PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्लेअर्स टु वाच : कोस्टा vs ग्लोभिन, मोडरिक vs एरिक्सन



पहिलोपोस्ट

प्लेअर्स टु वाच : कोस्टा vs ग्लोभिन, मोडरिक vs एरिक्सन

रसिया विश्वकपमा आज नकआउट राउण्डअन्तर्गत प्रिक्वाटरफाइनलका दुई खेल हुँदैछन्। युरोपका ४ टोली क्वाटरफाइनलमा स्थान बनाउन आज मैदानमा उत्रदैँछन्।

बेलुकी ७:४५ बजे समूह बी को विजेता स्पेन र समूह ए को उपविजेता रसिया बीच खेल हुनेछ। यस्तै राती ११:४५ मा समूह सी को विजेता क्रोएसियाविरुद्ध समूह डी को उपविजेता डेनमार्क मैदानमा उत्रदैछन्।

यी खेलमा केही प्रभावशाली खेलाडीमाथि सबैको नजर रहनेछ।

 

डिएगो कोस्टा, स्पेन

२०१० मा भएको विश्वकप विजेता स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने राम्रो फर्ममा रहेको स्पेनलार्इ उपाधी दाबेदबारकै रुपमा हेरिएको छ। तर मोरोक्कोसँग समूहको अन्तिम खेलमा २-२ को बराबरी खेले पछि स्पेनमाथि घरेलु टोलीलार्इ पराजित गर्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

२९ वर्षीय डिएगो कोस्टाले पोर्चुगलसँगको खेलमा दुर्इ गोल गरी स्पेनिस टोलीलार्इ पराजयबाट बचाएका थिए। यस्तै इरानविरुद्धको खेलमा पनि कोस्टाले ५४औँ मिनेटमा निर्णायक गोल गरी स्पेनलार्इ विजयी बनाएका थिए। मोरोक्कोसँगको बराबरी पछि अन्तिम १६ मा पुगेको स्पेनका लागि डिएगो कोस्टा जस्ता प्रभावशाली खेलाडीको प्रदर्शनले आजको खेलमा धेरै महत्व राख्दछ।

कोस्टाले स्पेनका लागि २३ खेलमा १० गोल गरेका छन्। एट्लेटिको मड्रिडबाट स्ट्राइकरका रुपमा उनले प्रभावशाली खेल प्रदर्शन गरेका छन्। चेल्सी, एट्लेटिको मड्रिड लगायतका क्लबबाट खेल्दै उनले १७१ गोल गरेका छन्।

 

एलेकज्यान्डर ग्लोभिन, रसिया

समूहमा उत्कृष्ट मानिएको उरुग्वेसँग घरेलु टोली ३-० ले पराजित भएपछि स्पेनसँगको भिडन्तमा रसियाले धेरै नै परिश्रम गर्नुपर्ने देखिएको छ।

विश्वकप आयोजक रसियाले पहिलो खेलमा साउदी अरेबिया विरुद्ध ५-० को जित हासिल गरी घरेलु रवाफ देखाएको थियो। आज घरेलु मैदान र समर्थकको साथमा रसियाको मनोबल पक्कै पनि उच्च रहनेछ।

साइबेरियन डायमण्ड भनेर चिनिने २२ वर्षिय एलेकज्यान्डर ग्लोभिन रसियन फुटबल टोलीका प्रभावशाली युवा खेलाडी हुन्।

उनले रसियाबाट २१ खेल खेल्दै ३ गोल गरिसकेका छन्। २०१५ मा क्ल्ब फुटबलबाट फुटबल करियर सुरु गरेका ग्लोभिन सिएसकेए मस्कोबाट व्यवसाहिक फुटबल खेल्दै आएका छन्। उरुग्वे विरुद्ध समूहको अन्तिम खेल नखेलेका उनले स्पेन विरुद्ध खेल्ने सम्भावना छ।

२०१५ मा बेलारुसविरुद्ध उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। रसिया २०१३ मा युरोपियन यू-१७ च्याम्पियन बन्दा ग्लोभिन सो टोलीमा थिए।

ग्लोभिनले रसिया विश्वकपको पहिलो खेलमा साउदी अरेबियाविरुद्धको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए। ग्लोभिनले उक्त खेलमा दुर्इ एस्सिटसहित खेलको अन्तिम समयमा निर्णायक गोल गरी रसियालार्इ ५-० ले विजय बनाएका थिए। पूर्व विजेतासँगको खेलमा जित पाउन युवा खेलाडी ग्लोभिन लगायतका खेलाडीमाथि दबाब रहनेछ।

 

लुका मोडरिक, क्रोएसिया

अर्जेन्टिनालार्इ ३-० पराजित गर्दै क्रोएसियाले विश्वकपमा सशक्त दाबेदारी प्रस्तुत गरेको थियो। आजको खेलमा क्रोएसियाली फुटबल टोलीका कप्तान लुका मोडरिकलार्इ क्वाटरफाइनलमा पुग्न डेनमार्कलार्इ पराजित गर्नुपर्ने चुनौती रहनेछ।

रसिया विश्वकपमा नाइजेरिया विरुद्धको आफ्नो पहिलो खेलमा लुका मोडरिकले ७१ मिनेटमा गोल गरी क्रोएसियालार्इ २-० ले विजयी बनाएका थिए। यस्तै अर्जेन्टिनासँगको खेलमा पनि उनले ८०-औँ मिनेटमा गोल गरी आफ्नो टोलीलार्इ अन्तिम १६ मा पुर्‍याएका थिए। उनले क्रोएसियाका लागि १०८ खेलमा १३ गोल पुरा गरेका छन्।

३२ वर्षिय मोडरिक रियल मड्रिडबाट मिडफिल्डरका रुपमा व्यवसाहिक फुटबल खेल्दै आएका छन्। विभिन्न क्ल्बबाट फुटबल खेल्दै ७४ गोल गरिसकेका लुका मोडरिकलार्इ विश्वकै उत्कृष्ट मिडफिल्डरका रुपमा लिने गरिन्छ।

 

क्रिस्टियन एरिक्सेन, डेनमार्क

फ्रान्सलार्इ गोलविहिन बराबरीमा रोक्दै समूह चरणको अन्तिम खेलमा डेनमार्कले अप्रत्याशित नतिजा ल्यायो। आज अन्डरडग टोलीका रुपमा उपाधी दाबेदार मानिएको क्रोएसियाविरुद्ध पनि डेनमार्कले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

डेनमार्कका प्रख्यात खेलाडी माइकल लाउडरुप जस्ता प्रभावशाली खेलाडीसँग तुलना गर्ने गरिने क्रिस्टियन एरिक्सेनमाथि क्रोएसियाविरुद्ध खेलमा सबैको नजर रहेछ। एरिक्सेनले अस्ट्रेलिया विरुद्धको पहिलो खेलमा गोल गरेका थिए। २६ वर्षिय एरिक्सेन ले डेनमार्कका लागि ८० खेलमा २३ गोल गरेका छन्।

क्रिस्टियन एरिक्सेन प्रिमियर लिग क्ल्ब टोटनह्याम ह्टस्परका एट्याकिङ् मिड्फिल्डर हुन्। फ्रान्स जस्तो बलियो टोलीलार्इ कडा टक्कर दिएको क्रिस्टियन एरिक्सेन लगायत डेनिस टोली  दबाबबिच अर्को बलियो टोली क्रोएसियासँग जितका लागि मैदानमा संघर्षमा उत्रनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell