PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सन्दीप लामिछानेसहित ८ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार, दिपेश सर्वोत्कृष्ठ



पहिलोपोस्ट

सन्दीप लामिछानेसहित ८ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार, दिपेश सर्वोत्कृष्ठ

काठमाडौं : शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले आइतबार क्रिकेटर सन्दीप लामिछानेसहित आठ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार प्रदान गरेको छ।

शहीद दशरथ चन्दको ११६औँ जन्मजयन्तिका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको दशरथ रङ्गशालाको प्राङ्गणमा शहीद चन्दको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा सन्दीपसहित क्षेत्रगत रुपमा पाँच र पाराबाट दुई खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो।

शहीद दशरथ चन्द मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष कर्णबहादुर चन्दले २०७४ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको बताइएको छ।

सन्दीपलाई विशिष्ट मेधावी खेलाडीबाट पुरस्कृत गरिएको हो। हाल ग्लोबल टी-२० क्यानाडा २०१८ खेल्न क्यानाडामा रहेकोले सन्दीप कार्यक्रममा उपस्थिति हुन सकेनन्। यसैगरी पूर्वाञ्चलबाट ब्याड्मिन्टनकी जेसिका गुरुङ, पश्चिमाञ्चलबाट क्रिकेटका करण केसी, मध्यमाञ्चलबाट शारिरीक सुगठनकी ननिता महर्जन, मध्यपश्चिमाञ्चलबाट ह्यान्डबलकी कल्पना ओली र सुदूरपश्चिमाञ्चलबाट ब्याड्मिन्टनका दिपेश धामी पुरस्कृत भए।

यसैगरी पारामा ह्विलचेयर क्रिकेटका हिमाल अर्याल र पारा तेक्वान्दोकी रञ्जना धामीलाई पनि पुरस्कृत गरियो। ट्रष्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएको छ।

सम्मानित खेलाडीमध्ये पनि दीपेशलाई सर्वश्रेष्ठ खेलाडी घोषित गरियो। उनलाई सम्मानपत्रका साथ १५ हजार १ रुपियाँले प्रदान गरियो। अन्य खेलाडीलाई जनही १० हजार १ रुपियाँ प्रदान गरियो। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उत्कृष्ट घोषित खेलाडीहरुलाई पुरस्कृत गरे।

मन्त्री विश्वकर्माले खेलकुदको माध्यमद्वारा राष्ट्रको इज्जत र प्रतिष्ठा राख्ने मेधावी खेलाडीहरुलाई हरेक वर्ष दिइने उत्कृष्ट खेलाडी पुरस्कार शहिद दशरथ चन्दप्रतिको ठूलो सम्मान भएको धारणा व्यक्त गरे।

यसैगरी शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलाई नगदसहित उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार प्रदान गरेको छ। शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले यसपालिदेखि उत्कृष्ट लेख-रचनाको मूल्याङ्कन गरेर उत्कृष्ट पत्रकारिता पुरस्कारको थालनी गरेको हो। यसको पुरस्कार राशि ५ हजार १ रुपियाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell