
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी लगातार तेस्रो पटक अन्तिम चारमा पुग्न सफल हुँदा तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ।
सोमवार एन्फ कम्प्लेम्स सातदोबाटोमा भएको दुई क्वाटरफाइनलमा आर्मी र फ्रेण्ड्सले जित हात पार्यो। यसअघि नै मोरङ र ब्रिगेड ब्वाइजले अन्तिम चारमा स्थान बनाइकसेका छन्।
अब मोरङले आर्मी तथा ब्रिगेड ब्वाइजले फ्रेण्ड्ससँग सेमिफाइनल खेल्नेछ।
सोमवारको पहिलो क्वाटरफाइनलमा आर्मीले हिमालयन शेर्पालाई ३-० ले हरायो। आर्मीका लागि छिरिङ लामा, विवके चौधरी र सुसन लामाले एक-एक गोल गरे।
यस्तै दिनको दोस्रो क्वाटरफाइनलमा फ्रेण्ड्सले लुम्बिनी एफसीलाई पेनाल्टीसुटआउटमा ३-२ ले पराजित गर्यो।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। फ्रेण्ड्सका लागि पेनाल्टी सुटआउटमा गोलकिपर रोहित कार्कीले लुम्बिनीका दुई पेनाल्टी रोकेका थिए।
त्यसअघि दिपेश प्रसाईँले गोल गर्दै लुम्बिनीलाई अग्रता दिलाएपनि फ्रेण्ड्सका लागि मोहन थापाले बराबरी गोल फर्काएका थिए।
सेमिफाइनलका दुबै खेल बुधवार हुनेछ।