PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

प्रतिनिधिसभाबाट आज बजेट पारित हुँदै



पहिलोपोस्ट

प्रतिनिधिसभाबाट आज बजेट पारित हुँदै

काठमाडौँ आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयक आज प्रतिनिधिसभाबाट पारित हुँदैछ। बजेटका अन्य आश्रित विधेयक बाँकी रहे पनि विनियोजन विधेयक शुक्रबार पारित गर्न लागिएको हो। संघीय संसद् सचिवालयले विधेयक पारितको सम्भावित कार्यसूची बिहीबार प्रकाशित गरिसकेको छ। शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। 

विधेयक पारितअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय र मातहतका निकायको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। प्रधानमन्त्रीको अनुपस्थित भएका तोकिएका मन्त्रीले समेत जवाफ दिन सक्ने परम्परा छ। बिहीबार मन्त्री जवाफका लागि संसद् पुगे पनि जवाफको कार्यसूची तय भएको थिएन।

यस्तै, विधेयक पारितअघि २१ सांसद्हरुले दर्ता गराएका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेस हुनेछन्। प्रस्तावको छिनोफानो ध्वनिमतका आधारमा हुनेछ। 

प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पेस हुनेछ। असार मसान्तसम्म दुबै सदनबाट विनियोजन विधेयक पारित भइसक्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell