
रसियामा भइरहेको विश्वकपमा आज पाँच पटक विश्वकप विजेता ब्राजिलले बेलुकी ७:४५ मा मेक्सिकोको सामना गर्दैछ। यस्तै उपाधी दाबेदार मानिएको बेल्जियमले ११:४५ मा एसियाली टोली जापानको सामना गर्दैछ।
क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा साथ मैदानमा उत्रने यी टोलीमा रहेका केही खेलाडीको प्रदर्शनमा सबैको नजर रहनेछ।
फिलिप काउटिन्हो (ब्राजिल)
२६ वर्षिय फिलिप काउटिन्हो ब्रजिलियन फुटबल टोलीका प्रभानशाली खेलाडी हुन्। समूह चरणको खेलमा स्वीट्जरल्याण्ड र कोस्टारिका विरुद्ध गोल गरी उनले ब्राजिलका लागी अन्तिम १६ को यात्रा सहज बनाएका थिए। काउटिन्होले ब्राजिलका लागि ३९ खेलमा १२ गोलगरी सकेका छन्।
यू-१४ टोलीबाट खेल्न सुरु गरेका काउटिन्हो २००९ मा दक्षिण अमेरिकी यू-१७ फुटबल प्रतियोगिता जितेदेखि उनी लगातार ब्राजिलियन टोलीका एक अहम हिस्सा बन्दै आएका छन्। इस्प्यान्योलमा रहँदा त्यसबेलाका म्यानेजर माउरिसियो पोचेतिनोले त उनलार्इ लियोनल मेसी र रोनाल्डिनोसँग तुलना गरेका थिए।
लिभरपुलबाट फुटबल खेल्दा उनलार्इ लिभरपुलका समर्थकले 'लिटल म्याजिसियन’ भन्थे। हाल उनी बार्सिलोनाबाट क्लब फुटबल खेल्दैछन्।
हिरभिङ लोजानो (मेक्सिको)
समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग ३-० ले पराजित भएपछि मेक्सिकोमाथि केही दबाब छ। आज मेक्सिकोको अगाडी मैदानमा पाँचपटक विश्वकप उपाधी जितिसकेको ब्राजिल रहनेछ।
'एल चक्की' उपनामबाट प्रसिद्ध २२ वर्षिय हिरभिङ लोजानो मेक्सिकोका प्रभावशाली युवा खेलाडी हुन्। मेक्सिकन फुटबल समर्थकले हिरभिङ लोजानोसँग धेरै अपेक्षा राखेका छन्। उनले विश्वकपको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध गोलगरी मेक्सिकालार्इ विजयी बनाएका थिए। जर्मनीविरुद्ध उत्कृष्ट खेलवापत उनलार्इ सो खेलको म्यान अफ डी म्याच घोषित गरिएको थियो। मेक्सिकोका लागी उनले ३१ खेलमा ८ गोल गरेका छन्।
लोजानो डच क्ल्ब पिएसभीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्। २०१५ मा उनीलार्इ ‘डन ब्यालन’ले १९९४ पछि जन्मेका उत्कृष्ट खेलाडीको सूचीमा राखेको थियो।
एडेन हाजार्ड (बेल्जियम)
बेल्जियम फुटबल टोलीका कप्तान एडेन हाजार्ड २०१७ मा बेल्जियन गोल्डेन बुट बाट सम्मानित भएका थिए। उनले बेल्जियमबाट ८८ खेलमा २४ गोल गरेका छन्।
समूह चरणमा ट्युनिसियालार्इ ५-२ अन्तरले पराजित गर्ने क्रममा उनले दुर्इ गोल गरेका थिए। उपाधी दाबेदार मानिएको बेल्जियमका एडेन हाजार्डको टोली सामु एसियाली पावर हाउस जापानलार्इ पराजित गर्नुपर्ने चुनौती रहेको छ।
चेल्सीबाट व्यावसायिक फुटबल खेल्ने हाजार्डको बल पास गर्ने क्षमताको निकै प्रशंसा हुने गर्छ त्यैले उनलार्इ 'अ सुपर्ब पासर' भन्ने गरिन्छ। क्लब फुटबलमा १३९ गोल गरिसकेका हाजार्डलार्इ पूर्व प्रशिक्षक क्लाडे पुइलले 'लिटल मेसी’ भनेका थिए।
सिन्जी कागावा (जापान)
समूह चरणमा जापान आफ्नो अन्तिम खेलमा पराजित भएको थियो। तर समान अंक रहेको सेनेगललार्इ फेयर प्ले अंकको आधारमा पछि पार्दै जापान समूहमा दोस्रो रहँदै अन्तिम १६ मा प्रवेश गर्न सफल रह्यो।
जापानी फुटबल टोलीका स्टार खेलाडी रहेका सिन्जी कागावाले बेल्जियम विरुद्ध गर्ने प्रदर्शनले पनि जापानको आगामी यात्रा तय हुनेछ।
२००७ बाट अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेका कागावाले जापानका लागि उनले ९४ खेलमा ३१ गोल गरेका छन्। समूह चरणमा कोलम्बियासँगको पहिलो खेलमा उनले पहिलो गोल गरी जापानलार्इ अग्रता दिलाएका थिए।
सिन्जी कागावा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट एट्याकिङ् मिडफिल्डरका रुपमा खेल्छन्। म्यानचेस्टर युनाइटेड र बोरुसिया डर्टमन्ड जस्ता क्लबबाट खेल्दै उनले १२३ गोल गरेका छन्। बेल्जियम विरुद्ध उनको अनुभवले जापानी टोलीमा केही सकरात्मक प्रभाव पार्ने आंकलन गरिएको छ। कागावा २०१२ एसियन अन्तर्राष्ट्रिय फुटबलर उपाधीबाट सम्मानित भएका थिए।