
रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकपमा समूह चरणका सबै खेलहरु समाप्त भइसकेका छन्। कूल ४८ खेल भइसकेपछि उपाधि होडमा रहेको ३२ टिम घटेर १६ पुगेको छ।
समूह चरणमा जित मात्र नभई बराबरी र हारको नतिजाले पनि अघिल्लो चरण प्रवेशको समिकरण बदल्ने भए पनि प्रिक्वाटरफाइनलदेखि भने नकआउट चरण लागु हुनेछ। जहाँबाट जित्ने टिम उपाधि होडमा अगाडि बढ्दै जानेछ भने हार्ने टिम घर पर्कनेछ।
रसियामा विश्वकप खेल्न गएका ३२ मध्ये १६ टिमको चुनौती समूह चरणबाटै सकिएको छ र घर फर्किँदैछन्। बाँकी १६ टिम समूह चरण पार गर्दै उपाधि होडमा लम्किरहेका छन्।
साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै आउट हुनु यस विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा बन्यो। मेक्सिको, स्वीडेन, दक्षिण काेरिया रहेको समूहमा जर्मनी दुई खेल हार्दै समूहको पूछारमा रहँदै घर फर्कियो। यस्तै युरोपको अर्को राम्रो टिम भनिएको पोल्याण्ड पनि समूह चरणबाट अगाडि बढ्न सकेन।
सर्वाधिक ५ पटकको विजेता ब्राजिल, २ पटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल जित्दै अन्तिम १६ मा स्थान बनाए भने आयोजक रसियासहित उरुग्वे, फ्रान्स, इंग्ल्याण्ड र बेल्जियमले समूह चरणको एक खेल अघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको थियो।
सन् १९९४ बाट रसियाको नाममा खेल्न थालेपछि आयोजक रसियाले पहिलो पटक समूह चरण पार गरेको हो।
अब शनिवारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन्। प्रिक्वाटरफाइनलमा सबैभन्दा प्रतीक्षा गरिएको खेल दुई पूर्व च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच हुनेछ। नाइजेरियासँगको अन्तिम खेलमा बराबरी वा हारको नतिजाले अर्जेन्टिना समूह चरणबाटै बाहिरिने थियो तर जित हासिल गर्दै समूह डीको उपविजेता बन्दै समूह सी को विजेता फ्रान्ससँग भेट पक्का गरेको हो। यस्तै दुई पटकको विजेता उरुग्वे र पोर्चुगलबीचको खेल पनि हेर्न लायक हुनेछ। यी दुई खेलको विजेता क्वाटरफाइनलमै एकआपसमा भिड्नेछन्। सेमिफाइनलमा ब्राजिल र बेल्जियममध्ये एक सम्भावित अपोनेन्ट हुनेछ। ब्राजिलले प्रिक्वाटरमा मेक्सिकोसँग खेल्नेछ भने बेल्जियमले जापानसँग खेल्नेछ। यी सबै खेल एउटा पोलमा हुनेछ।
चार पूर्व विजेता रहेको यस पोलबाट एक मात्र टिम फाइनल पुग्नेछ।
अर्को पोलमा दुई पूर्व विजेता छन्, स्पेन र इंग्ल्याण्ड। स्पेनले प्रिक्वाटरमा आयोजक रसियासँग खेल्नेछ। यस्तै क्रोएसियाले डेनमार्क, स्वीडेनले स्वीट्जरल्याण्ड तथा इंग्ल्याण्डले कोलम्बियासँग खल्नेछ। यो पोलबाट एक टिम फाइनल पुग्नेछ। पूर्व विजेता स्पेन र इंग्ल्याण्डलाई यस पोलबाट उपाधिको दाबेदारको रुपमा हेरिएको छ। यस्तै समूह चरण राम्रो प्रदर्शन गरेको क्रोएसिया पनि अगाडिसम्म पुग्न सक्ने टोलीको रुपमा लिइएको छ।
प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टिम पुगेका छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक-एक टिम छन्।
डिफेण्डिङ च्याम्पियन जर्मनीसहित यी १६ राष्ट्र, जो समूह चरणबाटै घर फर्के तर पाउँदैछन् ८० लाख डलर
अन्तिम १६ मा पुग्ने टिमहरु
समूह ए : उरुग्वे, रसिया
समूह बी : स्पेन, पोर्चुगल
समूह सी : फ्रान्स, डेनमार्क
समूह डी : क्रोएसिया, अर्जेन्टिना
समूह ई ब्राजिल, स्वीट्जरल्याण्ड
समूह एफ : स्वीडेन, मेक्सिको
समूह जी : बेल्जियम, इंगल्याण्ड
समूह एच : कोलम्बिया, जापान
प्रि-क्वाटरफाइनल समिकरण
उरुग्वे भर्से पोर्चुगल स्पेन भर्सेस रसिया
फ्रान्स भर्सेस अर्जेन्टिना क्रोएसिया भर्सेस डेनमार्क
ब्राजिल भर्सेस मेक्सिको स्वीडेन भर्सेस स्वीटजरल्याण्ड
बेल्जियम भर्सेस जापान कोलम्बिया भर्सेस इंग्ल्याण्ड
रसिया विश्वकपको अबको खेल तालिका
प्रिक्वाटरफाइनल खेलहरु
असार १६ : समूह सी विजेता (फ्रान्स) भर्सेस समूह डी उपविजेता (अर्जेन्टिना) - ७:४५ बजे
असार १६ : समूह ए विजेता (उरुग्वे) भर्सेस समूह बी उपविजेता (पोर्चुगल) - ११:४५ बजे
असार १७ : समूह बी विजेता (स्पेन) भर्सेस समूह ए उपविजेता (रसिया) - ७:४५ बजे
असार १७ : समूह डी विजेता (क्रोसिया) भर्सेस समूह सी उपविजेता (डेनमार्क) - ११:४५ बजे
असार १८ : समूह ई विजेता (ब्राजिल) भर्सेस समूह एफ उपविजेता (मेक्सिको) - ७:४५ बजे
असार १८ : समूह जि विजेता (बेल्जियम) भर्सेस समूह एच उपविजेता (जापान) - ११:४५ बजे
असार १९ : समूह एफ विजेता (स्वीडेन) भर्सेस समूह ई उपविजेता (स्वीट्जरल्याण्ड) - ७:४५ बजे
असार १९ : समूह एच विजेता (कोलम्बिया) भर्सेस समूह जी उपविजेता (इंगल्याण्ड)- ११:४५ बजे
क्वाटरफाइनल
असार २२ गते : प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता - ७:४५ बजे
असार २२ गते : प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता - ११:४५ बजे
असार २३ गते : प्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता - ७:४५ बजे
असार २३ गते : प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता - ११:४५ बजे
सेमिफाइनल
असार २६ गते : क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता - ११:४५ बजे
असार २७ गते : क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता - ११:४५ बजे
असार ३० गते, तेस्रो स्थान
सेमिफाइनलमा पराजित दुई टोली - ७:४५ बजे
असार ३१ गते, फाइनल
सेमिफाइनलमा विजेता दुई टोली - ८:४५ बजे