PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रिभ्यू : बेल्जियम vs जापान, के जापानलाई आज पनि भाग्यले साथ देला?



पहिलोपोस्ट

प्रिभ्यू : बेल्जियम vs जापान, के जापानलाई आज पनि भाग्यले साथ देला?

रसिया विश्वकपको समूह चरणमा धेरै गोल गर्ने बेल्जियम र एसियाबाट बाँकी रहेको एक्लो प्रतिनिधि जापानबीच आज राति ११:४५ मा छैटौँ प्रिक्वाटरफाइनल खेल हुँदैछ।

युरोपियन राष्ट्र बेल्जियम तेस्रो पटक क्वाटरफाइनल पुग्ने दाउमा छ। रेड डेभिल्सको उपनामले चर्चित बेल्जियमको टिमलाई इतिहासकै उत्कृष्ट मानिए पनि अहिलेसम्म विश्वकप जित्न सकेको छैन। उसलाई यस पटक विश्वकपको उपाधि जित्ने अन्डरडग टिमको रुपमा हेरिएको छ।

उता जापान रसिया विश्वकप समूह चरण पार गर्ने एक्लो एसियन राष्ट्र हो। जापानले बेल्जियमविरुद्ध खेल्दा समग्र एसियन क्षेत्रको प्रतिनिधित्व हुनेछ भने सम्पूर्ण एसियनको सपोर्ट पनि जापानलाई नै हुनेछ।

यद्यपि जापान अहिलेसम्म अन्तिम १६ भन्दा माथि पुग्न सकेको छैन। यदी जापानले बेल्जियमविरुद्ध कुनै अप्रत्यासित नतिजा निकाले पहिलो पटक क्वाटरफाइनल पुग्नेछ।

सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा घरेलु टोली कोरिया सेमिफाइनलसम्म पुगेको थियो। त्यो नै एसियन राष्ट्रको अहिलेसम्म उच्च प्रदर्शन हो।

त्यसबेला जापान अन्तिम १६ सम्म पुगेको थियो। जापानले २०१० मा पनि समूह चरण पार गरेको थियो।

यस पटक जापानलाई भाग्यले पनि साथ दिएको छ। समूह चरणमा सनेगेलसँग अंक गोल अन्तर बराबरी भएपनि थोरै कार्ड खाएकोले फेयर प्लेको आधारमा जापानले समूह चरण पार गरेको हो। जापान समूह एच को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। उता बेल्जियमले समूह चरणमा ३ खेल जित्ने क्रममा सबैभन्दा धेरै गोल गरेको थियो। इंग्ल्याण्डलाई अन्तिम खेलमा हराउँदै समूह जी को विजेता बनेको बेल्जियमले ३ खेलमा ९ गोल गरेको थियो।

बेल्जियमको टोली अहिलेको समयमा राम्रो भएपनि रेड डेभिल्स विरुद्ध जापानको रेकर्ड भने राम्रो छ। अहिलेसम्मको पाँच भेटमा जापानले दुई खेल जित्दा बेल्जियमले १ खेल मात्र जितेको छ भने २ खेल बराबरी भएको छ।

एक मात्र जित बेल्जियमले २०१७ मा हात पारेको थियो। जसमा लुकाकुले गोल गरेका थिए र अहिले तिनै लुकाकु उत्कृष्ट फर्ममा छन् र ४ गोल गरिसकेका छन्।

यसअघि भएको एक मात्र विश्वकप खेलमा सन् २००२ मा यी दुई समूह चरणमा २-२ को बराबरी खेलेका थिए।

बेल्जियम र जापान दुवैले नआउट स्टेमा पेनाल्टी सुटआउट फेस गरिसकेका छन्। सन् २०१० मा अन्तिम १६ कै खेलमा जापान पेनाल्टीमा पाराग्वेसँग पराजित भएको थियो भने बेल्जियमले १९८६ मा स्पेनलाई हराएको थियो।

बेल्जियम विश्वकपको नटआउट राउण्डमा पुगेको पछिल्लो ७ संस्करणमा यो छैटौँ पटक हो। १९९८ मा समूह चरणबाटै बाहिरिएको बेल्जियम तेस्रो पटक क्वाटरफाइनल पुग्ने दाउमा छ। यसअघि १९८६ र २०१४ मा बेल्जियम क्वाटरफाइनल पुगेको थियो।

समूह चरणमा धेरै गोल गर्ने बेल्जियमले सबै ३ खेल जित्ने ३ मध्ये एक टिमसमेत हो। उरुग्वे र क्रोएसियाले पनि समूहको ३ वटै खेल जितेका थिए।

यता एसियन राष्ट्र जापानले अहिलेसम्म विश्वकपको नकआउट खेल जित्न सकेको छैन। सन् २००२ र २०१० मा जापान अन्तिम १६ बाटै बाहिरिएको थियो।

सन् १९९८ मा फ्रान्सबाट विश्वकपमा डेब्यु गरेको एक संस्करण बिराएर नकआउट स्टेजमा पुग्ने गरेको छ। १९९८, २००६ र २०१४ मा समूह चरणबाट बाहिरिएको जापान २००२, २०१० र २०१८ मा नकआउट राउण्डमा पुगेको छ।

यसअघिको दुई नकआउट खेलमा जापानले १ गोल मात्र गर्न सकेको छ। सन् २००२ मा जापानले टर्कीविरुद्ध गोल गरेको थियो। सन् २०१० मा पाराग्वेसँगको खेल निर्धरित समयमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जापान ५-३ ले पराजित भएको थियो।

यस्तै जापानले विश्वकपमा युरोपियन राष्ट्रविरुद्ध ९ खेल खेल्दा अहिलेसम्म २ खेल मात्र जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell