PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

२ गोलको अग्रता लिएर पनि जापान पराजित, चाड्लीले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि बेल्जियम क्वाटरफाइनलमा

२ गोलको अग्रता लिएर पनि जापान पराजित, चाड्लीले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि बेल्जियम क्वाटरफाइनलमा

पहिलोपोस्ट /पहिलोपोस्ट


वैकल्पिक खेलाडी नासेर चाड्लीले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेपछि जापानलाई ३-२ ले पराजित गर्दै बेल्जियम रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। २ गोलले पछि परेको परेको अवस्था उल्टाउँदै बेल्जियमले जापानलाई पराजित गरेको हो।

बेल्जियमले अब क्वाटरफाइनलमा ब्राजिलसँग खेल्नेछ।

सन् १९७० पछि विश्वकपको नटआउट स्टेजमा कुनै टोलीले २ गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको यो पहिलो अवसर हो। सन् १९७० मा इंग्ल्याण्डले २-० को अग्रता बनाएपनि पश्चिम जर्मनीले लगातार ३ गोल गरेर खेल जितेको थियो।

रोस्तोभ अन डनमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। बेल्जियमले गोलको केही अवसर बनाएपनि जापानले गोल हुन दिएको थिएन।

दोस्रो हाफको सुरुमै जापानले २ गोल ठोक्यो। ४८औँ मिनेटमा गेन्की हारागुचीले गोल गर्दै जापानलाई अग्रता दिलाए। त्यसको ५ मिनेटपछि ताकासी इनुईले गोल गर्दै जापानको अग्रता दोब्बर पारे।

फिफा वरीयतामा तेस्रो स्थानमा रहेको बेलजियम विरुद् जापानले अग्रतालाई लामो समय जोगाउन सकेन। ६९औँ मिनेटमा जान भर्टोनगनले लुपिङ हेडरमार्फत गोल गर्दै गोल अन्तर कम पारे। त्यसको चार मिनेटपछि नै वैकल्पिक खेलाडी माराउने फेलिइनीले हेडमार्फत नै गोल गर्दै खेल बराबरी गरे।

निर्धारित ९० मिनेटको खेल पनि बराबरी भएको थियो। त्यसपछि थपिएको ४ मिनेटको इन्जुरी टाइमको पनि ४० सेकेण्ड मात्र बाँकी थियो। तर बेल्जियमले काउन्टर अट्याकमा गोल गर्दै अन्तिम ८ को यात्रा तय गर्‍यो। 

खेलको अन्तिम समयमा गोल खाँदै पराजित भएपछि हिलो पटक विश्वकपको क्वाटरफाइनल पुग्ने जापानको सपना पुरा हुन सकेन। उता बेल्जियम भने क्वाटरफाइनल पुगेको यो तेस्रो पटक हो। यसअघि रेड डेभिल्स १९८६ र २०१४ मा अन्तिम ८ मा पुगेको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell