PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रिभ्यू : ब्राजिल vs मेक्सिको, काउटिन्हो vs लोजानो



पहिलोपोस्ट

प्रिभ्यू : ब्राजिल vs मेक्सिको, काउटिन्हो vs लोजानो

रसिया विश्वकप अन्तर्गत आज प्रिक्वाटरफाइनलका दुई खेल हुँदैछन्। बेलुकी ७:४५ बजे हुने खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले मेक्सिकोसँग खेल्नेछ।

यसअघि ४ वटा प्रिक्वाटरफाइनल खेल भइसक्दा दुई विश्वविजेता आउट भइसकेका छन्। साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले पनि ब्राजिलले अब उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ। तर नेमार, गाब्रीएल जेसस, फिलिप काउटिन्हो रहेको टोलीलाई उत्तिकै दबाब पनि छ मेक्सिको विरुद्ध जित हात पार्न। मेक्सिको त्यही टोली हो जसले पहिलो खेलमै विश्वविजेता जर्मनीलाई १-० स्तब्ध पारेको थियो। अन्त्यमा त्यही हार जर्मनीलाई समूह चरणबाट घर पर्कन कारण बन्यो।

चार वर्षअघि यी दुई टोली समूह चरणमा भिडेका थिए नतिजा गोलरहित बराबरी भएको थियो।

ब्राजिल समूह ई को विजेता तथा मेक्सिको समूह एफ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

स्वीट्जरल्याण्डसँग बराबरी खेल्दै प्रतियोगिता सुरु गरेको ब्राजिलले कोस्टारिकालाई इन्जुरी समयमा हराउँदा सर्बियामाथि सहज जित निकालेको थियो।

उता मेक्सिकोले जर्मनी र कोरियालाई पराजित गरेपनि अन्तिम खेलमा स्वीडेनसँग हारेपछि समूह उपविजेता बनेको हो।

ब्राजिलमा जस्तै मेक्सिकोको अग्रपंती पनि राम्रो छ यसपटक। अनुभवी खेलाडी कार्लोस भेला र ज्याभिएर हर्नान्डेजसँगै युवा स्टार हिर्भिङ लोजनोको अग्रपंती मेक्सिकोका लागि बलियो पक्ष हुन सक्छ।

यो खेल विशेषत काउटिन्हो भर्सेस लोजनो हुनेछ। दुवै मिडफिल्डबाट बल अगाडी बढाएर गोल गर्नमा माहिर छन्। दुवैको प्रहार सटिक छ।

सर्बिया विरुद्धको खेलमा घाइते भएका मार्सेलोको अभाव ब्राजिललाई हुनेछ। उनको स्थानमा फिलिपे लुइस खेल्नेछन्। यस्तै ड्यानिलो पनि मेक्सिको विरुद्धको खेलमा फर्कने सम्भावना छ।

उता लगातार दुई खेलमा पहेँलो कार्ड खाएका मेक्सिकोका डिफेण्डर हेक्टर मोरोनो ब्राजिल विरुद्ध खेल्नेछैनन्। उनको स्थानमा ह्युगो आयला खेल्नेछन्।

ब्राजिल र मेक्सिको फुटबलमा पुराना प्रतिद्वन्दी हुन्। विश्वकपमा भने यी दुई टोली अहिलेसम्म ४ पटक भिडेका छन्। जसमा ब्राजिलले ३ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। ब्राजिलले ४ खेलमा कुनै गोल खाएको छैन। सन् २०१४ मा ब्राजिलमै भएको विश्वकपमा गोलरहित बराबरी भएको थियो। त्यसपछि २०१५ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिल २-० ले विजयी भएको थियो।

उत्तर तथा मध्य अमेरिकी राष्ट्र विरुद्ध विश्वकपमा ब्राजिलको रेकर्ड राम्रो छ। ब्राजिलले त्यहाँ प्रतिद्वन्दीसँग विश्वकपमा हार बेहोरेको छैन।

पछिल्लो ६ हार ब्राजिलले युरोपियन टिमसँग भोगेको थियो। ब्राजिललाई पछिल्लो पटक हराउने 'नन युरोपियन' टिम अर्जेन्टिना हो र सन् १९९० को अन्तिम १६ मा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो।

उता मेक्सिकोले अहिलेसम्म दक्षिण अमेरिकी टिम विरुद्ध एक मात्र जित हात पारेको छ। सन् २००२ को समूह चरणमा इक्वेडरलाई पराजित गरेको थियो। यदी ब्राजिलसँग पराजित भए मेक्सिको लगातार सातौँ पटक विश्वकपको अन्तिम १६ बाट बाहिरिनेछ। मेक्सिको पछिल्लो पटक सन् १९८६ मा आफैले आयोजना गरेको विश्वकपमा क्वाटरफाइनलमा पुगेको थियो जहाँ तात्तकालिन पश्चिम जर्मनीसँग पराजित भएको थियो।

मेक्सिकोको विश्वकपमा यो ५७ खेल हुनेछ। विश्वकप नजित्ने मध्ये यो सबैभन्दा धेरै खेल खेल्ने टिम हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell