एउटा लामो काठलाई बीचबीचमा खोपेर बनाइएको भर्याङ चढेर ढुंगा र माटोले एकअर्कासँग टाँस्सिने गरी बनाइएका घरहरुमध्ये एउटामा पस्दा परिवार खाना खाइरहेको थियो। सदरमुकाम गमगढीबाट एक दिनको पैदल उकालो ओरालो गरी पुगिने बामा गाउँको यो घरमा झाँक्री बस्छन्। गाउँकै नामी। सबैले औधि विश्वास गर्ने।
झाँक्रीका एक छोरी र एक छोरा रहेछन्। छोरा वस्तुभाउ चराउँदै जुम्ला पुगेका रहेछन्। बुहारी काखे बाबुलाई दूध चुसाउँदै थिइन्। झाँक्रीकी श्रीमती खाना खाँदै थिइन्। झाँक्रीको काखमा अर्को बच्चा थियो, छोरीको सन्तान। छोरीको घर पनि जोडिएकै रहेछ। राति भइसके पनि झाँक्रीले भने खाना खाएका थिएनन्, देउता चढेर सबैको हेराउन सकिएपछि मात्र खान मिल्ने रहेछ।
बामा गाउँका घरहरु।
'कहिले हो देउता बस्ने?'
'निमन्त्रणा दिने मान्छे जहिले आउँछ तहिले।'
'कहाँ हो बस्ने?'
'यता पनि बस्छु, उता अर्को घरमा पनि।'
त्यो दिन भने अर्को घरमा बस्ने टुङ्गो लागेको रहेछ। स्थानीय तहको पुनर्संरचना गर्दा यो गाउँ नगरपालिकाभित्र परे पनि नगरपालिकामा हुनुपर्ने सामान्य आधारभूत सुविधासम्म यहाँ छैन। बिजुली पनि छैन। अँध्यारोमा एउटा खुट्टा मात्रै टेक्न मिल्ने काठको भर्याङ ओर्लँदै झाँक्री पुगे अर्को घर, जहाँ त्यस्तै भर्याङ चढ्नु पर्थ्यो।
अर्को घरको एउटा सानो कोठामा खचाखच मान्छे भरिएका थिए। जुत्ता फुकालेर भित्रको एउटा कुनामा बस्दा एक जना नाङ्गै मान्छे दियो बाल्दै सरसामान मिलाइरहेका देख्यौँ। ध्यान दिएर हेर्दा मान्छे नाङ्गो रहेनछ, गुप्ताङ छेकिने एक सर्को कपडाको धोती रहेछ।
उनैले भूइँ गोबरले लिपे। त्यसमाथि आसन राखे। त्यहाँ बसे अघि हामीले कोठामा भेटेका झाँक्री। उनले आफ्नो अगाडि चामलका गेडाहरु छरे। त्यसमाथि त्यहाँ उपस्थित सबैले गच्छे अनुसारको नोट चढाए। झाँक्रीलाई सहयोगीले रुद्राक्ष र घण्टी भएको माला लगाइदिए। गाँजा भरिएको चिलिम दिए। उनले त्यो चिलिमलाई मुखमा हाले।
एकैछिनमा मालामा भएको घण्टी बज्ने गरी झाँक्री काम्न थाले अनौठो आवाज निकाल्दै।
चुम् ।
चुम् ।।
चुम् ।।।
त्यसपछि र्याप गायकको शैलिमा मुखबाट एकोहोरो शब्द निस्केको निस्क्यै- 'आजभाको….आजभाको' हामीले 'आजभाको' भने जस्तो मात्र बुझ्यौँ। अरु उनका शब्द केही बुझेनौँ। तर सँगै बसेका उनका सहयोगीहरुले उनको बोलीको नेपालीमा अनुवाद गर्दै बुझाउँदै थिए।
उनीहरुको मुखबाट 'गोसाइँ, गोसाइँ, नारायण गोसाइँ' मात्र सुनियो। पछि पो थाहा भयो, गोसाइँ भगवानलाई भन्दा रहेछन्।
आफ्नो अगाडि भएको चामलका गेडा चलाउँदै उनी एकोहोरो बोलिरहेका थिए। सुरुमा गाउँकै एक व्यक्तिको सन्तान समस्याबारे झाँक्री हेराइएको रहेछ। धतुरोको फूल र जरा लिएर आउन झाँक्रीले निर्देशन दिए।
त्यसपछि सुरु भयो स्पेनमा फुटबल खेल्न जान लागेकी बामा गाउँकी किशोरी खेलाडीहरुको साइत हेराउने काम। यो गाउँकी ६ जना स्पेन जान छनोट भएकी थिइन्। त्यसमध्ये झाँक्रीको घर नजिकै घर भएका दुई जना सत्यलक्ष्मी र रामकली त्यहीँ थिइन्।
झाँक्री आफ्नै सुरले बोल्दै थिए। 'आजभाको.. आजभाको… उहुम उहुम' बाहेक अझै पनि हामी केही बुझिरहेका थिएनौँ। शायद् केही राम्रो बताएछन्, सत्यलक्ष्मी र रामकलीले ताली पिटे। उनीहरुको एक अर्काको मुख हेर्दै हाँसे। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण सेजुवाल पनि दङ परे।
अरुले पछि अनुवाद गरी भने अनुसार 'तिमीहरुको पहिल्यै जय भइसकेको छ, सबै राम्रो छ' भनेका रहेछन्। झाँक्रीले त्यसो भनेपछि अछाम पुर्ख्यौली घर भएर यताको संस्कृति बुझेका भोजराज भाटले बर्रर आँसु झारे। भोजराजले निर्देशन गरेको सुनकली डकुमेन्ट्रीको चर्चा र सफलताकै कारण स्पेनको डोनोस्टी कप खेल्न मुगुका चेलीहरुलाई आयोजकले आफ्नै खर्चमा स्पेन निमन्त्रणा गरेको थियो।
तर यो बीचमा उनलाई पटक पटक रुन बाध्य स्थितिको सामना गर्नुपर्यो। सुनकलीलाई 'हिमालयन मेस्सी' को संज्ञा दिँदै फिफाले बनाएको सानो डकुमेन्ट्रीले प्रभावित भएर स्पेनका आयोजकले सुनकली टिमलाई प्रतियोगितामा सहभागी हुन निम्ता पठाएको थियो।
तर सानै उमेरमा बिहे गर्नुपर्ने र १७, १८ वर्षकी हुने बित्तिकै बड्डी भई भन्दै पोइ नपाउने चिन्ता हुने गाउँ। सुनकली टिमका त सबै पोइल गइसकी। कहाँ सम्भव छ?
'त्यसो भए अर्को टिम बनाऊ'
उनी त्यही गर्न बामा गाउँ पुग्दा डकुमेन्ट्री बनाएर अर्बौँ रुपैयाँ खाएको आरोप लगाउँदै गाउँलेले झण्डै गोदेनन्। जुत्ताको माला तयारी अवस्थामा थियो। गाउँलेको कठघरामा उभिएर उनले मस्तो देउताको कसम खाँदै आफ्ना कुरा राखे। एकएक हिसाब दिए। तर पनि विवाद मिलेन र छनोट खेल गर्नै नदिने घोषणा भयो। उनलाई केटी बेच्न लान खोजेकोसम्म आरोप लागे। विभिन्न माग राखे। म सरकार हो र मसित माग राख्नलाई भन्दा त्यत्रा केटीहरुलाई लाने तिमी सरकारै त हौ नि भने।
मुगुबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गोपाल बमको मध्यस्थतामा विवाद मिलाइयो र जसोतसो छनोट प्रतियोगिता भयो। एन्फा प्रशिक्षक भगवती राना मगरले प्रतियोगिताबाट १७ जना खेलाडी छानिन्। उनीहरुले रारा तालको छेउमा र काठमाडौँको एन्फा टेक्निकल ग्राउन्डमा केही दिन प्रशिक्षण गरे। स्पेन उड्नुअगाडि उनीहरु घरमा विदा लिन आएका थिए। र त्यही मौकामा साइत हेराउन यी झाँक्रीकहाँ पुगेका थिए।
झाँक्रीले सबै राम्रो भएको मात्र बताएनन्, एक मुठी चामल पनि दिए। 'यो अक्षतालाई नछोड्नु है, खेल हुनुअगाडि मैदानमा नारायण गोसाइँलाई सम्झी छर्किनू।'
खेलकूद विकास समितिका अध्यक्ष कृष्ण सेजुवालले दुई हात थापेर अक्षता लिए। पछि उनले हामीसित भने, 'यो एउटा विश्वासको कुरा हो।'
शुक्रबार बिहानै स्पेनका लागि उड्नु पर्ने भए पनि बिहीबार बिहानसम्म केही खेलाडी मुगुमै थिए। विभिन्न प्राविधिक कारण देखाउँदै मुगुको ताल्चा विमानस्थलमा विमान उडेको थिएन। दिउँसो बल्ल उनीहरु नेपालगञ्ज उत्रिए र त्यहाँबाट काठमाडौँ आए। शुक्रबार बिहान टर्किस एयरलाइन्सबाट अंकारा हुँदै उनीहरु बार्सिलोना पुगे।
आइतबार मेस्सीको क्लब बार्सिलोनाको रंगशाला क्याम्प नोउ स्टेडियम पुगे र आज सोमबार उनीहरुको टिमले प्रतियोगिताको पहिलो खेल स्पेनको बास्क कन्ट्रीको अमारा बेर्री केईका किशोरीहरुसित नेपाली समय अनुसार राति ८ बजेर १५ मिनेटमा खेल्दैछन्। त्यसपछि भोलि म्याड्रिड सिएफएफ बी र पर्सि अंगोरा केकेईसित दुई खेल छ।
राम्रो खेल्दाखेल्दै पनि र खेल अवधिभर दबाब दिँदादिँदै पनि अन्ततः पेनाल्टी सुटआउटमा रुससित पराजित भई विश्वकप यात्रा अन्त्य भएको भोलिपल्ट मुगुकी यी किशोरीहरु पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा स्पेनकै किशोरीहरुसित भिड्दै छन्।
शायद् झाँक्रीले दिएका अक्षता आज राति भिल्लाबोनाको स्टेडियममा छर्किएला। बामादेखि बार्सिलोनासम्मको यो यात्रा उनीहरुले सपनामा पनि नचिताएको कुरा थियो।
जिल्ला भर एउटा रंगशाला पनि नभएको, आमाबाबुको नजर छली लुकीलुकी फुटबल खेल्ने किशोरीहरु र सुविधासम्पन्न देशमा शौखका लागि फुटबल खेल्ने र फुटबल व्यवसायिक रुपमा खेल्ने देशका किशोरीहरुबीचको यो खेलमा के हुन्छ- अनुमान सहजै लगाउन सकिन्छ। खेलको लाइभ अपडेट वेबसाइटमा राखिँदैछ।
तर के नारी पुरुषबीच भेदभाव हुने लगायत गाउँको पुरातन कुरीतिहरुलाई यी किशोरीहरुले फुटबलकै माध्यमबाट तोड्न सक्लान्?