PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

भिएआरको असर : विश्वकपमा पेनाल्टी नै पेनाल्टी 



पहिलोपोस्ट

भिएआरको असर : विश्वकपमा पेनाल्टी नै पेनाल्टी 

१९३० मा भएको पहिलो विश्वकपयता हालसम्म १ सय ८२ पेनाल्टी दिइसकिएको छ। त्यसमध्ये ३५ पेनाल्टी असफल भएका छन्।  
रसिया विश्वकपको नक-आउट चरण सुरु हुँनै लाग्दा हालसम्म २४ पेनाल्टी प्रदान गरिसकिएको छ। २४ मध्ये १८ पेनाल्टी सफल भए भने ६ पेनाल्टी गोल हुनबाट चुके। 

३२ टोली सहभागी भएपछि भएका ६ विश्वकपमध्ये सबैभन्दा बढी पेनाल्टी दिने रेकर्ड पनि रसियामा बनेको छ। र, यो सङ्ख्या नक-आउट चरणमा बढ्ने निश्चित छ। यसभन्दा पहिले सबैभन्दा बढी १८ पेनाल्टी २००२ विश्वकपमा दिइएको थियो। १९९० र १९९८ मा भएको विश्वकपमा पनि १८ पेनाल्टी नै दिइएको थियो। २०१४ मा भने १३ पेनाल्टीका निर्णय भएको थियो।  

यस पटक पानामा विरुद्धको खेलमा त इंग्ल्याण्डले दुर्इ पटक पेनाल्टी पायो। इंग्ल्याण्डका ह्यारी केनले दुवै पेनाल्टीलार्इ गोलमा परिणत गराए पनि। 

रोनाल्डोले स्पेनविरुद्ध २०१८ विश्वकप कै पहिलो पेनाल्टीमा गोल गरेका थिए। तर, इरानविरुद्ध पाएको पेनाल्टी इरानका गोलकिपरले रोकेका थिए। अर्जेन्टिनाका लियोनल मेसीले पनि आइसल्यान्डविरुद्ध पाएको पेनाल्टीलार्इ गोलमा परिणत गर्न सकेनन्। 

यसपटकको विश्वकपमा सबैभन्दा पेनाल्टी प्रदान गरिनुमा भिएआरले मुख्य भूमिका निर्वाह गरेको छ। २४ मध्ये आधा निर्णयहरुमा भिएआरको सहायता लिइएको छ। 

फुटबलमा सही निर्णयसम्म पुग्नका लागि भिडियो प्रविधिको प्रयोग गरिनुलार्इ नै भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) भनिन्छ। रसियामा जारी विश्वकपका खेलहरुमा मैदानमा रहेका रेफ्रीले मस्कोमा रहने भिएआर रेफ्रीहरुसँग धेरै पटक सल्लाह गरेको देखिन्छ। खेलको समयमा भिएआरले रसिया विश्वकपमा सबैको ध्यान तानेको छ। 

भिएआरको धेरै प्रयोग पेनाल्टी सम्बन्धी निर्णयका लागि गरिएको छ। एक पेनाल्टीले खेलको पूरा समिकरण बदल्नसक्ने अवस्थ सिर्जना हुनजान्छ। त्यसैले पनि पेनाल्टी एरियाभित्र हुने सानोभन्दा सानो घटनाका लागि खेलाडीहरु रेफ्रीलार्इ दबाब दिने गर्छन्। मैदानमा रहेका रेफ्रीले पनि पेनाल्टी सम्बन्धी निर्णयमा केही शंका लागेमा भिएआरको सहायता लिने गरेका छन्। 

इरान र पोर्चुगलको खेलमा दुर्इ पेनाल्टी दिइएको थियो। दुवै पेनाल्टीका लागि मैदानमा रहेका रेफ्रीले भिएआरको प्रयोग गरेका थिए।

जुन २५ मा भएको साउदी र इजिप्टको खेलमा पनि दुर्इ पेनाल्टी दिइएको थियो। त्यसमध्ये एक पेनाल्टीका लागि भिएआरको प्रयोग गरिएको थिए। 

बेल्जियम र ट्युनिसियाबीचको खेलमा एडन हाजार्डलार्इ दिइएको पेनाल्टीका लागि पनि भिएआरको सहायता लिइएको थियो।

डेनमार्कका युसफ पउलसेनको ह्याण्ड बलका कारण अस्ट्रेलियालार्इ पेनाल्टी दिने निर्णयमा रेफ्री पुगे। उक्त निर्णयका लागि पनि भिएआरको प्रयोग गरियो जसमा पउलसेनले बल नियन्त्रण गर्नका लागि हातको प्रयोग गरिएको प्रस्ट देखिएको थियो। 

स्विडेन र दक्षिण कोरियाको खेलमा कोरियाका किम मिन उले स्विडेनका भिक्टर क्लाइसनलार्इ पेनाल्टी एरियामा फल गरेका थिए। रेफ्रीले उक्त घटनामा पेनाल्टी दिएका थिएनन्। तर, भिएआरले रेफ्रीलार्इ उक्त घटनाका विषयमा जानकारी दियो र रिभ्यु गरेपछि स्विडेनलार्इ पेनाल्टी दिइयो। 

भिएआरबाट पेनाल्टीका निर्णयहरु रद्ध पनि गरिएका छन्। ब्राजिल र कोस्टारिकाको खेलमा नेमारविरुद्ध फल गरेको आधारमा ब्राजिललार्इ पेनाल्टी दिइएको थियो। तर, पछि भिएआरको सहायतामा उक्त पेनाल्टीको निर्णय फिर्ता लिइएको थियो। 

सेनेगल र कोलम्बियाको खेलमा पनि सदियो मानेविरुद्ध पनि फल गरिएकोले रेफ्रीले पेनाल्टी दिएका थिए। तर, पछि भिएआरको माध्यमबाट रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेका थिए। 

नाइजेरिया र अर्जेन्टिना अन्तिम १६ मा पुग्न भिडिरहँदा मार्कोज रोजोले बललार्इ हातको प्रयोग गरेको भन्दै नाइजेरियाले पेनाल्टीको माग गरे। रेफ्रीले भिएआरसँग परामर्श गरी त्यो माग खारेज गरिदिए। 

भिएआरको प्रयोगले खेललार्इ केही हदसम्म पारदर्शी बनाए पनि अझै त्यसले दिने निर्णय माथि प्रश्न उठिरहेका छन्। भिएआरले केही घटना भएको प्रस्ट देख्ने र त्यसलार्इ रिभ्यु गर्न सक्ने भए पनि कतिपय खेलहरुमा त्यो देखिएन। 

इरानी प्रशिक्षक कार्लोस क्वइरोज त फिफा र भिएआरमाथि नै आक्रोशित भएका थिए। क्वइरोजले रोनाल्डोले फल गर्दा गर्दै पनि उनलार्इ मैदानबाट बाहिर नपठाउन निर्देशन आएको हुनसक्ने आशंका व्यक्त गरेका थिए। कार्लोस क्वइरोजका अनुसार पोर्चुगलले पेनाल्टी एरियामा दोस्रो हाफमा भएका घटनाहरुका लागि पनि एउटा पेनाल्टी पाउनुपर्ने बताएका थिए। यस्तै ब्राजिलियन फुटबल फेडरेसनले ब्राजिल र स्विटजरल्याण्डबीच भएका खेलमा भिएआरको प्रयोगका बारेका फिफासँग आधिकारिक धारणा मागेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell