PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

अन्तिम खेल हारेपनि जापान कसरी पुग्यो अन्तिम १६ मा? फेयर प्लेमा पनि बराबरी अंक भएको भए के हुन्थ्यो?



पहिलोपोस्ट

अन्तिम खेल हारेपनि जापान कसरी पुग्यो अन्तिम १६ मा? फेयर प्लेमा पनि बराबरी अंक भएको भए के हुन्थ्यो?

रसिया विश्वकप अन्तर्गत समूह एचको अन्तिम दुई खेल्नुअघि अफ्रिन राष्ट्र सेनेगल र एसियन राष्ट्र जापान समूहमा अपराजित थिए।

यी दुईले आ-आफ्नो पहिलो खेल जितेका थिए भने दोस्रो खेलमा एकआपसमा बराबरी खेलेका थिए। समूहमै रहेको युरोपियन राष्ट्र पोल्याण्ड सुरुको दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको थियो भने दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले २ खेलपछि ३ अंक जोडेको थियो।

अन्तिम दुई खेल थियो जापान भर्सेस पोल्याण्ड र कोलम्बिया भर्सेस सेनेगल। अन्तिम खेलअघि जापान र सेनेगलको समान ४ अंक थियो। यतिखेर दुवैले समान गोल गरेका थिए भने समान गोल बेहोरेका थिए। गोलअन्तर पनि समान भएपछि फिफाको नियमावली अनुसार फेयर प्ले अंकका जापान अगाडि थियो।

अन्तिम खेलमा जापान र सेनेगलले आ-आफ्नो खेल बराबरी खेले पनि अन्तिम १६ मा पुग्ने थियो। यस्तो भएमा अफ्रिका र एसियाबाट एक-एक टिम रसिया विश्वकपको दोस्रो चरणमा पुग्ने थियो।

तर नतिजा त्यस्तो भएन। अन्तिम खेलमा जापान र सेनेगल दुवै हार्‍यो। जापानलाई समूह चरणबाटै बाहिरिसकेको पोल्याण्डले १-० ले हरायो भने सेनेगल पनि कोलम्बियासँग १-० कै अन्तरमा पराजित भयो।

एकै समय दुई खेल भइरहेका कारण जापान, सेनेगल र कोलम्बियाका समर्थक आफ्नो टिमलाई समर्थन गर्दै थिए भने अर्को खेलको नतिजा पनि कुर्दै थिए।

तर ५९ औँ मिनेटमा पोल्याण्डले गोल गर्दै अग्रता बनाउँदा कोलम्बिया र सेनेगलबीचको खेल गोलरहित बराबरीमा चलिरहेको थियो। यदि सोही नतिजा अन्तिम भएको भए जापान आउट हुने थियो। जापानको लागि कोलम्बियाले सेनेगल विरुद्ध गोल गरिदियो। ७४औँ मिनेटमा कोलम्बियाका येरी मिनाले गोल हानेपछि जापान भाग्यमानी बनेको हो।

दुवै खेल १-० मा सकिएपछि ३ खेलबाट ६ अङ्क जोड्दै कोलम्बिया समूह विजेता बन्दै अन्तिम १६ मा पुग्यो। जापान र सेनेगलको समान ४ अंक भयो। दुवैले समान ४ गोल गर्‍यो भने समान ४ गोल खायो। गोल अन्तर पनि समान भएपछि पहेँलो कार्ड र रातो कार्ड खाएको आधारमा फेयर प्ले मार्फत दुई टिमबीचको स्थान निर्धारण भएको हो।

अन्तिम खेलमा दुवै टोलीले एक-एक पहेँलाे कार्ड खाएका थिए। समग्रमा जापानले ४ तथा सेनेगलले ६ पहेँलो कार्ड पाएको थियो।

फेयर प्ले अन्तर्गत जापानको -४ अंक तथा सेनेगलको -६ अंक छ। यही फेयर प्ले अंकका आधारमा जापान रसिया विश्वकप पुग्ने एक मात्र एसियन टिम बन्यो। उता सेनेगल बाहिरिएपछि अफ्रिकन चुनौति भने समूह चरणबाटै समाप्त भएको छ।

यदि पहेँलो कार्ड, रातो कार्ड पनि समान पाएको र फेयर प्लेमा समान अंक भएको भए चाहिँ के हुन्थ्यो त? फिफाले विश्वकप २०१८ का लागि बनाएको नियमावली अनुसार आयोजक कमिटीले गोलप्रथा गरी अन्तिम १६ मा जाने टिमको टुङ्गो लगाउँथ्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell