशित दर्जनौँ अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल डकुमेन्ट्रीकी नायिका सुनकली यसअघि स्पेन पुगिसकेकी छिन्। सुनकली दिदी जस्तै बन्ने चाहनाले उनीहरुलाई यहाँसम्म डोर्‍याएको हो। 

खेलको ३२ औँ मिनेटमा नाइजेरियाका लियोन बालोगनले यल्लो कार्ड पाउँदा भगवतीले सतर्क गराउँदै भनिन्, 'खेल आयोजकहरुले बनाएको नियम अनुसार यल्लो वा रेडकार्ड पाए जरिवानामा पैसा पनि तिर्नुपर्ने हुनसक्छ है।'

हाफ टाइम भएपछि उनले भनिन्, 'अहिले ४५ मिनेटपछि हाफ टाइम भयो। स्पेनमा तिमीहरुको २५ मिनेटको खेलपछि हाफ टाइम हुन्छ। अहिले खेलाडीहरु आराम गर्न गएका छन् नि, तिमीहरु त्यसरी जान पाउँदैनौँ। चार मिनेट तिमीहरुलाई हाफ टाइममा रेस्ट हुन्छ तर मैदानमै बस्नुपर्छ, बुझ्यौ?'

हाफ टाइमपछिको छैटौँ मिनेटमा नै नाइजेरियाले पेनाल्टी पायो। भगवतीले भनिन्,' जितिरहेको खेलको पासा कसरी पल्टिन सक्छ हेर। पेनाल्टी बक्समा निकै सतर्क हुनपर्छ। त्यहाँ हेर अर्जेन्टिनी खेलाडीले नाइजेरियालाई तानेर लडाएको छ। त्यसैले रेफ्रीले पेनाल्टी दिएको हो।'

भिक्टर मोसेसले पेनाल्टीमा गोल गर्दा कोच र एक दुई खेलाडीको मात्रै 'गोल' भन्ने आवाज सुनियो। मेस्सीको टिमले गोल खाँदा स्तब्ध सबै। चुमचुम गरिरहेका अर्जेन्टिनी सपोर्टर टिम म्यानेजर प्रकाश शाही, डाइरेक्टर भोजराज भाटसहित खेलाडीहरुको मुखबाट त्यसपछि आवाजै निस्केन। 'बोली नै बन्द भयो नि', भगवतीले जिस्क्याइन्। 

प्रकाशले ग्रुपको प्वाइन्टको हिसाब गरे, यही अवस्थामा खेल सकिए अर्जेन्टिना ग्रुपको अन्तिममा रहँदै प्रतियोगिताबाट बाहिरिन्थ्यो। 

अधिकांश किशोरीहरु निराश थिए। मेस्सीको टिम हारको संघारमा पुगेको थियो। समय सकिँदै थियो। निर्धारित समय सकिनलाई ४ मिनेट बाँकी छँदा मर्काडोले दायाँ छेउबाट दिएको पासमा मार्कोस रोजोले बललाई सीधै जाली जुमाइदिएपछि फेरि ताल्चा थर्किने गरी ताली बज्यो, किशोरीहरु खुशीले चिच्याए। 

मेस्सीको टिम दोस्रो चरणमा पुगेको हेर्ने मुगुकी किशोरीहरुको इच्छा पूरा भयो। तर स्पेनमा मुगुको नाम राख्ने उनीहरुको मिसन पूरा हुन बाँकी छ। भोलिपल्ट बुधबार पानी परेर हुस्सु लागेका कारण मौसम खराब भयो। 

तारा, सीता र गोमाका कुनै पनि जहाज ताल्चा आएनन्। चार्टर गरेपछि गोमाले हुम्ला टच गरेर ताल्चा आउने वाचा गर्‍यो। समस्या के भने टिम म्यानेजर, प्रशिक्षक र सहयोगीहरुसहित २३ जना त्यहाँबाट नेपालगंज जानुपर्ने, एउटा जहाजमा नअट्ने। दुई वटामा जाने भए। १३ जना खेलाडी एउटा जहाजमा र ४ जना अर्को जहाजमा जाने भए। तर बोर्डिङ पास लिएर सेक्युरिटी चेकसमेत गरिसकेपछि टावरबाट सन्देश आयो- तारा र सीताका फ्लाइट क्यान्सिल भए। गोमा हुम्लाबाट आउँदै गर्दा इन्डिकेटरमा समस्या देखिएपछि नेपालगंज नै फर्कियो। 

शुक्रबार स्पेन जानुपर्ने, बुधबारसम्म ताल्चामै अलपत्र। धन्न सामान्यतया हावा चलेको भन्दै १२/१ बजेपछि जहाज नआउने भए पनि ताल्चामा दिउँसो ३ बजे भए पनि गोमाको जहाज आइपुग्यो। १३ खेलाडी नेपालगंज हुँदै राति काठमाडौँ पुगे। तर चार खेलाडी, प्रशिक्षक र दुई अफिसियल गरी ६ जनाको बुधबार पनि ताल्चामै बास भयो।

'हामी त अझै यहीँ छौँ,' भगवतीले बिहीबार मध्याह्न यी शब्द टाइप गर्दासम्म कुनै पनि जहाज ताल्चामा ल्यान्ड नभएको जानकारी गराइन्।

'अब त गाडीबाट जान पनि नभ्याइने भयो। हेरौँ जहाज आउँछ भनेका छन्', टिम म्यानेजर प्रकाश शाहीले भने। गाडीको बाटो जोखिमपूर्ण भएको र बीचमै बिग्रिए झन् अलपत्र पर्ने भएकोले पनि उनीहरुले गाडी यात्रा रोजेका थिएनन्। 

काठमाडौँ आउने क्रममा विमानको झ्यालबाट हेर्दै एक किशोरी।


विमान हल्लिएपछि डराएर सिट समात्दै मुगुकी किशोरी खेलाडी।

स्पेनमा आइतबारदेखि हुने प्रतियोगिताको उद्घाटन समारोहमा मुगुको टिमलाई राष्ट्रिय झण्डा र परम्परागत पोशाकसहित मार्चपास गर्न छनोट गरिएको छ। त्यहाँ म्याड्रिड र बास्कका तीन टिमको समूहमा परेको मुगुकी किशोरीहरुको टिमले कृत्रिम घाँसे मैदानमा गर्नुपर्ने संघर्ष त छँदैछ, विकट जिल्लामा रहेका कारण स्पेन पुग्नमात्रै पनि संघर्ष गरिरहनु परेको छ।   

 


ट्रेन्डिङ पोस्ट

Ncell