PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

फ्रान्सले विश्वकप जितेकै वर्ष जन्मेका एमबाप्पे विश्व फुटबलका नयाँ स्टार

फ्रान्सले विश्वकप जितेकै वर्ष जन्मेका एमबाप्पे विश्व फुटबलका नयाँ स्टार

पहिलोपोस्ट /पहिलोपोस्ट


अर्जेन्टिनालाई रसिया विश्वकपको प्रिक्वाटरफाइनलबाटै घर फर्काउने क्रममा २ गोल गरेका फ्रान्सका किलिएन एमबाप्पे अहिले हटकेक बनेका छन्।

अन्तिम १६ अन्तर्गत पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गर्दा उनै १९ वर्षीय युवा स्टारले दुई गोल गरे। खेल २-२ को बराबरीमा चलिरहेको बेला पिएसजीका खेलाडीले ६४औँ र ६८औँ मिनेटमा लगातार दुई गोल गर्दै फ्रान्सलाई जित नजिक पुर्‍याउने काम गरेका थिए।

समूह चरणमा पेरु विरुद्ध पनि गोल गरेका एमबाप्पे उक्त दुई गोलपछि रसिया विश्वकपमा गोल्डेन बुटको रेसमा समेत अगाडी बढेका छन्। सर्वाधिक गोलकर्ताको सूचीमा उनी स्पेनका डिएगो कोस्टा, उरुग्वेका एडिनसन कभानी र रसियाका डेनिस चेरिसेभसँगै संयुक्त रुपमा चौथो स्थानमा छन्।

इंग्ल्यान्ड ह्यारी केनले सर्वाधिक ५ गोल गरिसकेका छन्। बेल्जियमका रोमेलु लुकाकुले ४ गोल गरेका छन् र जापानविरुद्ध प्रिक्वाटरफाइनल खेल्न बाँकी छ। यस्तै ४ गोल गरेका रोनाल्डोको पोर्चुगल भने आउट भइसकेको छ।

अब फ्रान्सले क्वाटरफाइनलमा कभानी र लुइस सुआरेज रहेको उरुग्वेसँग खेल्नेछ। ४ खेल खेल्दा नै एमबाप्पे हिट बनिसके। उनले २ गोल गरेर अर्जेन्टिनाविरुद्ध जित मात्र दिलाएनन् किङ अफ फुटबल पेलेको कीर्तिमान नै बराबरी गरिदिए र त्यो ६० वर्षपछि भएको हो। एमबापेले नकआउट स्टेजमा दुई गोल गर्ने टिनएज खेलाडीको कीर्तिमान बराबरी गरे।

यी युवा स्टारले के कीर्तिमान बनाएका थिए ३ पटक विश्वकप जित्ने एक मात्र खेलाडी रहेका फुटबल लेजेन्ड पेलेलेसमेत ट्वीटमार्फत एमबापेलाई बधाई दिँदै अझै राम्रो खेल्न शुभकामना दिएका छन्।
 

युवा खेलाडीहरुको बाहुल्य रहेको फ्रेन्च टिममा यी युवा खेलाडी अहिले अरु भन्दा चर्चित छन्। फ्रेन्च लिग वानमा पिएसजीबाट व्यावसायी फुटबल खेल्ने यी १९ वर्षीय ठिटो गोल गर्न मात्र चलाख छैनन् निकै मनकारी समेत छन्।

उनले भनेको एउटा भनाईले अहिले सबैको ध्यान तानेको छ।

उनले आफ्नो इन्टरनेसनल म्याचको सबै फि-१७ हजार पाउण्ड र त्यसबाहेक पाउने बोनस रकम अपांगता भएका बच्चाहरुलाई खेलकुद सुविधाको दिन च्यारिटीलाई दिन्छन्।

उनले राष्ट्रिय टिमका लागि फुटबल खेल्दा खेलाडीले पैसा लिनु गल्ती भएको भन्दै यस्तो काम गरेको बताएका छन्। यदी फ्रान्सले बाँकी सबै खेल खेल्दै उपाधि जिते म्याच फि बापत २ लाख ६५ हजार पाउण्ड पाउनेछन्। त्यो रकम पनि यी टिनएज सेन्सेसनले प्रिमिएर डे कोर्डिस एशोसिएसनलाई हस्तानतरण गर्नेछन्।

पिएसजीबाटै खेल्ने सहकर्मी नेमारपछि विश्वकै दोस्रो महँगा खेलाडी एमबापेलाई क्लबले १६२ मिलियन पाउण्डमा लोनमा मोनाकोबाट अनुबन्ध गरेको हो र क्लबमै पर्मानेन्ट रुपमा राख्न पाउने सुविधा समेत रहेको छ।

एमबापेको फ्रान्सेली टिमसँग पनि अनौठो संयोग जोडिएको छ। सन् १९९८ मा घरेलु भूमिमै भएको १६औँ संस्करणको विश्वकप फ्रान्सले जित्दा एमबापे सोही वर्ष जन्मेका थिए। फ्रान्सले फाइनलमा ब्राजिललाई ३-० ले हराउदै पहिलो पटक विश्वकप जितेको थियो र त्यसमा जिदानले २ गोल गरेका थिए। फ्रान्सले १२ जुलाई १९९८ मा स्टेट डे फ्रान्समा विश्वकपको ट्रफी उचालेको थियो। त्यही वर्ष डिसेम्वरमा एमबापे जन्मिएका हुन्।

'म अझै युवा छु, फ्रान्सले विश्वकप जितेकै वर्ष म जन्मिएँ। र त्यो नै हामीले जितेको एकमात्र विश्वकप हो तर यो पटक हाम्रो क्षमता देखाउने अवसर छ।' एमबापेले भने। 'सम्भवत आफूलाई देखाउने यहाँभन्दा राम्रो ठाउँ छैन, सबै टप प्लेअरहरु यहीँ छन् र यो एकदमै ठूलो स्टेज हो।'

अर्जेन्टिना विरुद्धको खेलपछि फ्रान्सका २७ वर्षीय फरवार्ड एन्टोनी ग्रीजमनले पनि एमबापेको प्रशंसा गरेका छन्।

'यही किलिएन हो हामीले देख्न चाहेको।' उनले पेनाल्टी दिलाएर खेलमा फरक पारे र त्यसपछि दुई गोल गरे। निश्चय नै उनले हाम्रो लागि धेरै राम्रो गरे। जब हामीसँग कठिन अवस्था आउँछ, उनी त्यहाँ हुन्छन्।'

सन् २०१७ मा फ्रान्सका लागि डेब्यु गरेका एमबापेले राष्ट्रिय टिमका लागि १९ खेलमा ७ गोल गरिसकेका छन्।

प्रिमियर लिगका पूर्व प्रशिक्षक आर्सेन वेंगरले एमबापेलाई ह्युज फुटबल ट्यालेन्ट भन्दै थिय र अनरीसँग समानता भएको बताएका थिए। यस्तै फ्रान्सकै पूर्व फरवार्ड निकोलस एनेल्काले एमबापेले आफूलाई १९९६ को ओलम्पिको रोनाल्डोको याद दिलाउने बताएका छन्।

अर्जेन्टिना विरुद्धको जित हात पारेपछि आइभरीकोष्टका लेजेण्ड डिड्रिए ड्रोग्वाले एमबापे कम्प्लिट स्ट्राइकर भएको प्रतिक्रिया दिए। 'उनीसँग सबै चिज छ। १९ वर्षमै उनी एउटा पूर्ण स्ट्राइकर बनिसकेका छन्।' चेल्सीका पूर्व खेलाडी समेत रहेका ड्रोग्वाले बीबीसीसँग भने। 'हामीले खेलअघि मेसी र एमबापेको बारेमा कुरा गरेका थियौँ र एक खेलाडीले राम्रो गरे। १९ वर्षको उमेर, र त्यसक खालको प्रदर्शन गर्नु जहाँ मेसी अर्को छउमा छन् एकदमै उल्लेखनिय हो।'

यसैगरी फ्रान्सकै सहकर्मी तथा ४ वर्षअघिका उत्कृष्ट युवा खेलाडी पउल पोग्बाले पनि एमबापे आफूभन्दा राम्रो खेलाडी भएको प्रतिक्रिया दिएका छन्।

यस पटक एमबापे गोल्डेन बुटसँगै बेस्ट योङ प्लेअरको होडमा समेत अगाडी छन्।

१३ वर्षको उमेरमा एमबापेले पोर्चुगलका रोनाल्डोको पोस्टहरु आफ्नो बेडरुमभरी टाँसेका फोटो अहिले भाइरल भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell